काठमाडौं । काठमाडौंको गौशाला चोकस्थित महानगरीय प्रहरी बृत्त नजिकै एउटा टहरा छ । त्यो टहरा बनाउनेहरुको आफ्नै व्यथा छ । व्यथा सुनाउन उनीहरु तराईदेखि काठमाडौंसम्म आएका हुन् । मिटरब्याजबाट प्रताडित भएपछि तराईदेखि काठमाडौं आएकाहरुले बनाएको टहरामा एक युवती सबैको स्वास्थ्य परिक्षण गर्दै थिइन् । ‘ग्रिन कुर्ता र ह्वाईट सलवार’मा देखिएकी उनलाई आफ्नो भन्दा आन्दोलनकारीको चिन्ता छ । त्यसैले त उनी आन्दोलनकारीको पाखुरामा रक्तचाप परिक्षण गर्ने यन्त्र लगाइरहेकी थिइन् । उनको नजिक पुगेपछि उनीसँग परिचय भयो ।
नाम – मरियम नेशा उर्फ हसिना ।
उमेर : १८ वर्ष ।
उनी पश्चिम नवलपरासी जिल्ला प्रतापुर गाँउपालिका–५ श्रीरामपुरबाट आन्दोलनकारीसँगै काठमाडौं आइन् ।
मधेस आफैमा पछाडी पारिएिको क्षेत्र । त्यसपछि त्यहाँका समुदायमाथि राज्यले जहिल्यै “सौतेलो” व्यवहार गरिरहयो । त्यसभित्र पनि मुश्लिम समुदायमा जन्मनु हसिनाका लागि “दुष्कर” थियो ।
हसिनाले जब विद्यालय जाने रहर गरिन् तब उनले आफूमाथि समाजले हेर्ने नजरियाबारे चाल पाइन् ।
‘बाल्यकालमा मलाई त्यस्तो विभेदको बारेमा महशुस नै भएन । तर, विद्यालय जान सुरु गरेपछि हामी (महिला)लाई फरक व्यवहार गरिन्छ भन्ने लाग्यो । जब मैले पढ्न शुरु गरें, त्यसपछि मलाई अगाडि बढ्न निकै गाह्रो भयो । मैले शुरुको केही समय गाँउमा साक्षर बनाउन पढाउन आउनेहरुसंग पढे । मेरो ठूलोममीले मलाई निकै नराम्रो व्यवहार गर्नुहुन्थ्यो । खै किन गाली गर्नुहुन्थ्यो,’ हसिना आफ्नो बाल्यकाल सम्झिन्छिन्,‘एकदिन मेरो मामाघरको हजुरबुवा आएको बेला पनि गाली गर्दै हुनुहुन्थ्यो । त्यसपछि मेरो मामा घरको हजुरबुवाले मलाई आँफू संगै लिएर जानु भयो । बाबाले पनि लिएर जानको लागि भन्नुभएको थियो । हजुरबुवाको कारणले नै मैले पढ्न पाएको हो ।”
शिक्षा, व्यवसाय, राजनीति यी त सबै परको कुरा हो यहाँ महिलाहरुलाई हाँस्न, बोल्न र स्वतन्त्रपूर्वक सास फेर्न समेत छुट छैन । यस्तोमा हसिना जो अनुहार लुकाएर हिँड्नु पर्ने मुश्लिम समुदायमा जन्मिइन् । “म विद्यालय जाँदा साथीहरु संगै जान्थँे । म संगै मेरो एकजना केटी साथी र दुइजना केटा साथी हुन्थे । गाँउका मान्छेले हामी संगै हाँस्दै बोल्दा, हिँड्दा नानाथरी कुरा काट्ने गर्थे । छोरीहरुलाई पढाएर बिग्रे । केटासंग हिँड्न लागे भन्थे । कतिपयले घरमा पुगेर कुरा लगाइदिने गर्थे,’ हसिनाको आक्रोश मिश्रित प्रश्न छ, ‘हाम्रो समाजले किन महिलालाई हरेकथोकमा बाँधेर राखेको छ । के केटासंग बोल्दैमा, स्कुल जाँदैमा केटीहरु बिग्रन्छन् र ?”
