[अन्तर्वार्ता] ‘कुरौटे बानी बतौरे स्वभाव केपी ओलीमा पहिल्यै देखि छ र त्यही उहाँको कडी हो’

diyopost.com
फूलमती
  बिहिबार, भाद्र ०२, २०७९ | २१:४०:२६

 

तपाईंको बुझाइमा झापा आन्दोलन के थियो ?

झापा आन्दोलन जुन बेला हामीले शुरु गरेका थियौं त्यो एउटा कम्युनिष्ट आन्दोलन थियो । एकातर्फ पञ्चायती शासन थियो र अर्को तर्फ काँग्रेसले पनि केही गर्न नसकिरहेको स्थिति । काँग्रेसले पनि पञ्चायतलाई गिराउन नसकेको देखेपछि हामी झापाका केही युवाहरुमा आक्रोश उत्पन्न भयो । हाम्रो सिनियर चाहिँ मोहन चन्द्र अधिकारी हुनुहुन्थ्यो । उमेर र राजनीतिक विचार दुवैले उहाँ सिनियर हुनुहुन्थ्यो । हामी पूर्वकोशी प्रान्तीय कमिटी मनमोहनजीको नेतृत्वको जुन पार्टी थियो त्यसका कार्यकर्ता थियौं । पूर्वकोशीबाट विद्रोह गरेर हामी झापामा नयाँ संगठन शुरु गर्न थाल्यौं । त्यो नयाँ संगठन शुरु गरेर हामीले हिंसात्मक गतिविधि शुरु गर्र्योेैं । त्यो हिंसात्मक गतिविधिले देशमा कम्युनिष्ट आन्दोलनको नयाँ धार शुरु गर्योे । त्यसपछि त्यो नेकपा एमाले भयो ।

]

त्यसो भए झापा आन्दोलन सामन्त काट्ने वा हटाउने एउटा अभियान मात्रै नभएर राजनीतिक आन्दोलन नै थियो ?

हो, झापा आन्दोलन सामन्तहरुलाई हटाउने मात्रै नभएर एउटा राजनीतिक आन्दोलन थियो । यो कम्युनिष्ट पार्टीले शुरु गरेको किसान आन्दोलन अथवा राजनीतिक आन्दोलन नै थियो । झापा आन्दोलन पछि गएर नेकपा माले हुँदै नेकपा एमालेमा पुग्योे । त्यो संगै अर्को धार चौथो महाधिवेशन भनेर मोहन विक्रमको धार अगाडि आयो । यी दुई वटा धार कम्युनिष्ट पार्टीका सशक्त धार र काँग्रेस समेत मिलेपछि ४६ सालमा पञ्चायत गिर्ने स्थितिमा पुग्योे । भलै त्यो पञ्चायत जाने बेलाको संयुक्त जनआन्दोलनमा चौथो धार अलगै थियो । पछि गएर त्यही धार माओवादी भयो । चौथो महाधिवेशनदेखि बाहेकका धार वाममोर्चा निर्माण भएर काँग्रेससंग सहकार्य गरेर पञ्चायत त विघटन गरियो । मेरो मूल्यांकनमा अहिले पनि त्यहाँको हिंसात्मक गतिविधिलाई डेमोक्रेटले नराम्रो मानेपनि त्यसले कम्युनिष्ट आन्दोलनलाई मात्रै नभएर डेमोक्रेटहरुलाई धेरै सहज बनाएको थियो । त्यति बेलाको नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नै ४६ सालको आन्दोलन भयो र पञ्चायत ढल्यो । त्यसकारण अहिले पनि झापा आन्दोलनलाई सम्झदा म सकरात्मक रुपको राजनीतिक आन्दोलन नै भन्छु ।

त्यो आन्दोलनले समाजमा कस्तो प्रभाव पारेको थियो ?

झापाको समाज भन्ने हो भने, त्यहाँ जुन शोषण थियो, खासगरी मोहीयानी हक । जसले जमिन जोत्थ्यो उसको जमिनमा कुनै हक थिएन । असारमा आधा खेती गरेपछि यदि जग्गा मालिकको चित्त बुझेन भने निकालीन्थ्यो । त्यस्तो बेलामा राजा महेन्द्रले १९ सालमा भूमिसुधार लागु गरे । किसानहरुलाई मोहियानी हकको नाममा उनीहरुलाई जतिबेला पनि निकाल्न नपाउने र २५ प्रतिशत हक उनीहरुलाई दिनु पनि त्यतिबेलाको ठूलो आन्दोलन थियो । पछि गएर त्यो आन्दोलन विकृत भयो । झापामा आन्दोलन हुँदा जो–जो किसानको नाममा मोहियानी थियो, पछि भूमिपति र प्रशासन मिलेर उनीहरुलाई लखेटेर पठाउने र पछि जग्गा भूमिपतिले आफ्नो हातमा ल्याउने काम भयो । र त्यहाँ पहिलेभन्दा पनि बढी किसानहरुमाथि शोषण भयो । त्यतिबेला गरिबी झन् चर्कीएको थियो । त्यसपछि हाम्रो झापा आन्दोलनले खास–खास मान्छेहरुमा टार्गेट गरेर हमला गर्यो । तल्लो वर्गको मान्छे त्यसपछि खुशी भयो । आर्थिक रुपान्तरण गर्ने काम त आन्दोलनले गरेन । हामीमाथि ठगी गर्नेहरुलाई कारबाही हुने रहेछ भन्ने सन्देश जनतामा गएको थियो । राजनीतिक रुपमा राम्रो प्रभाव पारेको थियो । त्यही प्रभावले पछि गएर मालेको संगठन लामो समय लगाएर बन्यो । हामीले एक–एक मान्छे चुनेर, धेरै मेहिनेत गरेर संगठन बनाएका थियौं । त्यसकारण पार्टी अहिले पनि ओलीको नेतृत्वको नेकपा एमालेको तल ठूलो संख्या छ । त्यसले एउटा सकारात्मक काम गरेको छ । त्यसकारण झापा आन्दोलनले सांगठनिक रुपमा राम्रो काम गर्यो, जनताको सोचमा राम्रो काम गर्यो र डेमोक्रेटिक मुमेन्टका लागि सहजता प्रदान गर्न पनि राम्रो काम गर्यो ।

