काठमाडौं । क्रिप्टो कारोबार गरेको आशंकामा पक्राउ गरी मुद्दा चलाएका व्यवसायी अमित श्रेष्ठले क्रिप्टो कारोबार गरेको तथ्य नभेटिएको प्रहरीकै रिपोर्टले देखाएको छ ।
प्रहरीको डिजिटल फरेन्सिक ल्यावले साउन ५ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पठाएको पत्रमा श्रेष्ठको ल्यापटप परीक्षणका क्रममा उनले क्रिप्टो करेन्सी सम्बन्धी एप्लिकेसन, सफ्टवेयर तथा वालेट इन्स्टल गरेको नदेखिएको उल्लेख छ ।
त्यस्तै, श्रेष्ठले चलाउने मोवाइल फोनसेटमा पनि क्रिप्टो सम्बन्धि कुनै पनि कारोबार नगरेको उल्लेख छ । उनीबाट बरामद भएका मोवाइल, ल्यापटप लगायतका डिभाइसहरु जाँचका लागि फरेन्सिक ल्यावमा पठाइएको थियो ।
फरेन्सिक ल्यावले बरामद भएका ती डिभाइसहरुबाट क्रिप्टो करेन्सीको कारोबार हुने तथ्य फेला परेको भन्दै प्रहरी स्रोतलाई नै हवला दिएर विभिन्न सञ्चारमाध्यमहरुमा गोयवल्स शैलीमा समाचार प्रशारण भएका थिए । तर, फरेन्सिक ल्यावको रिपोर्टमा क्रिप्टो करेन्सी सम्बन्धि कारोबार गरेको नदेखिएको उल्लेख छ ।
जसका कारण श्रेष्ठलाई पक्राउ गरी मुद्दा चलाइएको प्रकरण नै शंकाको घेरामा परेको छ भने प्रहरी अनुसन्धानमाथि पनि प्रश्नचिन्ह उठेको छ । श्रेष्ठ अहिले पूर्पक्षका लागि थुनामा छन् । उच्च प्रहरी अधिकारीसँग श्रेष्ठको सम्बन्ध रहेको छ ।
केही वर्षअघि श्रेष्ठसँग जोडिएकी एक महिला ठगी सम्बन्धी कसुरमा पक्राउ परेपछि श्रेष्ठ प्रहरीमा झनै चर्चामा आए । त्यस्तै ती महिलालाई पनि एक विचौलियाले प्रहरीका उच्च हाकिमहरुसँग भेटाउँदै आएका छन् ।
त्यसो त श्रेष्ठको चिनजानका पुराना साथी हुन्, प्रविन शाक्य नामका एक व्यवसायी । शाक्यले नै भैरहवामा रहेको ह्वाइट लोटस नामको होटल मोटो कमिसन लिएर श्रेष्ठलाई किनाएको श्रेष्ठ निकट स्रोत बताउँछ । शाक्यकै समूह र ती महिलाको गलत सूचना तथा प्रभावमा परेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरी मुद्दा चलाएको प्रहरी स्रोत नै दावी गर्छ ।
उनको सम्पत्तिलाई कौडीको भाउमा हडप्नका लागि अहिले प्रहरीदेखि अदालतसम्मलाई यहि समूहले दुरुपयोग गरेको आरोप लागिरहेको छ । श्रेष्ठलाई पक्राउ गरी शुरुमा अभद्र व्यवहारमा म्याद थप्नु, त्यसपछि क्रिप्टो कारोबारको आरोपमा बद्नाम गराउनु र अन्तिममा बैंक तथा वित्तिय अपराधमा म्याद थप गरी राष्ट्र बैंक ऐन अन्तर्गत मुद्दा दायर गरिनु पनि प्रहरीमाथि शंका गर्ने प्रशस्त आधार हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत असार २९ गते उनको घर पानीपोखरमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको थियो ।