विक्रम सम्बत २००८ मा किसान आन्दोलनमा जोडिएँ । तत्कालिन पुष्पलाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले किसान संगठन, मजदुर संगठन, महिला संगठन जनवर्गीय संगठनहरु बनाएको थियो । जब मलाई संगठनबारे जानकारी भयो त्यसपछि मैले किसान संगठनमा बसेर काम गर्ने निर्णय गरेँ । शोषणको के–के रुपहरु छन् भन्ने मलाई अवगत थियो । म किसानहरुसम्म पुगेर, बुझाएर, जागरुक बनाएर संगठित गर्न थालेँ । विक्रम सम्बत २००९ सालको बारा–रौतहट किसान आन्दोलनको फ्रन्टमा थिएँ ।
फर्केर हेर्दा किसान आन्दोलन
मैले थाहा पाए अनुसार किसानको हक हितका लागि लडिएको पहिलो किसान आन्दोलन बारा–रौतहट किसान आन्दोलन नै हो । जसमा म स्वयंम थिँए । त्यतिबेला गाँउका धनी मान्छेहरुले किसानलाई कर्जा दिने र ब्याज धेरै लिने गर्थे । कर्जा लेनदेन पैसाको भन्दापनि त्यतिबेला धानको लेनदेन हुन्थ्यो । साहुहरुले दिएको कर्जा (धान)को ब्याज २५ प्रतिशतले लिन्थे । त्यतिखेरका साहुहरुले धान तौलिन जाँदा किसानले ब्याजमा दिनुपर्ने भन्दा पनि बढी धान लिने गर्थे । धान ल्याउने लैजाने काम गर्दा बयलगाढाको खर्च पनि किसानहरुले नै तिर्नु पथ्र्यो । त्यतिबेला किसानहरुमाथि निर्मम शोषण थियो ।
साहुहरुले कर्जा दिएपछि तमसुक नलेख्ने, कर्जा पनि लामो समयसम्म नमागी बस्ने गर्थे । किनकि कर्जा छिटै फिर्ता भयो भने धान कम आँउछ र फाइदा पनि हुँदैन । तीन चार वर्षसम्म साहुले कर्जा नमाग्ने र त्यसपछि साँवाको ब्याज र ब्याजको पनि ब्याज माग्ने चक्रवृति ब्याज हुन्थ्यो र उनीहरुले धेरै धानहरु लिन पाँउथे । मजदुर किसानहरुको निम्ति खेतमा काम गरेको ज्याला ३ किलो धान मात्रै थियो तर त्यतिले पुग्दैन्थ्यो । त्यसैले हामीले ३ किलो होइन ४ किलो धान मजदुरी दिनुपर्छ भनेर नारा लगाएका थियौं । त्यसपछि हामीले किसानलाई संगठित गर्न थाल्यौं ।
अर्को, समस्या वेठ–वेगारीको थियो । गाँउगाँउमा जमिनदार हुन्थे । जमिनदारले मालपोत असुल गर्थे र माल अड्डामा बुझाउने काम गर्थे । त्यस बापत जमिनदारलाई राज्यले दुई÷चार गठ्ठा खेतमा बाली लगाउन दिन्थ्यो । जमिन्दारहरु बाली पाएपछि पनि सलामी लिने गर्थे । जस्तैः मैले मालपोत बुझाउन गएँ भने जमिनदारलाई ५/१० रुपैयाँ सलामी बुझाउनु पर्थ्यो । त्यहाँ पनि शोषण थियो । ४÷५ विघा खेत जमिनदारलाई मालपोत असुल गरेर अड्डामा बुझाए बापत दिइएको हुन्थ्यो । त्यसमा पनि गाँउको किसानहरुले बिना ज्याला काम गरिदिनुपर्थ्यो । कसानहरुको यति धेरै मर्का र समस्या थियो । त्यहाँ पनि हामीले आवाज उठाउने काम गर्यौं । जनतालाई सोध्ने उनीहरुको समस्या हेर्ने, बुझ्ने, काम गरियो । जनताको माग के हो ? किसानहरुलाई के–के चाहिन्छ सब बुझाउने काम पनि भयो । र त्यसपछि आन्दोलन भयो ।