झापा आन्दोलन भएको यति लामो समय बितिसक्यो । के तपाईंहरुले त्यतिबेला उठाएका एजेण्डाहरु पूरा भइसकेका छन् त ?

यो राम्रो प्रश्न उठाउनु भयो । सबैभन्दा दुखको कुरा यही हो । त्यतिबेला झापा आन्दोलन जुन परिकल्पना सहित गरिएको थियो त्यो पूरा भएको छैन ।

अनि ती परिकल्पनाहरु पूरा गर्नु पर्ने होइन् त ?

पूरा गर्नुपर्ने हो तर गुटहरु बनाउने देखि लिएर विभिन्न षडयन्त्र गर्नेहरुले गर्दा पूरा हुन् सकेन ।

त्यो जिम्मेवारी त तपाईंको पनि थियो नि, होइन र ?

हामीलाई त काम गर्न नै दिइएन नि, विभिन्न दाउपेच गरेर पाखा लगाउने काम भयो ।

 

अब अहिले झापा आन्दोलनदेखि यहाँसम्म आइपुग्दा ओलीजीको नेतृत्वको नेकपा बनेर माओवादीसंग समेत जोडिएर दुईतिहाइको सरकार समेत बन्यो । त्यतिबेला सम्म झापा आन्दोलनको जुन उचाइ थियो, त्यो उचाइलाई देशका आम मान्छेले ६५ प्रतिशत भन्दा बढी मत वामलाई दिएका थिए । अब त्यसपछि जनताले एक स्थायित्वको सरकार आउँछ र दोस्रो देशको गरिबी हटाउँछ भन्ने सोचेका थिए तर केपी ओलीको सरकारले यो काम गरेन । नेपालको कम्युनिष्ट आन्दोलन झापा आन्दोलन र माओवादी आन्दोलनले जे गर्छ भनिएको थियो त्यो दुईतिहाई सरकार बनेर पनि गरेन । अब जे आकांक्षा राखेर हामीले आन्दोलन गरेका थियौं त्यो भएन । पछि गएर त्यहाँ विभिन्न किसिमका दाउपेचहरु हुन् थाले । दाउपेच शुरु भएपछि नेकपा मालेमा नै विभिन्न गुटहरु बन्न थाले । ती गुटहरु बन्दै गएपछि पुराना साथीहरुलाई हटाउदै नयाँ ल्याउने काम भयो । अब ओली जुनियर नै हुन् तर उनलाई हायर गरियो । हामी जस्तो सिपी मैनाली मोहन चन्द्र अधिकारीहरुलाई पलायन बनाए, लखेटे । लखेटिदै गएपछि नेतृत्वमा ओली आए, दुई तिहाइको सरकार बनाए । त्यसले न जनताको आर्थिक स्थितिमा सुधार ल्यायो न त सरकार टिक्यो । केही पनि काम नभएपछि हामीले जे सोचेर आन्दोलन गरेका थियौं त्यो फेल भयो । हामी असफल भयौं । अब हिजो आन्दोलन गरेर आएकाहरुले फेरि सत्ता सम्हाल्दा केही गर्लान भन्ने आशा जनतामा छैन । झापा आन्दोलनले जे–जे माग गरेको थियो त्यो अब अहिले नेतृत्वमा भएकाले पूरा गर्न सक्दैनन् । मलाई त लाग्छ, अहिलेको वाम युवा पुस्ताले विद्रोह गरेर नयाँ पार्टीको स्वरुप बनाएर नेतृत्व नगर्ने हो भने यही लिडरसिपले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सक्दैनन् । अहिलेको युवाले केही गर्यो भने हिजोका शहिदहरुको रगतको सम्मान होला नत्र उनीहरुको सपना पनि यिनीहरुले पूरा गर्न सक्दैनन् । नेतृत्वमा अहिले ५–७ जनाको जुन हाली मुहाली छ तिनीहरुको नेतृत्व र आसेपासेहरुले देशमा कुनै रुपान्तरण गर्दैनन् र हिजोको आन्दोलनको आवश्यकता पूरा गर्न सक्दैनन् । यो निकै दुःख लाग्दो र लाक्षी कुरा भयो । अब हिजो आन्दोलनको नेतृत्व गरेका हामीहरुका पनि धेरै गल्तीहरु भए । हामीले सत्ताका दुष्ट आंकक्षाहरु बुझ्न सकेनौं । देश अहिले संकटमा पुग्योे र कम्युनिष्ट आन्दोलन धरासयी अवस्थामा पुग्योे ।

झापा आन्दोलनमा पूर्व प्रधानमन्त्री केपी ओलीको भूमिका के थियो ?

