भारतमा मुस्लिम महिलाले जागिर पाउँनै मुस्किल, यसरी हुन्छ विभेद !

दियो पोस्ट  

लेखकः पूजा राठी

अनुवादः खुमा ओली

 

दुई नाम, दुईजनाको एउटै जस्तो योग्यता तर जागिर दिँदा भने एक भन्दा अर्कोलाई प्रथामिकता दिइन्छ । जसको कारण हो उनीहरुको नाामसँग जोडिएको धार्मिक पहिचान ।
हबीबा अली र प्रियंका शर्माको डिग्री समान छ, उनीहरुको नम्बर समान छ, अनुभव समान छ । तर जागिरको लागि आवेदन दिएपछि प्रियंकालाई सबैभन्दा माथिल्लो बरियतामा राखियो ।

हालै एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार भारतमा जागिर पाउनका लागि मुस्लिम महिलामाथि चरम विभेद हुने गरेको खुलेको छ ।

‘लीड बाइ फाउन्डेसन’ को प्रतिवेदनले भन्छ,‘मुस्लिम महिलाहरूले आफ्नो धार्मिक पहिचानका कारण शुरुवाती चरणमै जागिरका लागि बढी संघर्ष गर्नुपर्छ ।’
‘हायरिङ बायसः एम्प्ला‘यमेन्ट फर मुस्लिम वुमन इन इन्ट्री लेभल रोल्स’ शीर्षकमा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदनका मुख्य बुँदाहरू

– आवेदक कम्पनि मध्ये हिन्दु महिलालाई २०८ वटा कम्पनिले जवाफ दिए भने मुश्लिम महिलालाई जम्म १०३ जवाफ मात्रै आयो ।

– जागिरका लागि प्रियंकाको प्रोफाइलमा ४१.३ प्रतिशत जागिरदिने कम्पनिहरुले फोन सम्पर्क गरे । तर अबिबालाई जम्मा १२.६ प्रतिशत कम्पनिले कल गरे ।

–उत्तर भारतमा रोजगारीका लागि भर्ती गर्ने प्रक्रियामा कम भेदभाव छ । यो प्रतिवेदनमा पश्चिम र दक्षिण भारतको तुलनामा उत्तर भारतमा मुस्लिम महिला उम्मेदवारलाई बढी ग्राहायता दिइएको छ । यो दर उत्तर भारतमा ४० प्रतिशत थियो भने पश्चिम भारतमा ५९ प्रतिशत र दक्षिणमा ६० प्रतिशत थियो ।

– मुस्लिम महिलाहरुलाई रोजगारीका लागि जुनसुकै ठाउँमा पनि भेदभाव छ । यो ई–लर्निङ, कम्प्युटर सफ्टवेयर, मार्केटिङ र सूचना प्रविधि हरेक उद्योगमा व्यप्त छ ।

काम गरिरहेका मुस्लिम महिलाहरुको अनुभव

रोजगारीमै हुने विभेद भोग्न विवस अप्सरा चौधरीले फेमिनिजम इन इंडियासँग भनिन्,“मेरो धार्मिक पहिचानका कारण मैले धेरै पटक भेदभावको सामना गरेकी छु । व्यक्तिहरु भन्छन् मुस्लिम महिलाहरु अघि बढ्दै छन्, प्रगति गर्दै छन् । तर धेरैं ठाउँमा हामीलाई हाम्रो धर्मको पहिचानका कारण बाहिर राखिन्छ । नामबाट धर्मको पहिचान नखुलेपछि बायोडाटामा के धर्म लेखिएको छ भन्ने कुरामा बढी ध्यान दिइन्छ । हामीलाई आफ्नो घर–परिवार, गाउँमा बाहिर काम गर्ने अनुमति नभएका कारण पहिले नै धेरै दुःख भोगेका थियौं । अहिले बाहिर काम गर्ने अनुमति भएपनि धर्मका कारण मौका दिइँदैन । यस्तो हुनुहुँदैन ।”

एक निजी कम्पनिमा काम गर्ने बिन्ते जैदीको भनाई छ, “मानिसहरूले जागिर दिँदा धर्मको पहिचानलाई बेवास्ता गर्दैनन् । मैले धेरै पटक अन्तर्वार्तामा देखेको छु, सबै कुरा सही हुँदाहुँदै पनि धर्मकै कारणले गर्दा अगाडिको व्यक्तिमा हिचकिचाहट देखेको छु ।