उनले कक्षा ८ पास गरिन् । त्यसपछि अब धेरै पढनु हुँदैन, बिहे गर्ने बेला भो भनेर उनको घरमा कुराकानी हुनथाल्यो । तर, उनलाई विवाह गर्ने इच्छा नै थिएन् ।
‘मेरो सपना त डाक्टर बन्नु थियो । मैले घरमा धेरै झगडा गरें । रोएँ–कराएँ । घरभित्रको लडाइँ जितेँ । एसएलसीसम्म पास गरें । एसएलसीमा निकै नै राम्रो नम्बर आएको थियो । घरमा अब त पुग्यो, बिहे गर्न ढिला भयो भन्ने कुरा चल्यो तर म मान्ने पक्षमा थिइनँ,’ हसिना भन्छिन्,‘म फेरि घरमा झगडा गर्न लागें । बाबा त पढाउन तयार हुनुहुन्थ्यो तर ममिलाई समाजका मान्छेहरुदेखि डर थियो ।”
घर र हसिनाबीच पढ्ने विषयमै लडाइँ हुन्थ्यो । यस्तैबीच उनले आफ्नो अध्ययनलाई निरन्तरता दिइन् । तर, उनले पढ्दा गाँउ–समाजमा मान्छेहरुले उनको आमालाई कराउँथे । आमा गाँउलेका कुरा सुनेर हसिनालाई साथ दिन डराउँथिन् । तर, मामाघरको हजुरबुवा र बुवाको कारण उनले केही सहज तरिकाले पढ्ने वातावरण भने बनेको थियो । उनका भाईलाई जति सहज थियो पढ्नका लागि त्यति सहज हसिनालाई थिएन ।
एकदिन उनी साथीसँगै विद्यालय जाँदै थिइन् । साथीले आफू भागेर विवाह गर्न लागेको सुनाइन् । उनकै साथीले आफ्नो प्रेम सम्बन्ध लुकाएकोमा हसिना आश्चर्य नपर्ने कुरा भएन । ती साथीले विद्यालयबाटै भागी विहे गरिन् । तर, समाजको निशानामा परिन् हसिना । ‘गाउँका मान्छेहरु ‘छोरी पढाँउदा के हुन्छ देखेउ” भनेर खिसिट्युरी गर्न थाले । तर, मैले हिम्मत हारिनँ । म आफ्नो सपनाहरुमा दृढ छु । विवाह गरेर मेरा सपनाहरु मार्न सक्दिनँथेँ । त्यसमाथि केटा पक्षले हामीलाई विवाह गर्दा पनि हाम्रै मोलमोलाई गरेर दाइजो लिने गर्छन् । यो कुरा मलाई मन पर्दैन थियो ।’
दाइजो प्रथा विरुद्ध सहासिलो लडाइँ
हसिनाले दाईजो प्रथा विरुद्ध निकै सहासिलो लडाइँ लडेकी छिन् । दाइजोप्रथा मधेसी समुदायमा धेरै छ । तराईमा मिटर ब्याजका कारण धेरै मानिसहरु सडकमा पुग्नुको मुख्य कारण दाईजो प्रथा पनि हो ।
दाइजो नभएसम्म छोरहरुको विवाह नहुने डरका कारण उनीहरुले चर्को ब्याजमा पैसा लिएका हुन्छन् । त्यसैकारण उनीहरु सडकमा पुगेको धेरै उदाहरण छ ।
विवाहका लागि दाइजो माग्नेहरु प्रति उनको आक्रोश छ ।
“हामी महिलाहरु मात्रै सबथोक किन सहनुपर्ने ? के महिलाहरु खेलौना हो ? जो कि उसको मोलमोलाइ गरेर विवाह हुन्छ । एक त केटीको रुप कस्तो छ, अङगहरु कस्तो छ भनेर हेर्छन्,’ उनी भन्छिन्,‘हामसँग डिमान्ड गर्छन्, बाइक चाहियो, गाडी चाहियो भनेर । बाइक, गाडीले मात्रै कहाँ पुग्छ र, त्योसंगै पैसा माग्छन् । ३ लाख देखि माथि कुरा सुरु हुन्छ । कति दिने ? कति लिने ? भन्ने छलफल हुन्छ । विवाह भएपछि पनि हामी डरैडरको जिन्दगी बिताउनु पर्छ ।”
घरबाट बाहिर निस्कन समेत नदिने समाजमा हुर्केकी हसिना घर छाडेर काठमाडौंसम्म आन्दोलनमा आएकी छिन् । तर, कहाँ सजिलो छ र । समाजले उनकै विरुद्ध धेरै कुरा काटेको चाल पाएकी छिन् । तर, उनी आफ्नो परिवारलाई र मिटरब्याजबाट पीडित सबैलाई मुक्त गराउने कोशिसमा छिन् ।
साहुले घरजग्गा नै लिलाम गर्ने भएपपछि उनी आन्दोलनमा आएकी हुन् ।
‘म मिटर ब्याजको कारण नै पढ्न पाइन् । डाक्टरी पढ्न कति पैसा लाग्छ । पैसा घरकाले जसोतसो जम्मा गर्थे तर साहु आएपछि उ लिएर जान्थ्यो । एकातर्फ मैले पढन् पाएको छैन । उता गाँउमा भने मान्छेहरु कुरा काटिरहेछन्,’ कुराकानीको अन्तिममा हसिनाको दृढता छ्,‘छोरी मान्छे आन्दोलनमा गएको छ । त्यहाँ सबैसंगै बस्नुपर्छ भन्छन् । गाँउको मान्छे त छोरीहरुले जे गर्दा पनि कुरा काट्छ । म गाँउ–समाजको मान्छेले जे भनेपनि पढाई छाडदिनँ । राम्रोसंग पढ्ने हो । शायद अब यतै काठमाडांै बसेर पढछु ।”