लुबुका किसान कृष्ण दाहालका कुरा,‘विचौलियाको चलखेलले हामीलाई बर्बाद बनायो’

diyopost.com
फूलमती
  शनिबार, साउन २१, २०७९ | १९:५७:१३

बर्षातको मौसम । किसानहरु खेतबारीमा रमाउने समय हो । असार र साउनमा समान्यतया नेपालीहरु खेत र कोदो रोप्न व्यस्त हुन्छन् । तर, ललितपुरको लुबुमा भने धमाधम तरकारी टिप्न किसानहरुलाई भ्याई नभ्याई छ । ।
केहीदिन अघि त्यहाँ पुग्दा केही किसानहरु डोकोमा टमाटर टिप्दै थिए । केही भरिएको टमाटरको डोको बोकेर गाडी भएको ठाँउसम्म दौडिरहेका थिए । केहीले निरन्तरको झरीको कारण पानी जमेर भर्खरै उम्रेका स–साना बिरुवा मरेको भन्दै दुख पोखिरहेका थिए ।

किरा लागेका टमाटरका पातहरुलाई काट्दै एकजना आमाको गुनासो थियो,“जति दुख गरेपनि हुने केही होइन । यो टमाटरको बिरुवा असोजसम्म फल्थ्यो तर पानीको कारण अब यो सबै जान्छ । यसपटक निकै राम्रो फलेको थियो । तर, के गर्नु ।”
बाहिरबाट हेर्दा जस्तो देखिन्छ त्यस्तो कहाँ हुन्छ र किसानको जिन्दगी । लुबुका स्थानियहरुले बाहिरबाट आएर खेती गरेका भनेर डाह गर्ने प्रचलन बढेको छ ।

“हामी यहीँका स्थानिय किसान होइनौं । त्यसैले यहाँको स्थानियहरुले हामीसंग बेलाबेला झगडा गरिरहन्छन् । हामीले उनीहरुलाई दुःख दिएका छैनौं, आफ्नो गरेर खाएका छौं । खै किन रिस गर्छन्,’ एउटी दिदि भन्दैथिइन् ।

बाटोमा हिँड्दै गर्दा लुबुमा स्थानिय किसानको खासखुस पनि सुन्दै गयौँ । झमझम पानी परिरहेको थियो । बाटो हिलो र चिप्लो उस्तै थियो । हामीले केही पर एउटा गोठ देख्यौँ । केही गाइहरु देख्यौँ । एक जना किसान ती गाईहरु स्याहार्दै थिए । उनी भएतर्फ हामी लाग्यौँ ।

उनी रहेछन्– विराटनगरबाट लुबु आएका कृष्ण दाहाल ।

दश बर्षदेखि लुबुमा कृषि कर्म र पशुपालन व्यवसाय गरिरहेका छन् । जग्गा लिजमा लिएर काम थालनी गरेका दाहालसँग ९ वटा गाईहरु रहेछन् । गोठको एक कुनामा ४÷५ वटा बाख्राहरु छन् । गोठ नजिकै ७ रोपनी जग्गामा १६ वटा टनेल निर्माण गरेर गोलभेँडा खेतीमा पनि उनी सक्रिय छन् ।

निरन्तरको झरीका कारण गोलभेँडा खेतीमा असर पुग्ने चिन्ता व्यक्त गर्दै दाहाल गोठको काममै थिए । हामीले केही प्रश्नहरु उनलाई गर्दै थियौँ । हामी गफिँदै गर्दा केही स्थानियहरु टमाटर खरिद गर्न आएका थिए । बजारमा तरकारीको भाउ अचाकली महँगो छ । तर, किसानले भने उतिसारो मुल्य पाउँदैनन् । किसानले खेती गर्छन् तर, उही किसानले आफूले उत्पादन गरेको बस्तु खरिद गर्दा कयौँ गुणा महँगोमा खरिद गर्नुपर्छ । नाफमा विचौलिया मात्रै पुगेका हुन्छन् ।

तरकारीहरुको बजार मूल्य स्वंय किसानले तय गर्न नपाँउदा चिन्तित देखिन्छन् उनी ।

“आफ्नो मिहिनेत र लगानी समेत नउठने भएपछि जिविकोपार्जन गर्न समेत हम्मे–हम्मे हुन्छ,” उनी भन्छन् ।

सहकारी र समुहहरु मार्फत ४–५ लाख ऋण लिएर पशुपालन व्यवसाय शुरु गरेका उनले राज्यको तर्फबाट एक रुपैयाँ पनि अनुदान पाएका छैनन् ।
‘हामी किसानहरुले निकै कम अनुदान पाउछौं । अनुदानको आधा रकम कर्मचारीले कमिसन लिन्छन्,’ उनले भने,‘स्थानीय तहबाट उपलब्ध गराइने ऋण माफिया, आफन्त र तिनले प्राप्त गरेका छन् जो किसान होइनन् । यसरी किसानहरु निरन्तर पिरमर्कामा परेका छन् ।’

रसायनिक मलको प्रयोगले उत्पादन भएको तरकारीले मानव स्वास्थ्यमा असर गर्ने उनी बताउँछन् ।

‘पशुपालन व्यवसायका थुप्रै फाइदाहरु छन् । त्यसमध्ये हामी किसानहरुलाई गाईको मल तरकारी खेतीलाई सर्वाधिक उपयोगी हुन्छ । रासायनिक मलको प्रयोगले किसानको स्वास्थ्यमा गम्भीर नोक्सानी हुने गर्छ,’ उनले भने,‘र यसले कृषि क्षेत्रमा हुने लगानी पनि वृद्धि गराएको हुन्छ । पशुपालन व्यवसाय र कृषि कर्म दुवै एकसाथ गर्नाले हामी यो कष्टबाट मुक्त भएका छौँ । बर्षाको मौसममा घाँस किन्नुपर्दैन, अघिपछि किन्नुपर्छ ।’

पशुपालन र तरकारी खेती सँगै गरिरहेका उनी पशुपालन व्यावसायमा जटिलता देख्छन् ।

‘पशुपालन व्यवसाय निकै अफ्ट्यारो काम रहेछ, न किसानलाई फूर्सद मिल्छ, न लगानी सुरक्षित हुन्छ । घरपरिवार, आफन्त र इष्टमित्रसँग अन्तरक्रियाको समय समेत हुँदैन । दुध, तरकारीको बजार मूल्य किसानहरूले निर्धारण गर्ने व्यवस्था छैन,’ उनले भने,‘किसानले गर्ने परिश्रमको वास्तविक मुल्यांकन पनि भएको हुँदैन । उत्पादित वस्तुको बजार मूल्य किटान गर्ने अधिकार किसानसँग नभएसम्म किसानको मुख्य समस्या यथावत रहिरहन्छ ।’

 

राज्य व्यवस्था र बजार किसान मैत्री नभएको उनको आरोप छ । ‘हाम्रो बजार व्यवस्था किसानमैत्री छैन । बिचौलियाले किसानसँग ७० रुपैयाँमा किनेको दुध उपभोक्ताले १३० रुपैयाँसम्म तिर्नुपरेको छ,’ उनले भने,‘यस्तो प्रणालीले किसान र उपभोक्ता दुवै मारमा परिरहेका छन् । बिचौलियाको चलखेलले हामी बर्बाद हुने भयौं । यस्तो थिति नबदलेसम्म किसानको हित किमार्थ हुँदैन । हाम्रो अनुरोध छ, राज्यले यस्तो परिपाटीको अन्त्य गरिदिनुपर्छ ।’

 

सम्बन्धित खबर