उनको भूमिका नै थिएन भन्न त मिल्दैन । त्यतिबेला उनी जुनियर भूमिकामा थिए । उनी लिडरसिपको भूमिकामा होइनन् । ३–४ महिना सचिव बने । त्यो सचिव बन्दा पनि भूमिका निर्वाह गरेका थिएनन् । सारमा भन्दा झापा आन्दोलनको जुनियर कार्यकर्ता हुन् उनी । सरकारले जो–जो भेटिन्छन् सबैलाई कारागरमा राख्यो र उनी पनि परे । लामो समय उहाँ जेलमा त बस्नुभयो तर त्यो पोलिटिकल बाटो अथवा थिममा उनी बसेनन् । उनी दोस्रो तेस्रो पिँढीको कार्यकर्ता हुन् । बहुदल आएपछि सत्तामा कसरी जाने भनेर पार्टीमा विभिन्न गुट बन्ने र दाउपेच शुरु भयो । त्यो ग्रुपिजममा कसले कसलाई हटाउने भनेर खेल हुन थाल्यो । पुराना सिनियरलाई हटाउने भएपछि मात्रै जुनियरको पालो आउने भयो । अनि अनेक दाउपेच गरेर जु्नियरले सिनियरलाई हटाउने काम भयो । त्यसपछि आँफू सिनियर हुन पाइने भयो । त्यही खेलमा ओली लागे र अगाडि आए । हिजोको झापा आन्दोलनको पृष्ठभुमिमा ओलीको कुनै भूमिका थिएन र अहिले पनि ओलीको कुनै भूमिका होइन ।

त्यतिबेला आन्दोलनमा धर्मप्रसाद ढकालको हत्या भएको थियो, त्यो पार्टी योजनामा नै भएको हो या त व्यक्तिगत रिसीइवी थियो ?

होइन–होइन । त्यतिबेला हामीले जमिनदारहरु माथि आक्रमण गर्ने योजना नै बनाएका थियौं । पार्टी भित्र त्यतिबेला एउटा विद्रोही टिम थियो । त्यसको पोलीसीमा हामीले स–साना कमिटी बनाएर गाँउ–गाँउमा आफ्ना प्रतिपक्षीहरुलाई आक्रमण गर्ने योजना बनाएको सत्य नै हो । कुनै व्यक्तिगत रिसीइवी होइन् । किसान माथिको अन्याय र किसानहरुको आक्रोशको कारण त्यतिबेला ७ जना जमिनदारहरु माथि हमला भएको हो र हत्या नै भएको थियो । त्यो विद्रोह भित्रकै पोलीसी थियो । ती पार्टीका नीति भित्रै भएका कामहरु थिए ।

बेला–बेलामा ढकाल मारिनुलाई केपी ओलीसँग जोडिन्छ, खासमा ओली र ढकालको सम्बन्ध के थियो ?

खासमा हाम्रो कसैको पनि ढकालसँग चिनजान नै थिएन । मेरो, सिपी मैनाली कसैको चिनजान थिएन् । ओलीको त झन् चिनजान हुने कुरै भएन । त्यतिबेलाका साथीहरुको कसैको पनि व्यक्तिगत रिसीइवीका कारण हमला भयो भन्ने कुरा सही होइन । पार्टीको नीति अनुसार भएको हो । अब त्यो नीति सही वा गलत त्यो त अर्को पाटो भयो । ओलीसँग अहिले मेरो विमति सहमती जे भएपनि यो उनले गरेका होइनन् । उनी त्यतिबेला झापामा नै थिएनन् । यो घटनाको बेलामा उनी भारतमा थिए ।

झापा आन्दोलनको बेला तपाईं कसरी गिरफ्तार पर्नु भयो ?
साउनको बेला थियो । हामी एउटा गाँउमा थियौं । त्यहाँबाट अर्को ठाँउमा जाने सिलसिलमा पुग्दा एकजना हामीसँगै जेल परेका गुप्तचर थिए । जेलबाट उनी सरकारलाई सघाउने भनेर छुटेका रहेछन् । उनको नाम गणेश खड्का थियो । उनीमाथि शंका गर्ने त्यस्तो कुरा त थिएन । उनको घरमा नै हामी बसेका थियौं । बिहान उनले प्रहरीलाई खबर गरेछन् । दिउँसो पानी परिरहेको थियो । पुलिस आयो र गिरफ्तार गर्यो । केपी ओली म भन्दा आठ नौ महिना पछि रौतहटमा गिरफ्तार परेका हुन् । झापामा होइन ।

तपाईं र केपी ओली लामो समयसम्म संगै जेलमा बस्नुभयो, जेल भित्र उहाँको गतिविधि कस्तो थियो ?

जेलमा उहाँ लामो बिरामी पर्नुभयो । १४ वर्ष जेलमा बसेको समय मध्य १२ वर्ष त उहाँ बिरामी भएर नै बित्यो । किनकि उहाँलाई अलसर, टिबी विभिन्न रोगहरु थिए । एक त जेलभित्र केही सक्रियता हुँदैन । त्यसैमाथि बिरामी भएपछि उहाँको त्यस्तो केही गतिविधि नै थिएन् ।

तपाईंसँगै जेल बसेका ओली मन्त्री तथा प्रधानमन्त्री समेत बन्नुभयो र उहाँ बिरामी पनि हुनुहुन्छ । उहाँ बिरामी हुनुलाई तपाईंले मदिरासंग पनि जोड्ने गर्नु भएको छ नी । खासमा यो के विषय हो ?