धनी जमिनदाहरुले एक मन धान लिएको छ भने चार मनको कागज बनाउने, १० मन हो भने २०–२५ बनाउने ती सबै धनीहरुबाट कागज खोस्दै, च्यात्दै हामीले ठूलो आन्दोलनको सुरुवात गरेका थियौं । त्यतिबेला करिब ५० औँ लाखका जाली तमसुकहरु च्यातिएका थिए । त्यस आन्दोलनको कारण गरीब किसानहरुको मजदुरी ज्याला पनि बढ्यो । त्यसका निम्ति लाठी प्रहार भयो, गोली पनि चल्यो । त्यो आन्दोलनलाई ‘रे मुक्ति आन्दोलन’ पनि भनिन्थ्यो÷भनिन्छ ।
हामीलाई ज्याला बढाउने माग मात्रै होइन् । हामीले त्यहाँ जसको जोत उसको पोत भन्ने नारा पनि उठायौं । जसले खेत जोतिरहेको छ, काम गरिरहेको छ, त्यो उसको नै खेत हो । र अर्को ‘यो जमिन कसको ? खेत जोत्नेको’ भन्ने नारा पनि थियो ।
‘हामीले बटैया हक, मोही हक कायम गर’ भनेर पनि आन्दोलन गरेका थियौं । जुन मानिसले सबै भन्दा पहिले खेत जोतेको थियो, त्यो खेत साहुले अर्कोलाई दिन्थ्यो । तर, हामीले पहिले जसले जोतेको थियो, त्यसैलाई दिन पर्छ भनेर लागेका थियौं । त्यसलाई बटैया हक भनिन्छ । बटैयालाई हलो जोत्न भन्थयौं । त्यस्तो किसीमले आन्दोलन अगाडि बढाएका थियौं । खेत खोस्नै दिएनौं । यदि खोसेको खेत छ भने पनि हामीले त्यहाँ जर्बजस्ती हलो लगाइ दिन्थ्यौं । वास्तवमा पानी, आगो, हावा यो सबैमा हाम्रो समान अधिकार छ । यो ईश्वरको देन हो भनेर हामीले किसानलाई बुझाउने गथ्र्यौं । उनीहरुलाई एकैपटक नास्तिक कुराहरु गरेर नहुने भएकाले हामीले ईश्वरको देन हो भनेर बुझाउनु प¥यो । पानी, हावा, आगो ईश्वरको देन हो भने धर्ती पनि ईश्वरको देन हो र धर्तीमा पनि सबैको समान हक छ भनेर बुझाउन थाल्यौं । हामीलाई जति आवश्यक छ त्यति लिने हो । जस्तै : मलाई एक गिलास पानी चाहिन्छ भने, त्यति नै लिन्छु । र अर्काेलाई दुई गिलास चाहिन्छ भने २–३ गिलास लिन्छ ।
पुँजीपति भनेर उसको लागि बढी हावा, गरीबलाई कम हावा आउने त होइन । त्यसैले यो प्रकृतिले दिएको स्रोत र साधनमा सबैको समान हक छ , आवश्यकता अनुरुप यसको प्रयोग गर्नुपर्छ ।
यसरी जनतालाई बुझाएर उनीहरुको चेतना जगाउने प्रयत्न गरिन्थ्यो । २००९, २०११ र २०१४ सालमा आन्दोलन भयो । यसरी निरन्तर आन्दोलनहरु अगाडि बढ्दै गयो ।
नेपाली समाजमा किसान आन्दोलनको प्रभाव
