किसानले बाली भित्र्याउने बेला निर्वाचन घोषणा : किसान संगठनद्वारा सरकारको निर्णयको स्वागत !

diyopost.com
दियो पोस्ट  बिहिबार, साउन १९, २०७९ | १५:१७:४१

काठमाडौं । प्रमुख सत्तारुढ गठबन्धनबीच सहमति पछि सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेको छ । सरकारले मङ्सिरमा चुनाव गर्ने तयारी गरिहँदा यता नेपाली किसानलाई भने समस्या हुने भएको छ । धान भित्र्याउने चटारोमा दौडनुपर्ने किशानहरु अब फेरी निर्वाचनका बेला दलको झण्डा बोकेर दौडनु पर्ने भएको छ ।

मुलुकभर कात्तिक–मङ्सिरमा माना रोपेर मुरी फलाउने किसानहरुलाई भने अन्नबाली भित्र्याउन चटारो हुन्छ । असारमा रोपेको हिउँदे धान कात्तिक–मंसिरमा पाक्छ । उनीहरु यस समयमा विहानदेखि बेलुकासम्म खेतमै हुन्छन् । नेकपा एमाले निकट किसान संगठन अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम बङ्गाल मंसिर चारको निर्वाचनले किसानलाई मार पर्ने बताउँछन् ।

‘मङ्सिर ४ भन्दा पछाडि जाँदा पनि हिमाल तिर हिउँ पर्ने हुँदा समस्या पैदा हुन्छ, उनले भने, ‘किसानहरुलाई अलिअलि त मार पर्न सक्छ, त्यसमा पनि बाली भित्र्याउने बेला हो त्यो तथापी चुनाव राष्ट्रिय अभियान भएको हुनाले समर्थन छ हाम्रो ।”

यता नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठ भने सरकारको कदमलाई समर्थन गर्छन् । उनले भने, “यो राष्ट्रिय आवश्यकता हो । मङ्सिर ४ गतेसम्म त लगभग किसानहरुले धान भित्र्याइ सकेका हुन्छन् ।”

यस्तै , नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान संघका अध्यक्ष गणेश तिमिल्सीना भने सरकारले घोषणा गरेको समय निकै समय सान्दर्भिक रहेको बताउँछन् ।

“यो एकदम उपयुक्त समय हो , किसानले धान भित्र्याइसकेका हुन्छन्, हामी यसलाई स्वागत गर्छाैं,’ उनले भने ।

निर्वाचन आयोगले मंसिर २ मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन गर्न प्रस्ताव गरेकोमा सत्ता गठबन्धनबीच मंसिर ४ मा चुनाव गर्ने साझेदारी भएपछि सरकारले आज मिति घोषणा गरेको हो ।

२०७४ साल मंसिर १० र २१ गते गरी दुई चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो । मङ्सिर २२ गते निर्वाचित पहिलो प्रतिनिधिको परिणाम सार्वजनिक भएको थियो । आयोगले उक्त मितिलाई प्रतिनिधि सभा सदस्यको पदावधि सुरु भएको आधार मान्दै आगामी मङ्सिर २२ मा प्रतिनिधि तथा प्रदेश सभाको पदावधि सकिने दाबी गरेको छ । यता संवैधानिक कानुनका ज्ञाताहरु भने मंसिर ९ सम्म प्रतिनिधि सभा सदस्यहरुको म्याद रहने बताउँछन् ।

सम्बन्धित खबर