यो ठिकै भन्नुभयो । उहाँको अलिकति रंगरसमा रमाउने बानी र स्वभाव हो । उहाँले रातीमा पिउने अनि सरकारमा पुगेपछि हिवस्की पिउने लत बसाल्नु भयो । त्यसले पनि उहाँको मिर्गाैलामा असर पुग्योे । उहाँ बिहानै देखि पिएर बस्ने त होइन तर साँझमा उहाँले सधंै पिउन थाल्नुभयो । कमजोर शरीर त्यसपछि अल्कोहल धेरै पिउन थालेपछि त्यसले मिर्गाैलामा असर गर्यो र फेल भयो ।

कहिलेकाहीँ केपी ओली गणतन्त्रका लागि १४ वर्ष जेल बसें भन्नुहुन्छ, के उहाँ साँच्चै गणतन्त्रवादी हुनुहुन्थ्यो ?

झापा विद्रोहको बेला उहाँले गणतन्त्र ल्याउदिन भन्ने कुरा त थिएन । किनभने हामी सबैको सोच त गणतन्त्र ल्याउने नै थियो । उहाँले गणतन्त्र ल्याउदिन भनेको त मैले कतै सुनेको छैन । पछि सत्तामा आएपछिका दाउपेच अनेक खेलहरु त्यो त पछिको पाटो भयो । तर, आन्दोलन ताका बरु उहाँ प्यासिभ भएर चाँहि बस्नुहुन्थ्यो । अलि छट्टु, स्वभाव पनि हो । आँफू जसरी हुन्छ सत्ताको मारबाट जोगिन पनि प्रयास गर्नुहुन्थ्यो । किनभने झापामा आन्दोलन चर्कीदा उनी भारत गएर बसे । अरु सबै झापामा पक्राउ परे, मारिए तर उहाँ त्यो भीडभाडमा हुनुहुन्नथ्यो । आफ्नो जिउ बचाउने र महत्वकाङक्षालाई अगाडि सार्ने उहाँको पहिलैदेखिको स्वभाव हो । सत्तामा बहुदल आएपछि त झन् उहाँको स्वभाव भिन्न भयो । गणतन्त्र ल्याउन र ४६ सालको आन्दोलनमा पनि उहाँ सक्रिय होइन । शायद त्यतिबेला उहाँ बुटवलमा हुनुहुन्थ्यो । उहाँ आन्दोलनको विरोधी होइन र निर्णायक भूमिकामा पनि होइन । ६३ को आन्दोलनमा पनि उहाँ बयलगाडामा चढेर अमेरिका पुगिदैन भन्ने नारा लगाएर आन्दोलनमा देखा पर्नुभयो । आन्दोलनको हिसाबले उहाँको अगुवा भूमिका कहिल्यै रहेन । उहाँको चर्का कुरा गर्ने, उखान टुक्का हान्ने विशेषता नै हो । कुरौटे बानी बतौरे स्वभाव उहाँमा पहिल्यै देखि छ र त्यही उहाँको कडी हो । अहिलेसम्म उहाँ चर्चामा हुनु नै त्यही बतौरे बानीको कारण नै हो ।

आन्दोलनको हिसाबले कुरा गर्दा उहाँले यो तहको जिम्मेवारी पाउने ठाँउको मान्छे नै होइन । पार्टी भित्र गुटहरु चलिरहँदा माधवहरुले ओलीलाई च्यापेर अरुलाई लखेट्ने काम गरे । सिपी र आर के दाजुभाइ हुन्, यिनीहरु एकैठाँउमा जान्छन् भन्ने अर्थमा हामी दुइवटालाई नै लखेट्ने काममा लागे । ओली पनि त्यसमा मिसिए । माधवहरुले नै त्यो जुनियर भूमिकमा भएका ओलीलाई च्यापेर माथि ल्याएका हुन् । हाम्रो विरुद्ध ओलीलाई प्रयोग गरेर, ओली मेरो गोजीको मान्छे बन्छ भन्ने जुन सोच माधवको थियो त्यसको उल्टो भयो । ओलीलाई लिएर आएपछि ओलीले नै हिर्काए । हिजो सिपी र मलाई लखेट्न जे भूमिका माधवले खेलेका थिए, त्यसैको परिणाम उनले अहिले भोगिरहेका छन् । ओली र माधव दुवै मेरो नजरमा बेइमान र महत्वकांक्षी मान्छे हुन् । राजनीतिमा इमान्दार मान्छे यी दुवै होइनन् । कम्युनिष्ट आनदोलनको माथि पुगेपछि पनि माधव र ओली दुवैले प्रगति गरेनन् । यिनीहरु आन्दोलन प्रतिका पनि बेइमानी हुन् । माधव र ओली दुवै बृद्ध भइसके अझै यिनीहरुलाई सरकार चाहिएको छ । पार्टी बनाउने भन्दा पनि सरकारमा कसरी जाने भन्ने चिन्ता दुवैमा देखिन्छ । पार्टी र आन्दोलनसंग कुनै सरकोर छैन । यिनले आन्दोलन पनि बिथोले र पाटी पनि तहसनहस बनाए ।

तपाईं र ओलीबीचको सम्बन्ध कस्तो थियो र अहिले कस्तो छ ?

