उत्तरी धादिङको खुंखार गुण्डा नाइके ‘बेगे’ पक्राउ : ३ पेस्तोल, ४ किलो सुन र डलर बरामद !

दियो पोस्ट  

काठमाडौं । उत्तरी धादिङमा खुंखार गुण्डा नाइकेको रुपमा परिचित बेगे भनिने बेग बहादुर तामाङ पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट तीन वटा पेस्तोल ५ किलो सुन र केही अमेरिकी डलर समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेग बहादुर लपाङफेँदीबाट धादिङवेशी आउँदै गर्दा पक्राउ परेका हुन् । ग १ ज ६७५३ नम्बरको मस्ताङ फोर्स गाडीमा धादिङ आउँदै थिए । पछाडी सिटमा यात्रा गरि आएका उनको साथबाट शुरुमा एक किलो फाइन गोल्ड (सुन) १ थान, ५० को ९७ वटा अमेरिकी डलर, सय दरको अमेरिकी डलर १६३ वटा फेला परेको थियो ।

त्यस्तै प्रहरीले उनको साथबाट २ वटा मोबाइल फोन पनि बरामद गरेको थियो । उनलाई पक्राउपछि बयानको क्रममा थप शंकाष्पद देखिएपछि प्रहरीले उनको घरमा समेत छापा मारेको थियो । प्रहरीले साउन आजै उनको घरमा प्रहरी इन्सपेक्टरको टोली खटाएर छापा मारेको थियो । घरमा छापा मार्ने क्रममा एक थान अमेरिकी पेस्तोल, एक थान थाइनिज पस्तोल र अर्को एक थान कटुवा पेस्तोल फेला पारेको थियो ।

त्यस्तै उनको घरमा लुकाइराखेको अवस्थामा २० राउन्ड गोली, कटुवामा लाग्ने १ थान गोली पनि बरामद भएको थियो । एक किलो फाइन गोल्ड लेखिएको सुन र ५०० ग्राम लेखिएको सुन जस्तो देखिने ४ थान बिस्कुट आकारको सुन फेला पारेको छ । प्रहरीका अनुसार उनको साथबाट ४ किलो सुन बरामद भएको छ । उनीसँगै प्रहरीले शोभा तामाङलाई पनि पक्राउ गरेको छ ।
स्रोतका अनुसार पक्राउ परेका तामाङ नेकपा एकीकृत समाजवादी निकट हुन् ।