शिक्षा प्रणालीलाई समय सापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउनुपर्छ : महानरिक्षक धिरज प्रताप सिंह

दियो पोस्ट  

काठमाडौं । प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र २ वटा पुरुष छात्रावास भवनको उद्घाटन गरेका छन् ।

उद्घाटन पश्चात उनले नवनिर्मित भवनहरुको निरीक्षण गर्नुको साथै नवनिर्मित एकेडेमिक ब्लक परिसरमा वृक्षारोपण समेत गरे ।

प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो समयसम्म आवद्ध रही योगदान पुर्याए बापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डिबी लामा टिचर्स अवार्ड २०७८ र नगद सहित सम्मान गरे । यसैगरी उनले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारीहरु सुरेन्द्र वाग्ले, कृष्ण बहादुर बिष्ट, श्याम सुन्दर सापकोटा, कृष्ण राज अर्याल, शम्भु प्रसाद निरला, हरिहर तिमिल्सिना, राज कुमार नेपाल, निर बहादुर थापा र राज कुमार पोखरेल तथा हाल कार्यरत शिक्षकहरू हरि भक्त कार्की, सन्जोक अधिकारी, रबिना श्रेष्ठ, शिव हरि थापालाई कदरपत्र प्रदान गरे । साथै उनले तुल्सीभक्त कन्सट्रक्सन प्रालि, तारा निर्माण सेवा र ब्राइट कन्सट्रक्सन प्रालि एवं प्रहरी विद्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारीहरूलाई समेत कदरपत्र प्रदान गरे ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले गुणस्तर र प्रभावकारी शिक्षा प्रवर्द्धनमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै नवनिर्मित भवनहरूबाट विद्यार्थीहरूको शैक्षिक वातावरण, बसोबास र मेश सुविधाहरूमा उल्लेखनीय अभिवृद्धि हुने विश्वास व्यक्त गरे । शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कूल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए ।

साथै उनले नेपाल प्रहरी अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनका अतिरिक्त सामाजिक, कल्याणकारी र सेवामूखी कार्यहरूमा समेत सक्रिय रहँदै आएको चर्चा गरे । स्कुलको विकासका लागि आवश्यक पर्ने भौतिक संरचना लगायत विविध पक्षको स्तरोन्नति गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल पुलिस स्कुललाई नेपालकै उत्कृष्ट स्कुलको रुपमा स्थापित गर्न क्रियाशील रहेको धारणा उनले व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक अरुण कुमार विसीले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो गरे ।