आरकेले पाटी छाड्यो भन्ने भ्रम ओलीले चलाएका छन् । वास्तवमा त्यस्तो होइन । पहिला पनि ५८ सालमा उनीहरुले मलाई निकालेका हुन् । पछि पाटी अध्यक्ष भएपछि जाऊ भनेर उनले मलाई केन्द्रीय समितिमा राखे । मेरो माग स्थायी कमिटीको थियो । ओली र प्रचण्ड मिलेपछि मलाई केन्द्रीय कमिटीबाट हटाइयो । र मैले छोडेको होइन्, उनले आफैं हटाएका हुन् । आरकेले पार्टी छाड्यो भनेर ओली पक्षले चर्चा गरेको मैले थाहा पाएको थिएँ । त्यतिखेर पनि म त्यान्द्रो भएर बसिरहेको थिएँ नि । माओवादी र एमाले मिलेपछि मलाई हटाए । त्यसपछि साधारण सदस्यमा ओलीको खेतालो बनेर बस्ने रहर भएन त्यहाँबाट म निस्केर बसेँ । अहिले लिखित रुपमा छोडेको भनेको छैन, तर कोहीसंग मेरो केही सम्बन्ध पनि छैन । त्यसपछि हाम्रो सम्पर्क छैन । उनले मलाई फोन गर्दैनन् र म पनि गर्दिन । व्यक्तिगत रुपमा रिसराग पनि होइन । जे हो सबै राजनीतिक कुरा हो । व्यक्तिगत रुपमा त मलाई ओलीको माया लाग्छ । जेलमा मैले उनलाई साथ दिएर ल्याएको साथी हो । व्यक्तिगत रुपमा आपत्ति होइन् तर राजनीतिक रुपमा उनी बेइमान भए, स्वार्थी भए ।

 

तपाईंहरु व्यवस्था परिवर्तन गर्न सँगै हिड्नु भयो, केपी ओली २ पटक प्रधानमन्त्री हुनुभयो, तपाईंहरुले परिकल्पना गरेको एजेण्डा लागु गराउनका लागि ओली सरकारको नेतृत्वले केही छनक दियो त ?

केही–केही ठाँउमा पुलहरु बनाउने काम त उनले गरे तर जे गर्नुपर्ने हो त्यो उनले गरेनन् । जति गर्नुपर्ने हो त्यो भन्दा उनले गफ बढी गरे । चीनबाट ल्याउने भारतबाट ल्याउने घरघरमा ग्याँस पुर्याउने, पानी जहाज ल्याउने जस्ता कुराहरु गरे तर काम केही गरेनन् । आफ्नो निर्वाचन क्षेत्रमा टावर बनाउने, अरबौं खर्च गर्ने काम गरे । त्यसको सट्टामा त्यहाँ अस्पताल बनाएको भए मेचीकोशीका मान्छेहरुलाई उपचारको लागि सहजता हुन्थ्यो । तर उनले केपी ओली जिन्दावाद, केपी ओली लब यु भन्दै बाजा बजाउने र वाहवाही गर्दै चर्चामा आउने मात्रै काम गरे । मेरो नाममा बाजा कसरी बजाउने भन्ने मात्रै चिन्ता उहाँलाई छ । आफ्नो जन्मथलोमा पहाडमा गएर ५० लाख भन्दा बढी सरकारी पैसा खर्च गरे । खै कसरी–कसरी जग्गा खरिद गरेर सिटिभिटी बनाएर वाहवाही कमाउन मात्रै खोजे । अझै लामो समय उहाँ सरकारमा बसेको भए उहाँले राजाको शैलीमा आफ्ना स्टयाचु बनाएर बस्ने काम गर्नुहुन्थ्यो होला । व्यक्तिगत स्वार्थ उहाँमा बढदै गएको छ । आम जनताको समस्या हल गर्ने त परै जाओस् देशमा कति बेरोजगार र गरिबी छ भन्ने तथ्यांक पनि उहाँलाई थाहा छैन । दैनिक ज्यालादारीमा काम गर्ने मान्छे कति छन्, लकडाउनमा सडकमा आएर मागेर खान बाध्य कति मान्छे थिए, उनीहरुको तथ्यांक निकालेर परिचयपत्र मात्रै दिएको भएपनि एउटा राम्रो काम हुन्थ्यो । त्यसपछि उनीहरुको व्यवस्थापन कसरी गर्ने योजना बन्थ्यो । उहाँले देशको निम्ति र आम सर्वहारा वर्गका निम्ति केही काम गर्नु भएन । आफ्नो स्वार्थको लागि पार्टी फुटाउने, संसद विघटन गर्ने र अन्त्यमा आफैँ बाहिरिने काम उहाँले गर्नुभयो । अब सबै कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउन खोज्ने हो भने ओलीले १५ दिनमा सक्नुहुन्छ ।

तर त्यसको लागि उहाँले दुइवटा काम गर्नुपर्छ । एक–हिजोका सबै गल्तीहरु स्विकार्ने, दुई– सबैलाई एकै ठाँउमा ल्याउने । माधव नेपाल र प्रचण्डले पनि गल्ती महशुस गर्ने र एकै ठाँउमा सबै आउने हो भने वाम एकता हुन्छ । तर, यो सबले हुने त केही होइन तर धेरै फरक पर्थ्यो । मेरो व्यक्तिगत शुभकामना त ओलीले अब बुद्धि पुराए हुन्थ्यो । दुई तिहाईको सरकार हुँदा उनले पार्टीमा जे विग्रह ल्याएर पार्टी फूटाए, उनले नै बनाएको संविधान मिचेर दुई–दुई पटक संसद कसरी भङ गरे अनि अदालतले उनलाई टिपेर कसरी फालिदियो, यो सबै जे–जे गल्ती उनले गरे त्यो महशुस गर्ने हो भने नयाँ ठाँउमा जान सकिन्थ्यो । बिग्रेको कम्युनिष्ट आन्दोलनमा नयाँ तरङ्ग आउथ्यो तर त्यो गल्ती महशुस गर्ने छाँट पनि उनीमा देखिँदैन । उनी त आफूलाई नेपालको कार्ल माक्र्स म नै हो भन्ने ठान्छन् । कम्युनिष्ट आन्दोलनको ब्रम्हा म नै हो भन्ने भ्रम उनीमा छ । जति पनि उनले गरेका छन् , गल्ती मात्रै गरेका छन् । अब अहिले चुनावको बेला आएको छ । उहाँलाई धेरै चिन्ता छ । कसरी राजा पक्षका मान्छे र अरु मान्छेहरुको भोट तान्ने भन्ने दाउपेच गरिरहेका छन् । यही खेल खेलेर उनी फेरि सत्तामा जाने र पैसा कमाउने खेलो मात्रै हो । वास्तवमा उनले कम्युनिष्ट आन्दोलनले गर्नुपर्ने केही काम पनि गरेनन् ।

