भक्तपुरमा पैसा तिर्न नसकेपछि घरबेटीद्वारा बहालमा बस्नेमाथि बलात्कार, महिला गर्भवति !

दियो पोस्ट  

खुमा वली

काठमाडौं । भक्तपुरको ‘जगाती’ बस्ने रमा मंग्राती (नाम परिवर्तन) कोठा खोज्दै थिइन् । सोही क्रममा उनको चिनजान कोटेश्वर घर भएका न्हुच्छे  कृष्ण श्रेष्ठसँग भयो । घरबेटी श्रेष्ठ धनाड्य थिए । रमा र उनको श्रीमान कोटेश्वरस्थित श्रेष्ठकै घरमा भाडामा बस्ने भए । मासिक १० हजार रुपैयाँ भाडा तिर्ने गरि । रमाको श्रीमान वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । तर, उनले ऋण भने पाइसकेका थिएनन् । लगत्तै उनको भिषा पनि आयो । रमाले श्रीमानलाई विदेश पठाउन विभिन्न व्यक्तिसँग ऋण मागिन् तर, पाइनन् । अन्ततः उनी घरबेटी न्हुच्छेको शरणमा पुगिन् । श्रीमानलाई विदेश पठाउन ऋण चाहियो भनेपछि न्हुच्छेकृष्णले शुरुमै २ लाख रुपैयाँ दिए ।

रमाका श्रीमान रोजगारीका लागि विदेश पुगे । लगत्तै घरबेटी श्रेष्ठले रमालाई पैसा फिर्ता गर्नका लागि दबाब दिन थाले । भर्खर मात्र विदेश पुगेका रमाका श्रीमानले पैसा पठाउने स्थिति थिएन । तर यता घरबेटी श्रेष्ठले भने रमालाई बारम्बर दबाब दिइरहेका थिए । सोहिक्रममा घरबेटीको नाममा रु २ लाखको चेक काटिदिइन् । यता चेकमा लेखिएको रकम बैंक खातामा थिएन । त्यसपछि घरबेटीले उनको पिछा छाडेनन् । रमा अब कोठा सार्ने स्थितिमा पुगिन् र घरबेटीलाई आफूले कोठा छाड्ने जानकारी गराइन् । तर घरबेटीले उनलाई अन्यत्र कोठा सार्न नदिने मनसायले काभ्रे बनेपामा रहेको उनको अर्को घरमा कोठा भाडा तिरेर बस्न दबाब दिए । रमा यो कुरा मान्न बाध्य भइन् । रमाले अब काभ्रेस्थित बनेपामा रहेको श्रेष्ठकै घरमा बसाइँ सरिन् । बीचमा न्हुछेकृष्ण रमाको भाडामा बसेको घरमा आउजाउ गरिरहन्थे । २०७८ असोज २५ मा घरबेटी श्रेष्ठ रमा बसेको कोठामै गएर चेकको कुरामै उनले धम्की दिँदै जवरजस्ती करणी गर्ने प्रयास गरे । रमाले दिएको जाहेरी अनुसार मंसिर ८ गते घरबेटी श्रेष्ठले उनलाई फोन गरेर धम्कीपूर्ण तरिकाले तिमीसँग काम छ भन्दै आफूसँग भेट्न भने । रमाले पनि यो उनको प्रस्तावलाई स्विकार गरिन् । त्यस पश्चात चाँगुनारायण नगरपालिका–८ स्थित नगरकोटमा उनीहरु दुवैजनाको भेट भयो । काम छ भनेर आएकी रमाले घरबेटी श्रेष्ठसँग सोधिन्, के काम हो भन्नुस् ? तर श्रेष्ठले धम्कीपूर्ण स्वरमा बैंकिङ कसुर मद्दा लगाई जीवनभर थुनामा राख्छु भन्न थाले । रमा डरले कामिन् । एकातिर श्रीमान विदेशमा भनेजस्तो काम नपाएर अलपत्र यता आफूलाई पनि त्यही ऋणले बैंकिङ मसुर मुद्दामा जेल ! उनलाई अत्यास लाग्नु स्वभाविक थियो । त्यो अत्यासलाग्दो पञ्जाबाट उम्किन खोजिन् तर श्रेष्ठले सोही क्रममा रमामाथि जवरजस्ती करणी गरे । रमाले यो घटना आफूमै सिमीत राखिन् । यो बीचमा श्रीमानसँग कुराकानी त भइरहयो, तर रमाले यस घटनाबारे श्रीमानसँग भन्न सकिनन् ।

