काठमाडौं । सम्पत्ति सुद्धिकरण तथा अनुसन्धान विभागले सुलभ अग्रवाल सम्बन्धी मुद्दाममा झूटो विवरण दिएको पाइएको छ । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागको छानबीनमा रहेका अग्रवाललाई गत वैशाख २ मा विभागले उन्मुक्ति दिएको पत्र फेला परेको छ । तर, सुचनाको हक २०६४ प्रयोग गरि दियोपोस्ट डटकमले विभागसँग सुचना माग गर्दा झूटो सुचना दिएको पाइएको हो ।
विभागले दियोपोस्टलाई उपलब्ध गराएको सुचनामा अग्रवालको विषयमा अनुसन्धान चलिरहेको र मुद्दा अदालतमा विचाराधिन रहेको झूटो विवरण उल्लेख छ । तर, गत वैशख २ मै उनी विरुद्धको सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा उन्मुक्ति पाइसकेका थिए छन् ।
विभागले पछिल्लो समय शंकर समुहका मालिक सुलभ अग्रवाललाई रहस्यमयी रुपमा क्लिन चिट दिएको हो । उनीद्वारा आर्जित ६ अर्ब ७१ करोड रुपैयाँ सम्पत्ति स्रोत नखुलेपनि विभागका महानिर्देशक भट्टराईको निर्देशनमा उनलाई उन्मुक्ति दिइएको हो ।
२०७६ चैत्रमा उनी थर्मल गन कालोबजारी गरेको अभियोगमा पक्राउ परेका हुन् । ५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा विक्री गरेको भेटिएपछि उनलाई महानगरीय प्रहरी अपराध महासाखाले पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले ३७ थान थर्मल गन समेत बरामद गरेको थियो । कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेका थिए । प्रहरीले उनको साथबाट २०९ एचसीसी १ नम्बरको गाडी समेत बरामद गरेको थियो ।
प्रहरीले लामो अनुसन्धानपछि कालोबजारी सम्बन्धी कसुरमा जेल सजाय माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पेश गरेको थियो । सरकारी वकिल कार्यालयले उनलाई थुनछेक आदेश माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दियो । तर, धरौटी तिरेर रिहा भए लगत्तै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पुन पक्राउ गरि सम्पत्ति सुद्धिकरण विभागलाई बुझाएको थियो ।
यस्तो छ क्लिन चिट दिएको पत्रमा
विभागले अग्रवाललाई जानकारी गराउँदै २०७९ वैशाख २ गते लेखेको पत्र संख्या ०७८।०७९ चलानी नम्बर ६—३—४४ मा अग्रवालको नागरिकता नम्बर र ठेगाना खुलाइएको छ । राउत मल अग्रवालको नाती शंकरलाल अग्रवालको छोरा भन्दै तिनपुस्ते नामम सहित उनलाई दिएको उन्मुक्ति पत्रमा उनले सम्पत्ति सुद्धिकरण सम्बन्धि कसुर गरेको नदेखिएको जानकारी गराइएको छ । विभागका कुन अनुसन्धान अधिकृतले यस्तो अनुसन्धान गरि उनलाई उन्मुक्तिको पत्र काटेका हुन् भन्ने उल्लेख छैन । तर, उनको हस्ताक्षर भने त्यहाँ छ । उनी विरुद्ध प्रहरीले गरेको अनुसन्धानसहितको उजुरीलाई समेत विभागले लगतकट्टा गरेर राखेको छ ।
सुचनाको हक माग्दा झूटो विवरण दिइयो
अग्रवाल सम्बन्धि मुद्दा के कसो भएको छ भन्दै दियोपोस्टले केहीदिन अघि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागसँग सुचनाको हक प्रयोग गर्दै सुचना माग गरेको थियो । तर, उक्त निवेदन दर्ता गर्न नै विभागलाई ३ दिन लाग्यो । झण्डै २२ दिनपछि किर्ते मिती राखेर विभागले सुचना त दियो तर, झूटो विवरण राखेर ।
विभागले दिएको सुचना अनुसार अग्रवालसम्बन्धी मुद्दा हाल पनि अनुसन्धानमै छ । अर्कातिर उक्त मुद्दा अदालतमा समेत विचाराधिन रहेको छ । विभागका सुचना अधिकारी ऋषिराम पौड्याल सुचना कसले कसरी दियो भन्ने बारेमा आफूलाई केही थाहा नभएको बताउँछन् । ‘फोनमा भन्दा पनि भेटेरै कुरा गरौँ । कुन अनुसन्धान अधिकृतले हेरेको रहेछ । त्यो कन्फिडेन्सियल कुरा हुन्छ । आउनु भो कसलाई भेटेर लानु भयो मलाई थाहा भएन,’ सुचना अधिकारी पौड्यालको गैरजिम्मवार जवाफ छ,‘फोनमा कुरा गरेर हुँदैन । प्रवक्ता र हाम्रो कार्यालय प्रमुख ज्यु पनि आउनु भएको छ । एक पटक आएरै कुरा गर्न पर्ने भयो ।’
सम्पत्ति सुद्धिकरणबाट क्लिन चिट पाइसकेँ : अग्रवाल
यसैबीच कलोबजारी गरेको अभियोगमा पक्राउ परेपछि सम्पत्ति सुद्धिकरण अनुसन्धानमा समेत तानिएका सुलभ अग्रवालले विभागबाट क्लिन चिटको चिठी पाइसकेको बताए । ‘मैले पत्र पाइसकेँ । अन्य मुद्दा मामिला मलाई थाहा हुँदैन । हाम्रो लयरलाई सोध्नुहोला,’ उनले भने ।