झापा आन्दोलनदेखि एमालेको विभाजन हुँदै नेकपा निर्माण र विभाजनसम्मको श्रृङ्खलालाई कसरी बुझ्नु भएको छ ?

आन्दोलन गर्नुभन्दा आन्दोलन पछाडि नेतृत्वले सही नीति नियम समाएर अगाडि बढनु महत्वपूर्ण कुरा रहेछ । आन्दोलन त हामीले गर्यौँ। २००७ साल पछि धेरै आन्दोलनहरु पनि भए तर, त्यसलाई लागू गर्ने क्षेत्रमा र इमानदारपूर्वक जनताको बीचमा लिने क्षेत्रमा काम भएन र सबै आन्दोलनहरु असफल भए । नेताहरु १०–१० वर्षमा बिग्रन्छन् भने जस्तै भयो । कम्युनिष्ट आन्दोलन टुक्रा–टुक्रा भएर धरासयी अवस्थामा पुग्योे । यस्तो अवस्थामा उपलब्धि भन्दा पनि देशमा धेरै संकट पैदा भएको छ । राणशासन हुँदै गणतन्त्रसम्म आइपुग्दा गणतन्त्रले जनतालाई जे दिनुपर्ने हो त्यो दिन सकेन । त्यो दिन नसक्नुमा कम्युनिष्ट आन्दोलनको ठूलो भूमिका छ । गणतन्त्र भनेको झापा आन्दोलनको एजेण्डा थियो पछि गएर प्रचण्डले त्यो एजेण्डालाई माथि लिएर आए । त्यति गर्दा पनि जे प्रतिफल जनताले पाउनु पर्ने हो पाएका छैनन् र देश पनि ठूलो संकटको भुमरीमा छ । वैदेशिक नीतिको तहमा भन्ने हो भने त हामी अझै ठूलो संकटमा छौं । यहाँ अमेरिकी चलखेल पनि चर्को छ र त्यो बाट बच्न चीनले पनि हामी तिर नै आँखा गाडेको छ । भारतीयहरु पनि हाम्रो चुच्चे नक्सालाई आफ्नै हो भन्न तमतयार छन् । हाम्रो देशमा अहिले तीनवटा शक्तिशाली देशले गिद्धे नजर गाडेको छ । त्यसले गर्दा अब देशको विकास भन्दा पनि सार्वभौम माथिको संकट प्रमुख भएर अगाडि आयो ।

कम्युनिस्टहरु हिजो सरकार र सत्ता विरुद्ध संघर्ष गर्नका लागि एकता गर्थे तर, आज सत्तामा बस्नका लागि सौदा गर्ने र मिल्ने प्रचलन शुरु भएको छ । नेकपाको एकता र विभाजनले पनि त्यो पुष्टि गर्छ नि, होइन त ?

सारमा भन्ने हो भने कम्युनिष्टहरुको पछिल्लो काम नै एकता गर्ने विभाजन गर्ने भइरहेको छ । यी सबै सत्ता स्वार्थको लागि यस्तो गरेका हुन् । कम्युनिष्ट पार्टीका चार पाँच जना नेता अहिले सत्ता स्वार्थमा मग्न छन् । ओली, प्रचण्ड, झलनाथ, वामदेव र माधव यिनीहरु प्रतिस्पर्धा गरेर बसिरहेका छन् । सत्तामा जाने तर काम कसैले केही नगर्ने मात्रै भएको छ । उनीहरुलाई भ्रम छ, हामीले जस्तो अरुले गर्न सक्दैनन् । कुनै पनि भुतपूर्व प्रधानमन्त्री मैले काम कम गरँे, गल्ती गरँे भन्ने कुरा स्विकार गर्न तयार नै छैनन् । अहिले पनि त्यही सत्ताको खेलमा उनीहरुबीच टसल भइरहेको छ । यिनीहरु जुट्ने र फूट्ने भनेको सत्ताको स्वार्थको लागि नै हो । खासमा यिनीहरु जुटेर पनि देशले केही पाउने होइन, फूटेर पनि केही बिग्रने वाला त होइन । देश त संकटको संघारमा पुर्याएकै छन् ।

यो निकै अहम प्रश्न हो । झापा आन्दोलन देखि यहाँसम्म आइपुग्दा सारमा भन्ने हो भने नेताहरुमा राष्ट्रिय चिन्तन हरायो । नेताहरु स्वार्थी भए । त्यो स्वार्थ सत्तासंग जोडियो । र सत्तामा जाने पैसा कमाउने अनि चुनावमा जाने पैसा खर्च गर्ने यही प्रक्रियामा मात्रै उनीहरुको ध्यान गयोे । झापा आन्दोलनको एजेण्डामा काम गर्ने भन्दा सत्ताको लागि बिक्ने भएपछि सबथोक सकियो । यसको मुख्य कडी भनेको निजी स्वार्थले आन्दोलन र पार्टीलाई ध्वस्त बनायो ।

नेपालमा कम्युनिष्ट आन्दोलन असफल भयो, यो कहिल्यै सफल हुँदैन भनेर प्रतिपक्षले भनिरहेका छन् । के साँच्चै कम्युनिष्ट आन्दोलन फेल भएको नै हो त ?