उच्च योग्यता भएपनि म छनोट भइनँ । हो, एक ठाउँमा जागिरको कुरा भयो । त्यसपछि भनियो कि तपाईको छनोटमा हामीलाई समस्या छैन । तर ग्राहकको आपत्ति हुन सक्छ, त्यसैले तपाई छनोट नहुन सक्नु हुन्छ । हाम्रै अगाडि भनिदैन, तर घुमाएर अस्वीकार गरिन्छ । ”

नामबाट धर्मको पहिचान नखुलेपछि बायोडाटामा के धर्म लेखिएको छ भन्ने कुरामा बढी ध्यान दिइन्छ । हाम्रो परिवार–गाउँमा बाहिर काम गर्ने अनुमति नभएका कारण हामीले पहिले नै धेरै दुःख भोगिसकेका छौं । ’

एउटा संस्थामा शिक्षकका रुपमा कार्यरत शहनाज खान (नाम परिर्वतन) भन्छिन्, ‘मैले जागिरका क्रममा कहिल्यै भेदभावको सामना गर्नुपरेको छैन । हामीले हाम्रो योग्यताका आधारमा काम पायौ, तर कार्यालयमा म मात्र मुस्लिम कर्मचारी हुँ । अहिलेसम्म थुप्रै ठाउँमा काम गरेँ जहाँ काम गरेपनि म मेरो धर्मकी एकमात्र महिला हुँ । त्यहाँ केही कर्मचारी साथीहरु छन्, धार्मिक पहिचानकै कारण उनीहरु टाढा छन् । पुरानो ठाउँमा यस्तै भएको छ । तर हामी यहाँ बालबालिकालाई शिक्षा दिन्छौ । त्यसैले हामीले यो भेदभाव हटाएर उनीहरुको राम्रो शिक्षामा ध्यान दिनुपर्छ ।’

रिपोर्टले गरेको सिफारिस्

लीड बाइ फाउन्डेसनको यस प्रतिवेदनमा मुस्लिम महिलाका लागि समान काम गर्ने वातावरण सिर्जना गर्न केही सिफारिसहरू गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘कर्मचारी भर्ना प्रक्रियाबाटै भेदभाव उन्मूलनका लागि देशमा रोजगारीका लागि ‘धार्मिक नेत्रहिन’ भर्ना प्रक्रिया अपनाउनुपर्छ ।

 

जस अन्तर्गत आवेदकको प्रोफाइलबाट अनावश्यक जानकारी हटाइयोस् । भर्तीको लागि सबै ध्यान उसको योग्यतामा केन्द्रीत हुनुपर्छ र कामको नमूना परीक्षण लिनुपर्छ । साथै संस्थामा भर्ती प्यानलमा भिन्नता हुनुपर्छ । कर्मचारी भर्ना छनौट समितिमा पनि विविधता हुनुपर्छ । मुस्लिम महिलालाई पनि छनौट समितिमै समावेश गरिनुपर्छ, ताकी छनोट प्रक्रियामा पनि समानता कायम गर्न सकियोस् । साथै, संस्थाहरूले आफ्ना कर्मचारीहरूमा विविधताको वातावरण सिर्जना गर्न नियुक्तिमा पनि विशेष ध्यान दिनुपर्छ ।

मुस्लिम महिलाहरु पछाडि छन्

भारतमा पुरुषको तुलनामा महिलाले कार्यस्थलमा निकै कम काम गर्छन् । मुस्लिम महिलाको कुरा गर्ने हो भने यो हिस्सा पनि कम देखिएको छ ।

रोजगारी र शिक्षाको क्षेत्रमा विभिन्न समुदायका महिलाको हिस्साको तुलनामा मुस्लिम महिला कम छन् । भारतको २०११ को जनगणना अनुसार भारतमा १५– ६५ वर्षको उमेर समूह (काम गर्ने उमेर समुह) मा ५ करोड मुस्लिम महिला छन् । राष्ट्रिय नमूना सर्वेक्षण संगठन (२००९–१०) अनुसार, भारतमा प्रत्येक एक हजार श्रमिक महिलामा जम्मा एक सय एक मुस्लिम महिला मात्र कार्यरत छन् ।

