काठमाडौं । काठमाडौं महानगरपालिका–३० मा रहेको शान्ता प्लाजाका मालिक प्रवीण केसीमाथि कर छलीको आरोप लागेको छ । उक्त प्लाजामा भाडामा बसेका व्यवसायीहरुले नै उनले महानगरपालिकालाई बुझाउनुपर्ने बहाल कर नबुझाएको आरोप लगाउने गरेका छन् ।
प्लाजाका सञ्चालक केसीले भाडामा बसेका व्यवसायीहरुलाई बहालकर तिरेको प्रमाण दिँदा उक्त प्लाजामा व्यवसाय गर्ने व्यवसायीहरुले वडा कार्यालयमा आफ्नो फर्म दर्ता गर्न समेत नपाएको नाम नबताउने शर्तमा व्ययवसायीहरुले बताएका छन् । तर सन्चालक केसीले भाडा दिँदा नै सम्बन्धित व्यवसायीहरुले कर कटाएर दिने हुँदा आफूले थप केही पनि वडामा तिर्न नपर्ने बताए । उनले भने,“भाडामा बसेका व्यवसायीहरुले नै घरभाडाबाट १० प्रतिशत कर काटेर मलाई दिने हो , यदि यस्तो हुन्थ्यो भने महानगर वा वडाले मलाई छोड्दैनथ्यो ।”
सञ्चालक केसीले प्रत्येक भाडावालसँग प्रतिवर्गफिट फरक–फरक बहाल सम्झौता गरेका छन् र आफूले लिएको बहालको कर पनि सकेसम्म व्यवसायीहरुलाई नै तिराउने प्रयास गर्दै आएका छन् ।
प्लाजाका व्यवसायीहरुसँग पानी बत्तीको शुल्क पनि मनपरी ढंगले लिने गरेका छन् । उनले प्रतियुनिट १० रुपैयाँ तोकिएको बिजुली पानीको शुल्क २७ रुपैयाँसम्म लिने गरेका छन् । उनले व्यवसायीहरुसँग लिफ्ट र पार्किङको खर्चमा पनि त्यस्तै तनाव दिने गरेका छन् । राति आफ्ना मानिसलाई पार्किङ गर्न दिएर रकम असुल्ने मात्र नभई बिहान कार्यालय सञ्चालन भइसक्दा पनि पार्किङ खाली नगर्दा अफिस आउने व्यवसायीहरुले सवारी साधन पार्किङ गर्न नपाउने अवस्था छ र त्यसको समाधान गर्न आग्रह गर्दा उनले व्यवसायीहरुलाई उल्टै हप्काउने गरेको गुनासो गरेका छन् ।
माथिल्ला तलामा बस्ने व्यवसायीहरुका लागि लिफ्टको पनि समस्या रहेको छ । कोरोनाकालमा समेत व्यवसायीलाई सहुलियत नदिएका केसीका अगाडि व्यवसायीहरुले मुख खोल्न समेत डराउने गरेका छन् । उनले विभिन्न शक्ति केन्द्रको धाक रवाफ देखाएर व्यवसायीहरुलाई आफ्नो काबुमा राखेकाले कसैले पनि मुख खोल्ने आँट नगरेको थाहा भएको छ ।
महानगर वडा नं.३० का वडाध्यक्ष दलबहादु कार्कीले सन्चालक केसीले समयमा नै कर तिर्दै आएको बताए । जबकी केसी स्वयंले भने आफूले कर नतिरेको तर, व्यावसयाी आफैले कर कटाएर आफूलाई भाडा दिने गरेको बताए ।
शान्ता प्लाजामा एनसीसी बैंक, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, ट्रेण्डबिच, डोजी )मिनी मार्ट), एरो ट्राभल्स एण्ड टुर्स, स्पा ब्युटी पार्लर, एनआरके फिटनेस, टीभीएस बाइक (शोरुम) लगायत रहेका छन् । उनले मासिक ३० लाख भाडाको १० प्रतिशतका दरले मासिक तीन लाख रुपैयाँ र वर्षभरिमा ३६ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ तर उनले उक्त रकम बुझाएका छैनन् ।