अहिलेसम्म कम्युनिष्ट आन्दोलन सफल भएको छैन । हाम्रो वास्तविकता यही नै हो । भोली के हुन्छ थाहा छैन । तर आजसम्मको कुरा गर्ने हो भने असफल नै भयो । आन्दोलन सफल भएपनि नीति नियम लागू गर्ने ठाँउमा सबै फेल भयो । संसदीय रुपले हेर्दा त सफल देखिन्छ । केही प्रधानमन्त्री भएर झन बदनाम भए । तर सैद्धान्तिक हिसाबले जनताको जीवन स्तर सुधार्ने हिसाबले कम्युनिष्ट आन्दोलन असफल छ ।

संसद भन्दा बाहिर रहेका कम्युनिष्ट पार्टीलाई कसरी हेर्नु भएको छ ?

उहाँहरुलाई अब एकदलीय व्यवस्था ल्याउन सकिन्छ जस्तो लागिरहेको छ । ल्याउनै नसकिने त होइन तर कम्युनिष्ट नाम यति विकृत भयो कि ओली र प्रचण्डलाई नजोडी आम जनताले कम्युनिष्ट पार्टीलाई नै बुझ्दैनन् । आम मानिसले उनीहरुलाई अलग गरेर कम्युनिष्ट आन्दोलन नबुझने भएपछि वैद्यं लगायत अरुको आन्दोलन अब अगाडि जान सक्ने अवस्था छैन । प्रचण्ड र ओली बुख्याँचाको रुपमा अगाडि आएपछि बाहिरको कम्युनिष्ट आन्दोलनलाई जनताले नबुभ्mने भए । त्यसैलै बाहिरका कम्युनिष्ट पार्टीले नयाँ रुप लिन्छन् भन्ने मलाई लाग्दैन । उनीहरुमा पनि अलिकति फरक मत आयो कि फुटेर स–साना झुण्ड बन्छन् । यस्तो प्रवृतिले गर्दा उनीहरुले पनि कम्युनिष्ट आन्दोलनमा नयाँपन ल्याउलान जस्तो मलाई लाग्दैन । कम्युनिष्ट आन्दोलन उज्यालो तर्फ जाने भन्दा पनि अध्यारो तर्फ जाने प्रक्रिया मात्रै छ ।
कम्युनिष्ट आन्दोलन सकियो, नेताहरु बिग्रे भनेर बाहिर बसेर मात्रै त नहोला नि, अब को विकल्प के हो त्यो सोच्नु पर्दैन ?

अबको विकल्प कम्युनिष्ट आन्दोलनमा भएका गल्ती सुधारेर जाने हो । कि त नयाँ युवा पुस्ता, नयाँ दृष्टिकोणका साथ अगाडि जान सक्यो भने त्यसले नै कम्युनिष्ट आन्दोलन बचाउन सक्छ जस्तो लाग्छ ।

सुधार्ने भन्दा पनि कतिपय त यो व्यवस्था नै फेर्नुपर्छ भन्ने लाइनमा छन् नि त ।

त्यो त बुर्जुवा राजनीतिको अर्को पाटो हो । अहिले पुँजीवादी युग, कम्युनिष्ट आन्दोलन र नेपाली काँग्रेस सबै विकृत भएको छ । गणतन्त्रले देशमा केही दिने भन्दा पनि आर्थीक अस्थिरता ल्याउने, भ्रष्टचार गर्ने काम मात्रै गर्यो । विदेश नीति झन् डामाडोल भयो । चीन र अमेरिका नेपाललाई लिएर आमने–सामने नै छन् । एमसीसी पास गरेर भित्र्याइयो र अब एसपीपी भित्र्याउने चलखेल भइरहेको छ । अबको सरकार पनि काँग्रेसको नै भयो भने झन् ठूलो संकट आँउछ । यो संकटहरुका बिचमा गणतन्त्र जोखिममा छ । यसमा भारतको रोल अहिले केही छैन । भारतको बिजेपीलाई अहिले बोल्यो भने प्रोचाइनिज भो भन्ने खत्रा हुन्छ भनेर नबोलेको जस्तो देखिन्छ । भारतमा ३ वटा राष्ट्रवादी कुराले गाँजेको छ । त्यहाँ एन्टी चाइनिज हुनु, एन्टी मुसलिम हुनु र एन्टी पाकिस्तानी हुनु भनेको नै राष्ट्रवादी हुनु हो । त्यहाँ कोही प्रोचाइनिज, प्रोपाकिस्तानी हुनु भनेको सकिनु जस्तै हो । यो ३ वटा कुराले भारतको राजनीति चलेको छ । जसले गर्दा नेपालको बारेमा भारतले खासै भूमिका निभाउन सकेको छैन । अमेरिका नेपालमा आएको बिजिपीलाई मन त पर्दैन तर त्यसको विरोध गर्दा चीनको समर्थक भइन्छ भन्ने डरले बोल्न पनि सक्दैन । अहिलेको स्थिति यस्तै छ । यदि चाइना र अमेरिकाको स्थिति चर्कीदै गर्योे भने भारतले पनि आफ्नो धारणा प्रष्ट राख्नुपर्ने हुन्छ । त्यो प्रष्ट पार्ने स्थिति आँउदा भारतले अमेरिकाको साथ दिन नसेकामा यहाँ अर्को राजनीतिक हेराफेरी हुन सक्छ र यो व्यवस्था नै उड्न सक्ने खतरा छ । किनकी यो प्रणालीले नै देशमा खतरा ल्याएको छ । नेपाल भारत, चीन र अमेरिकाको लागि उत्तिकै महत्वपूर्ण छ । देशको स्थिति सुधार्ने कुरा त परको कुरा भयो, विदेश नीतिमा समेत न्युटल हुनुपर्ने अवस्था सिर्जना भएको छ । यो संकट अझै बढ्ने र नेताहरुको चेतना नआउने हो भने गणतन्त्र नै हट्न सक्छ । अर्को परिवर्तन आउन सक्छ तर त्यो परिवर्तन पछि के हुन्छ भन्ने कुरा अर्को भयो । हामी संकट र परिवर्तनको डिलमा उभिएका छौं ।

