डाक्टरको आवरणमा गिर्वानको ‘ठगीधन्दा’ : अस्पतालको सेयर दिन्छु भन्दै लाखौँ ठगी, चेक बाउन्स !

दियो पोस्ट  

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै समय भाडामा बसेको कारण चर्चित बनेको लाजिम्पाटस्थित ‘प्रचण्ड निवास’मा यतिबेला एउटा अस्पताल संचालनमा छ । पदयात्री पर्यटक उपचारका लागि भनेर खोलिएको यो अस्पताल हो – श्रीद्धी अस्पताल  र सोही अस्पतालका मालिक हुन्–डा. गिर्वाराज तिमिल्सिना। उनै डाक्टर तिमिल्सिनामाथि ठगीको गम्भिर आरोप लागेको छ । अस्पतालको शेयर दिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप  छ ।

शेयरको नाममा ती व्यक्तिहरुबाट तिमिल्सिनाले लाखौँ रुपैयाँ असुली गरेर पछि भने शेयर समेत नदिई मुनाफा पनि एक्लै कुम्लाएपछि पीडितहरुले आफू ठगिएको चाल पाएका थिए । ठगिएको चालपाएपछि उनीहरुले तिल्सिनासँग आफ्नो रकम फिर्ता माग गर्दा रकमै नभएको चेक दिएको पीडितहरुले बताएका छन् । उनीबाट पीडित भएका चार जना पीडित दियोपोस्टको सम्पर्कमा आएका छन् । ती पीडितहरुका अनुसार तिमिल्सिनाले दिएको चेकमा रकम पाउने व्यक्तिको नाम र उनको हस्तक्षर समेत मिलेको छैन ।

‘डाक्टरको आवरणमा ठग पो रहेछ । हामीलाई त बर्बाद पार्यो । एक वर्षदेखि चेक साटिएको छैन । चेक पनि बाउन्स गरिएको छ,’ ती पीडितले भने,‘मेरो चेकमा नाम समेत अर्कै राखिएको छ । हस्ताक्षर पनि फरक फरक छ । मैले सेयरको रकम पनि पाएको छैन । किस्ता किस्ता गरेर केही रकम लिन डेढ वर्ष लाग्यो । अझै हामीलाई झुलाइरहेको छ ।’

 

पीडितहरुका अनुसार शुरुमा उनीहरुको १७ प्रतिशतका दरमा सेयर थियो । तर, पछि डाक्टर तिमिल्सिनाले विभिन्न बहानाबाजी गरेर ५ प्रतिशतमा झारिदिएका थिए । ‘बैंक लोन देखि अन्य विभिन्न सरकारी कामका लागि सजिलो हुन्छ भनेर डाक्टरले अनुनय गरेपछि हामी ५ प्रतिशतमा बस्न राजी भयौँ,’ ती सेयर सदस्य भन्छन्,‘पछि थाहा भो । उसले त हामीलाई निकालीसक्यौँ भन्दै मार्केट हल्लापो गरेछ । यस्तो फटाह छ भनेर के थाहा पछि पो थाहा भयो त ।’

सेयरमा ठगिएको बताउने अर्का एक व्यक्तिका अनुसार अनुसार उक्त अस्पताल निर्माणमा सबै लगानी भने अन्य सेयर सदस्यको रकम खर्च भएको थियो । तर, अन्तिममा मुनाफा भने तिमिल्सिना एक्लैले कुम्ल्याएको आरोप छ । ‘हामीले हालेको पैसाबाट अस्पताल निर्माणको काम भयो । अझै कति रकम तिरेको छैन । हामीले ३०/४० लाखका दरले हाल्यौँ । तर, उसले एक पैसा पनि हालेको छैन । अहिलेसम्म घरबेटीको भाडा समेत तिरेको छैन,’ तिमिल्सिनाबाट ठगिएका ती पीडित भन्छन्,‘घरबेटी अजय सुमागी पनि आजित भइसके । सुमार्गीका छोरा पनि सन्तुष्ट छैनन् ।’

स्रोतका अनुसार सुमार्गीले उक्त घर अस्पताल संचालनका लागि भनेरै मासिक करसहित ३ लाख ५० हजार रुपैयाँ न्युनतम भाडामा दिएका थिए । तिमिल्सिनाले घरबाहिर एटिएम मेसिनलाई मासिक ५० हजार भाडा लिएर राखेका छन् । बाहिर क्यान्टिनलाई पनि मासिक ५० हजार भाडा असुल्दै आएका छन् । त्यहाँ संचालित एक ल्याबले पनि तिमिल्सिनालाई ५० हजार रुपैयाँ भाडा तिर्ने गरेको छ । त्यस्तै टेस्ट्युब बेबीको काम गर्नेलाई पनि भाडामा दिइएको छ । ‘त्यसो हुँदा अस्पतालको तर्फबाट त एक लाख रुपैयाँ पनि भाडा तिर्दैन,’ एक सेयर सदस्य भन्छन्,‘त्यसै उसले एक दुई करोड कमाई सक्यो । उसले सुक्को पैसा खर्च नगरी कमाई रहेको छ ।’

सप्लायर्सले पनि पैसा पाएनन्

अस्पताल निर्माणको काम गरेका एक कम्पनिले पनि भुक्तानी नपाएको बताएको छ । ‘हामीले सम्पूर्ण काम गरिदियौँ तर, भुक्तानी अहिलेसम्म दिएको छैन,’ ती सप्लायर्सले भने ।

‘घर भाडा नपाएपछि घरबेटी अजय सुमार्गी हैरान’

डा. तिमिल्सिनाले घर बहाल नतिरेका कारण यता घरबेटी अजय सुमार्गी समेत तनावमा आएका छन् । उनले स्थापना भएदेखि नै घर बहाल नपाएको एक सेयर सदस्यले बताए ।

डा. तिमिल्सिना सम्पर्क विहिन

सेयर ठगी लगायत विषयमा प्रश्न गर्न डा. तिमिल्सिनाको मोबाइल नम्बरमा पटक पटक फोन गर्दा उनको मोबाइल तफ छ ।