२०१६मा, अल्पसंख्यक मामिला मन्त्री मुख्तार अब्बास नक्कीले संसदमा भने, ‘भारतमा काम गर्ने मानिसहरुमा मुस्लिमहरुको संख्या अन्य समुदायको तुलनामा सबैभन्दा कम छ ।’

 

रिपोर्टका अनुसार करीब ७० प्रतिशत मुस्लिम महिलाहरु घरभित्रै काम गर्छन् । अन्य समुदायमा यसको राष्ट्रिय औसत ५१ प्रतिशत छ ।

मुस्लिम महिलाहरुको शिक्षाको स्थितिसँग जोडिएको रिपोर्टमा २०११ को जनागणना अनुसार भारतमा मुस्लिम महिलाहरुमा साक्षरताको दर ५१ प्रतिशत थियो । मुस्लिम केटिहरुको विद्यालाय छोड्ने दर(१७.६) राष्ट्रिय दर (१३.२) प्रतिशतभन्दा बढी छ । उच्च शिक्षाको अवस्था झनै नाजुक छ । २५ केटिहरुमध्ये एक जना मात्र स्नातक डिग्री हासिल गर्छन् । ५० मध्ये जम्मा एक जनाले मात्र स्नाकोत्तर शिक्षा हासिल गर्छन् ।

हिजाबका कारण विभेदको सामना 

मुस्लिम महिलालाई काममा कम प्राथमिकता दिनुका साथै आफ्नो पहिरनलाई निशाना बनाएर विभेदको सामना गर्नुपरेको छ । देशमा बेलाबेलामा यस्ता समाचारहरु आइरहेका छन् जसमा हिजाबका कारण महिलाहरुले अवसर गुमाउनु परेको छ । यस वर्षको सुरुमा कर्नाटकमा स्कुलका छात्राहरूलाई टाउकोमा स्कार्फ लगाएको कारण कक्षाबाट बाहिर निकालिएका थिए । त्यसपछि देशका धेरै ठाउँमा स्कूल र कलेजमा हिजाब लगाएका केटीहरूले विरोधको सामना गर्नुपरेको थियो । हिजाबको कारण भेदभावको सामना गरिरहेका मुस्लिम महिलाले सार्वजनिक स्थानमा विभिन्न किसिमका टिप्पणीहरूको सामना गर्नुपर्ने हुन्छ ।

सुटर इराम सुल्तान भन्छिन्, ‘मैले आजभन्दा चार वर्षअघिदेखि सुटिङ सुरु गरे थिएँ । झण्डै दुई वर्षदेखि हिजाब लगाएर सुटिङ गरिरहेकी छु । यो मेरो रोजाइ र सुविधाको कुरा हो, तर जब मैले स्कार्फ लगाएर खेलमा सुटिङ सुरु गरें, केही व्यक्तिहरूले यो कुरा औंल्याए । मानिसहरूले मलाई हेरिरहेका थिए। कतिपय अभिभावकले पनि यहाँ कमै हुने गरेको बताएका थिए । मलाई मेरो हिजाब लगाउन असहज भएको थियो । जागिरको कुरा गर्ने हो भने यस्ता धेरै घटनाहरू हाम्रा अगाडि छन् । जहाँ एक मुस्लिम महिलालाई उनीहरुको हिजाबका कारण जागिरबाट निकालिन्छ ।

द वायरमा प्रकाशित समाचार अनुसार एक मुस्लिम महिलालाई हिजाब लगाएको कारणले जागिरबाट वञ्चित गरियो । कम्पनीले आफ्नो व्यवसायको लागि हिजाब लगाउनुलाई उचित ठहर गर्दैन । त्यस्तै, मक्तुब मिडियामा प्रकाशित रिपोर्ट अनुसार गत वर्ष सेप्टेम्बरमा पश्चिम बंगालमा राज्यको प्रहरी भर्ती प्रक्रियाका लागि आवेदन दिएका मुस्लिम केटीहरूलाई हिजाबको तस्विरका कारण अस्वीकार गरिएको थियो । समाचारका अनुसार पश्चिम बंगाल प्रहरी भर्ती बोर्डले हिजाबको तस्विरका कारण १ हजार मुस्लिम महिला उम्मेदवारको आवेदन अस्वीकार गरेको थियो ।