राधाकृष्ण मैनालीले राजासँग सौदाबाजी गरेर व्यक्तिगत सम्पत्ति जोड्यो भनिन्छ । जस्तो अहिले तपाईं बसिरहेको यो घर पनि तपाईंले राजनीतिक सौदामा प्राप्त गरेको भन्ने आरोप तपाईंकै समकक्षीहरुले लगाउने गरेका छन् नि ?

यो ५०० प्रतिशत झूठो आरोप हो । मेरो जति सम्पत्ति थियो त्यो सबै सकेर अहिले यहाँ बसिरहेको छु । न राजासंग मेरो आर्थीक कारोबार छ, न मैले राजाको पालामा मन्त्री हुँदा पाउने तलब भन्दा बढी लिएको नै छु । यो कुरा कि त नबुझेका मान्छेहरुले गरे कि त राजनीतिक अपराधी मानसिकता भएकाले यस्तो कुरा गरे । के–को सौदाबाजी गर्नु र ? राजाका कमी कमजोरीहरु बारे म बोलिरहेको हुन्छु । तर भोली यस्तै हो भने देशमा फेरि विकल्पको रुपमा राजा नआउने भन्ने पनि हुँदैन ।

राजा फेरि आउने सम्भावना देख्नुभएको छ ?

ठयाक्कै आँउछन् भन्न त म सक्दिन, तर यस्तै हो भने स्थिति यसको विकल्प के हो त ? मोटामोटी अहिलेको सिस्टमको विकल्प तीनवटा मात्रै हो । एक, सैनिक शासन त्यो मान्छे त्यति रुचाउँदैनन् र त्यो लामो समयसम्म टिक्दैन । दोस्रो, एकदलिय सिस्टम हो । अगाडि तपाईंले भनेको वैद्यजीको पाटो हो । त्यो पनि सहजै स्थापना हुँदैन । तेस्रो विकल्प त राजा नै हो । र अब यही तीनवटा विकल्प छन् । चौथो सजिलो विकल्प नेता सुध्रे भने हो तर त्यस्तो हुँदैन । त्यसैले राजा आउने नै सहज विकल्प देखिन्छ । किनकी विदेशीहरु पनि त्यो चाहन्छन् । राष्ट्रपति र प्रधानमन्त्रीहरु अडानमा बस्दैनन् । राजाहरु त पञ्चाशिल के–के भन्थे ति कुराहरुमा त टिकेका थिए नि तर अहिले नेताहरु त केही कुरामा टिक्दैनन् । राजाको कमिटमेन्ट अलि स्थिर हुन्छ भन्ने कुरा विदेशीले मान्दै आएका छन् । त्यसैले जे पनि हुन सक्छ । राजतन्त्रमा सबै राम्रो छ भन्ने कुरा त होइन । तर पनि उनीहरु राष्ट्रियताको विषयमा र अडानमा पक्का थिए । त्यसैले मेरो मूल्यांकनमा आउन सक्छन् कि भन्ने लागेको हो । कुनै स्रोतका अनुसार चाहिँ बोलेको होइन् ।

तपाईं अहिले राजनीतिक दलभन्दा बाहिर बस्नुभएको छ, यसैगरी तटस्थ बस्ने हो कि नयाँ केही सोच्दै हुनुहुन्छ ?

अब म यही सिस्टममा, यिनै नेताहरुका पछाडि, यिनैले छाडेका मान्छेहरु बटुलेर नयाँ टिम बनाउने त्यस्तो केही पनि सोचेको छैन । अब हेरौं के हुन्छ, अहिले हेरेर मात्रै बसेको छु ।

हुन्छ, म अब अन्तिम प्रश्न तर्फ जान्छु । अगाडि पनि कुरा त आइसकेको छ । लामो राजनीतिक जीवनमा धेरै नेताहरुको संगत गर्नुभयो । तपाईंको नजरमा हालका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, केपी ओली, शेरबहादुर देउवासम्म कस्ता नेता हुन् ?
समग्रमा भन्दा वाम आन्दोलनका कुनै नेताहरु पनि गतिला भएनन् । नाम तोक्नु नै पर्दैन । सत्तामा नपुगेका मोहन विक्रम सिंह बाहेक सबै आर्थीक घोटालाले भरिएका छन् । यसले सत्तामा गएर अब केही गर्छ भन्ने जस्तो कोहि पनि छैनन् ।

सम्बन्धित खबर