‘मेरो भाई डिएसपी छ’ भन्दै आर्थिक दैनिकको कार्यालयमा खड्काको आतंक, प्रहरीले सुटुक्क छाडिदियो !

दियो पोस्ट  

काठमाडौं । नेपालको आर्थिक क्षेत्रको अग्रणी खोजमुलक पत्रिका आर्थिक दैनिकको कार्यालय तोडफोड भएको छ । आफूलाई नेपाल प्रहरीको डीएसपी ‘रोशन खड्काको दाइ हुँ’ भन्दै ललितपुरको भैँसेपाटी क्षेत्रका महेश खड्का नाम गरेका व्यक्तिले आइतबार बेलुका करिब ९ बजे मादक पदार्थ सेवन गरी पत्रकार तथा कर्मचारीलाई कुटपीट समेत गरेको पाइएको छ ।

खड्काले आर्थिक दैनिकको कार्यालयलाई आफ्नो घर भएको दाबी गर्दै तिमीहरु को हो भन्दै धम्की दिएर कुटपिटको प्रयास गरेका थिए । आर्थिक दैनिकका कर्मचारीले उनलाई सम्झाएर बाहिर पठाउने कोशिस गरे पनि खड्काले प्रत्येकसँग झगडा गर्दै कुटपिटको प्रयास गरेपछि नेपाल प्रहरीको १०० नम्बरमा खबर गरिएको थियो ।

नेपाल प्रहरीलाई खबर गरे पनि कुपण्डोलको पुलको बिटमा रहेका प्रहरी खबर पाएको २० मिनेटपछि मात्र आर्थिक दैनिकको कार्यालयमा आइपुगेको थियो । त्यसपछि पुलिसले आर्थिक दैनिकको दोस्रो तलाबाट निज खड्कालाई सडकमा पु¥याएर सोधपुछ गरिरहेको बेला एक स्कुटर चालकले पुलिसको कानमा उनी डीएसपी राेशन खड्काका दाइ भएकाले छाडिदिन भनेका थिए । त्यसपछि दुई जना प्रहरीले उनलाई तिनै स्कुटर चालकको जिम्मा लगाएर पठाएको थियो ।
राति पत्रिकाको कार्यालयमा प्रवेश गरेर कुटपिट र तोडफोडको प्रयास गर्ने व्यक्ति जतिसुकै शक्तिशालीका आफन्त भए पनि कारबाही गर्नुपर्नेमा सुटुक्क छाड्नाले प्रहरीका उच्च अधिकारीका आफन्तहरुलाई जुनसुकै अपराधमा पनि छुट हुने देखिएको छ भने पक्राउ गर्न गएका प्रहरीहरुले पनि उनको वास्तविकता बुझेर परिवारको जिम्मा लगाउनुपर्नेमा सडकमा स्कुटर चढेर आउने व्यक्तिले जे भन्छ त्यही मानेर छाड्नाले घटना रहस्यमय बनेको छ ।
ती खड्कालाई प्रहरीले समातेर तल सडकमा लगेपछि तुरुन्त स्कुटरमा आएका एक व्यक्तिले उनी प्रहरीका उच्च तहका आफन्त भएको भन्नुले घटनामा केही व्यक्तिको योजना रहेको आशंका गरिएको छ । ती स्कुटर चालक कसरी खड्कालाई सडकमा पु(याउनासाथ आए भन्ने रहस्यमय छ ।

डिएसपी खड्का भन्छन्,–‘हामी छुट्टै बसेका छौँ’

यस विषयमा प्रतिक्रिया लिन हामीले डिएसपी रोशन खड्कालाई फोन गरेका थियौँ । ‘महेश खड्का नाम गरेको व्यक्ति तपाईंको दाई हो ? भनेर प्रश्न गर्दा उनले शुरुमा के को लागि होला भनेर प्रति प्रश्न गरे । घटना विवरण सुनाएपछि घटनाबारे आफलाई थाहा नभएको बताए । ‘मेरो दाई धेरै छन् । मेरो घरै यहीँ हो । सबै मेरो नातागोता पर्नु हुन्छ । कसलाई भनौँ’ उनले भने,‘म संगै बस्दिनँ । म छुट्टिएर बस्छु । मेरो दाजु भाई धेरै छ । म छुट्टिएर बस्छु । धेरै घर छौँ । सबै दाजु भाई परिहाल्यो नी । मेरो नाम जसले पनि लिन्छ नी हजुर ।’ यसो भनेपछि उनले फोन राखिदिए । तर, केहीबेरमा फेरी फोन गरेर घटनाबारे चासो राखे ।

‘म र बुढी छुट्टै बस्छौँ । केही कुरा भएको छैन । खड्काहरु धेरै छौँ । दाजु भाई त हुन्छन् । तर, मैले नै लगाएको हुन पर्यो । घटनाबारे तपाईंले भनेपछि मैले थाहा पाएँ,’ घटना समय बताएपछि उनले भने,‘बेलुका ९ बजे त नहोला हजुर । म ५ बजे जाँदाखेरि दाई घरमै थियो । हल्ला खल्ला मैले सुनिरहेको थिएँ । त्यो हुन नपर्ने हो । घटनाबारे मलाई कतैबाट फोन आएको छैन । म ८ बजे सुतिसकेको हुन्छु । घटना पनि बल्ल थाहा पाएँ । कहाँ कसले मेरो नाम लियो मलाई थाहा छैन । प्रहरीलाई मैले मेरो दाईलाई छाडिदिए भनेको छैन । नबुझीकन मेरो नाम हाल्नु हुन्न । सबैको दाजुभाईको राम्रो हुन्छ भन्ने छैन । हामी छुट्टेर बसेका छौँ ।’