यसको एक महिनापछि रमालाई गर्भवती भएकी भनेर शंका लाग्यो र नजिकैको मेरील्याण्ड हेल्थ केयर प्रा.लि.मा गएर गर्भ जाँच गरिन् । उनको शंका वास्तविकतामा बदलियो । रमा आतिइन् । उनले घटनाबारे कसैलाई पनि भन्न सकिनन् । र गर्भपतन गर्ने सोचिन् । रमालाई औषधी खरिद गर्ने क्रममा डाक्टरले कस्को गर्भ हो भनेर सोध्दा आफ्नै श्रीमानको हो र यो गर्भ पतन गर्न चाहान्छु भनि झुट बोलेर रु २५०० पर्ने औषधी किनेर सेवन गरिन् । रमाको यो बयानलाई मेरील्याण्ड हेल्थ केयर प्रा.लि.का प्रमुख सुरेस कुमार क्षेत्रीले समेत साँचो भएको पुष्टि गरेका छन् । क्षेत्रीले दिएको बयानमा भनिएको छ, “मिति २०७८–०९–०९ गते म सोही संस्थामै थिएँ । उक्त दिन रमा भक्तपुर जगाती बस्ने हाम्रो संस्थामा आएर आफू गर्भवती भएकोले गर्भपतन गराने औषधी दिनु पर्यो भनेकी हुँदा हामीले निजको गर्भ रहे–नरहेको चेकजाँच गर्दा उनको पेटमा गर्भ रहेको थाहा पाई कसको गर्भ हो ? भनि सोध्दा निज पीडितले आफ्नो श्रीमानको गर्भ हो, म गर्भपतन गर्न चाहान्छु भनेकी हुँदा हामीले कानुनी मापदण्ड पु¥याई निजको गर्भपतन गराउने रु २५०० को औषधी दिएका हौं । ”

यता जवजस्ती करणीको आरोप लागेका न्हुच्छेकृष्ण श्रेष्ठले आफ्नो घरमा भाडामा बस्दै आएको कुरा साँचो भएको तर, जवरजस्ती करणी गरेको कुरा झुठो भएको दाबी गरेका छन् । उनले बयानमा भनेका छन्, “निजलाई दिएको पैसा फिर्ता माग्दा निजले नदिएपछि बैंकिङ कसूर मद्दा हाल्दा रिसईवी लिई मलाई आरोप लागाएकी मात्र हुन् । मैले पीडित जाहेरवाला परिवर्तित नाम भक्तपुर जगाती बस्ने रमालाई मिति २०७८ सालको मंसिर ८ गते काम छ भनि नगरकोट जाने बाटोमा बोलाएको होइन । जाहेरीवालाले विभिन्न वरबहाना बनाई मबाट पटक–पटक गरी नेपाली रु १८ लाख दश हजार सापटी लिएकी थिईन् ।”

अहिले रमा घरबेटी श्रेष्ठको घरबाट कोठा सरेर अन्यत्र बस्छिन् । उनले न्याय माग्दै अपराधीलाई हदै सम्मको कारबाहीको मागसहित भक्तपुर प्रहरीमा जाहेरी दिएकी छिन् । उनको जाहेरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ पनि गरेको थियो । पक्राउ परेका उनले आफ्नो स्वास्थ्य कमजोर भएको भन्दै प्रहरीलाई प्रलोभनमा पारेर हिरासत नै नबसी बाहिरबाटै मुद्दालाई प्रभावमा पारेका छन् । जबकी यता प्रहरीले भने अनुसन्धानको फाइल कमजोर बनाएर पीडितलाई नै पिडा हुने गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको आरोप छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालत भक्तपुरमा अभियोग पत्र दर्ता गरेको छ ।