सञ्चालनमा आएको केही वर्षमै ग्यालेक्सी टेलिभिजन छाड्नेको लाइन् !

दियो पोस्ट  

काठमाडौं । ‘अवैध नेटेवर्किङ व्यावसायी’ गितेन्द्र बाबु राईद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजन छाड्नेको लाइन देखिएको छ । पछिल्लो केही महिनामै टेलिभिजनमा कार्यरत ठूला हस्ती सञ्चारकर्मीले छाडेर अन्यत्र गएका छन् । कतिपय टेलिभिजन छाडेर राजनीतिमा आएका छन् । छोटो समयमै चर्चित टेलिभिजन प्रस्तोता बनेका रवी लामिछानेले टेलिभिजन छाडेर राजनीतिक यात्रा तय गरेका छन् ।

केही महिना अघि उनले टेलिभिजन छाडेका हुन् । उनीसँगै दिपक बोहराले पनि टेलिभिजन छाडेर रवीसँगै राजनीतिमा होमिएका छन् । त्यस्तै टेलिभिजनको सम्पादकीय नेतृत्वमा रहेका प्रमोद न्यौपानेले पनि छोटो समयमै ग्यालेक्सी टेलिभिजन छाडेर हिमालय टेलिभिजन प्रवेश गरेका छन् । उनलाई हिमालय टेलिभिजनको सम्पादक पदमा नियुक्त गरिएको छ ।

स्रोतका अनुसार टेलिभिजन पछिल्लो समय समस्याग्रस्त बनेको छ । समस्याग्रस्त बनेपछि गोरखापत्रका पूर्व विज्ञ सल्लाहकार टिकाराम राईलाई भित्र्याइएको छ । उनलाई सिइओ बनाएर भित्र्याइएको केहीदिनमै न्यौपानेले हिमालय टेलिभिजनको सम्पादकको जिम्मेवारी पाएका छन् ।

गत वर्ष फागुनमा एक तारे होटलमा भव्य समारोहबीच सार्वजनिक भएको ग्यालेक्सी फोरके टेलिभिजनमा शुरुमा संचारकर्मीहरु आकर्षित भएका थिए । रवी लामिछानेलाई म्यानेजिङ डाइरेक्टरको रुपमा पाएपछि समेत व्यवस्थापन पक्ष उत्साहित बनेको थियो । तर, सोचे जस्तो आम्दानी नभएपछि लामिछानेबाट समेत पछिल्लो समय व्यवस्थापन पक्ष समेत सन्तुष्ट हुन सकेका थिएन । ‘रवीजीले राजनीतिमा लाग्नु असामान्य घटना जस्तो देखिएपनि त्यो स्वभाविक थियो । उहाँको सम्मानजनक बहिगर्मन भन्दा पनि हुन्छ,’ उच्च तहका एक कर्मचारीले नाम नबताउने शर्तमा भने,‘यसले हाम्रो टेलिभिजनको व्यावसायीक जीवनमा परिवर्तन ल्याउने हामीले अपेक्षा गरेका छौँ । जनशक्ति र उनीहरुको पारिश्रमिकको तालमेल पनि मिलेको थिएन ।’