यो एकदम प्राक्टिकल विषय हो । किसानमा त्यतिबेला रुढीबादी सोच थियो । केही पनि सम्भव छैन, यो सबै ईश्वरको नियम हो । धनी धनी नै रहन्छ, गरीब गरीब नै हो भन्ने मानसिकता थियो । हामीले बुझाउने क्रममा उनीहरुले के कुरा गरेको होला भनेर सोच्थे । हामीले यो गलत हो भनेर भन्दा किसानहरु “धनी धनी नै हो ईश्वरले बनाएको हो, कर्म गरेर हुँदैन भाग्य चाहिन्छ, तपाईहरु हुनै नसक्ने कुरा मात्र गर्नु हुन्छ” भन्थे । संसारमा कहिल्यै धनी र गरीब एक हुन सक्छन ? भन्ने उनीहरुको प्रश्न थियो ।
हामीले उनीहरुलाई बुझाउन धेरै प्रयत्न ग¥यौं । मैले किसानहरुलाई प्रश्न गर्थें, ‘तपाईहरुले भनेको ठिक छ तपाईहरुलाई ईश्वरले गरीब बनायो, मुर्ख बनायो त्यो कस्तो ईश्वर हो जसले एउटालाई धनी र अर्काेलाई गरीब बनाइदिने ? यदि ईश्वर छ भने त उसको छोराछोरी धनी मान्छे पनि हो र तपाईहरु पनि हो । अनि किन फरक बनायो ? तपाईंले आफ्नो छोराहरुलाई आफ्नो सम्पतिको बारबर भाग लागाउनु हुन्छ ? कि कसैलाई धेरै कसैलाई थोरै दिनु हुन्छ ?”
मेरा प्रश्नमा उनीहरु भन्थे,‘हाम्रो लागि सन्तान बराबर हुन् । कसरी हामी अन्याय गर्न सक्छौं ?’
त्यसपछि म उनीहरुलाई सम्झाउथेँ, ‘त्यसो हो भने तिनीहरुमाथि तिम्रो ईश्वरले अन्याय ग¥यो । ईश्वर नै सर्वेसर्वा हो, मान्छे भन्दा पनि माथि हो भने तिमीहरुमाथि कसरी अन्याय भयो ?’ त्यसपछि किसानहरुले वास्तवमा नै अन्याय भएको रहेछ भन्ने बुझे र आन्दोलनमा जोडिए ।
निष्कर्षमा भन्ने हो भने त्यो आन्दोलनले क्रान्तिकारी प्रभाव, धार्मीक प्रभाव, सामाजिक प्रभाव र व्यक्तिको वैचारिकतालाई बढाउन सहयोग गर्यो । थाहा नै नपाउने किसिमले बिस्तारै किसानहरुको चेतना र ईश्वर प्रतिको धारणा फेरिदैँ गयो । उनीहरुको चेतनामा क्रान्तिकारी सोच आयो । जसले गर्दा दश वर्षे जनयुद्धलाई पनि ठूलो सहयोग पुग्यो । जनयुद्धको श्रेय किसानहरुलाई पनि जान्छ ।
किसान आन्दोलनको अहिलेको अवस्था
एकपटक म रौतहट पुगें । त्यहाँ पुग्दा त्यहाँका साहुहरुलाई म पुगेको थाहा भएछ । त्यसपछि उनीहरुलाई अब फेरि के उपद्रो गर्न आयो भन्ने लागेछ । मैले मिटिङमा बोलाएको थिएँ । त्यहाँ पाँच बिघा, दश पन्ध्र बिघा भएका सबै धनी मान्छेहरु जुटे । “यो त नयाँ भयो, हिजो केही नभएकालाई बोलाउने गथ्र्यो तर आज जग्गा जमीन भएका धनी मान्छेहरुलाई किन बोलाएको छ” भन्दै उनीहरु कुरा गर्न थाले । एकछिनमा छलफल भयो । मैले भनें,“अबको आन्दोलन जग्गा भएकोले गर्ने हो । किसानहरुको मोहयानी हकका लागि, ज्याला मजदुरी बढाउनको लागि, जग्गा कब्जा