झापाको नाकामा मौलायो तस्करी : घुमुवाले उठाएको पैसा डिआइजीको खल्तीसम्म !

दियो पोस्ट  

झापा । नेपाल भारत सिमा नाका झापाको भद्रपुर जोड्ने केतना नाकाबाट अवैध रुपमा तस्करी मौलाएको छ । नेपाल प्रहरीको झापा प्रमुख र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी मौलाएको हो ।

सशस्त्र प्रहरीको खुटामुनी क्याम्पकै आडबाट तस्करी हुँदा पनि सरोकारवाला निकाय मौन छन् । स्थानियका अनुसार केतनामा जनपथ तर्फ प्रहरी सहायक निरिक्षकको कमाण्डमा चौकी समेत छ । तर, चौकीले पनि तस्करीको रुट खुलाएका छन् । ‘यो नाकाबाट दैनिक ५ गाडी त कपडा नै तस्करी भइरहेको छ । ५ गाडीमा करोडौँ मुल्यका कपडा हुन्छन् । ती कुनै पनि राजश्व र भंसारको दायरामा आउँदैनन्,’ एक स्थानियले दियोपोस्टसँग भने,‘जिल्लास्थित प्रहरीका प्रमुख र सशस्त्रको प्रमुखले यो तस्करीको लाइन खोलेका हुन् ।’
तस्करहरुले टाटा कम्पनिको पिकअपमा खुलमखुल्ला तस्करी गरिरहेको स्थानियको भनाई छ ।

स्रोतका अनुसार व्यापारीहरु सञ्जिव घोष, तुलाराम हलुवाई, राजन मगर, धर्मेन्द्र यादव, अर्जुन ठकुरी र जब्बरसिंह राजवंशी लगायतले भारतको लोदाबारी र सुर्यभित्ताबाट अवैध रुपमा कपडा तस्करी गरिरहेका छन् । भद्रपुरस्थित भन्सार कार्यालयबाट १६ किलोमिटरको दूरीमा रहेको यो नाकामा भद्रपुरकै तस्करहरु पुग्ने गरेका छन् ।

जनपथ प्रहरी तर्फका अवकाश प्राप्त घुमुवा दिप बानियाँले सेटिङ मिलाउने गरेको स्थानियबासीको आरोप छ । उनी जिल्ला प्रहरी कार्यालय झापाका एसपीको घुमुवा रहेको स्रोत बताउँछ । उनले तस्करहरुसँग सेटिङ गरेबापतको रकम प्रहरी प्रमुखसम्म पुर्याउने गरेका छन् ।
त्यस्तै जनपथ तर्फकै घुमुवा कृष्ण चौधरीले पनि तस्करसँग सेटिङ गरेरै सामान भित्र्याउन सहयोग गरिरहेका छन् । उनी बानियाँ नभएको बेला खटिने प्रहरी अधिकारी हुन् ।

सशस्त्र प्रहरीको तर्फबाट घुमुवा सई रमेश कुँवर सक्रिय छन् । उनले एक सोझा राजवंशीलाई हात हतियार मुद्दामा फसाएको अभियोगमा मुद्दा समेत खेपेका थिए । तर, प्रदेश १ का डिआइजीको विशेष घुमुवा भएका कारण सेटिङमा उनलाई उन्मुक्ति दिइएको थियो । सशस्त्र प्रहरी गण नम्बर १ झापाको चन्द्रनिगाहपुरमा कार्यरत कुँवर पक्राउ समेत परेका थिए । उनले कपडा तस्करीको रकम डिआइजी कमल गिरीसम्म पुर्याउने गरेको स्रोतले बताएको छ ।

 

त्यस्तै सशस्त्रकै घुमुवा हर्क थापा पनि प्रहरीको बर्दिमा तस्करीको लाइन खुलाउन सक्रिय छन् ।

स्रोतका अनुसार सशस्त्र प्रहरीका एसपी र जनपथका एसपीले मासिक २ लाख रुपैयाँका दरले रकम बुझ्ने सर्तमा तस्करीको लाइन खुलाएका हुन् । सईदेखि माथि दर्जा अनुसार २० हजारदेखि ३५ हजारसम्म बुझाउने शर्तमा तस्करहरुले कपडा नेपाल भित्र्याइरहेका छन् ।