गर्नका लागि त हामी लडिसकेकाछौं । जे–जे माग थियो त्यो त पुरा भयो तर अबको आन्दोलन जग्गा हुनेहरुको आन्दोलन हो । किसानलाई मल उपलब्ध गराउने, बिउविजन उपब्ध गराउने, सिँचाइका लागि, नहरमा बाँध लगाउनको लागि अबको आन्दोलन हुनेछ । त्यही विषयमा छलफल गर्न बोलाएको हो ।” छलफलबारे थाहा पाएपछि उनीहरु खुशी भए र यो उठान गरिएको विषय राम्रो छ भने । अहिले अब किसानहरुले समयमा मल नपाउने, सिँचाइको व्यवस्था राम्रो नहुने, सहुलियत कर्जा व्यवस्था राज्यले नगरिदिने समस्या छ । अब यसका लागि लड्नुपर्छ ।
भारतमा नेपालको भन्दा धेरै राम्रो व्यवस्था छ । किसानहरुले हरेकथोकमा सहुलियत पाँउछन् । आजको हाम्रो मुभमेन्ट सहुलियत कर्जा (Subsidy loan) कालागि हुनुपर्छ । यो मुभमेन्ट अगाडि बढाउन कम्युनिष्ट पार्टीले गर्नुपर्ने काम दुर्भाग्यबस सिके राउतले गरिरहेको छ ।
अहिलेको स्थिति धेरै चिन्ताजनक छ । गाँउघरमा पनि पशुपालन हुन छाड्यो । दुध पाउन पनि मुस्किल भैसक्यो । पशुपन्छी पालन पनि सकिदैँन । पहिलो, जसको खेतबारी छैन । त्यो वर्गलाई माथि उठाउन गाइ पालन, बाख्रा पालनका लागि, तरकारी खेतीका लागि सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने हो । दोस्रो, जसको खेत छ, उसलाई मलमा, बिउविजनमा सहुलियत कर्जाको व्यवस्था हुनुपर्ने हो । अहिलेको आन्दोलन त्यसका लागि अगाडि बढाउन जरुरी छ ।
नेपाली समाजलाई अगाडि बढाउन किसान आन्दोलनको भूमिका
नेपालको सन्दर्भमा किसानहरु देशका मुख्य मेरुदण्ड हुन् । किसानहरुले सबै सुविधाहरु नपाउनु एकातर्फ छ तर किसान आन्दोलनले समग्रमा सबै वर्गलाई असर पार्छ । किसानहरुको आन्दोलन अगाडि बढनु भनेको विद्यार्थी आन्दोलन, महिला आन्दोलन सबै आन्दोलनहरु अगाडि बढनु हो । त्यसैले अबको किसान आन्दोलनलाई उठाउन आवश्यक छ ।
किसान आन्दोलनको नेतृत्व गर्नेले पनि किसानसम्म पुग्ने र उनीहरुको समस्या बुझन जरुरी छ । मैले किसानहरुको समस्या बुझ्नका लागि र सधैं किसानहरुको पक्षमा उभिनका लागि खाना खाँदा बिना तरकारी, बिना दाल नै भात खाने गर्थेँ । म ९० बर्षको भएँ तर आजभोलि पनि कहिलेकाँही त्यसरी नै खाना खान्छु । जसले गर्दा मलाई किसानहरुको पीडा र आन्दोलन याद रहिरहन्छ । अब बुढेसकाल लाग्यो, त्यसैले पनि किसान आन्दोलनमा नै जोडिएर काम गर्न सक्ने स्थीति छैन । मलाई अझै पनि मजदुर संगठनमा बसेर काम गर्ने चाहना छ ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रवुद्ध समितिमा आवद्ध अर्यालसँग कुराकानीमा आधारित ।