काठमाडौं । जनपथ तर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठनका प्रमुखहरुले संयुक्त रुपमा निर्देशन दिएका छन् । जनपथतर्फ नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले पहिलो पटक यसरी संयुक्त रुपमा निर्देशन दिएका हुन् ।
संयुक्त निर्देशन दिनका लागि नेपाल प्रहरीका प्रमुख धिरज प्रताप सिंह र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल क्रमश एक नम्बर प्रदेश र मधेश प्रदेश पुगेका थिए ।
कार्यक्रममा दुवै संगठनका अधिकृत कमाण्डरहरु सहभागी थिए ।
एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी सुदिप गिरीका अनुसार विराटनगरस्थित नेपाल प्रहरीको हलमा कार्यक्रम आयोजना गरिएको थियो । ‘कार्यक्रम निकै ऐतिहासिक र फलदायी भयो । दुवै संगठनका प्रमुख र प्रदेशस्थित प्रमुख सहभागी हुनु भएको थियो,’ उनले भने,‘मातहतका उपस्थित सबै कमाण्डर अधिकृतहरुलाई संयुक्त रुपमा निर्देशन प्राप्त भयो ।’
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी मशअुल आलम खाँका अनुसार दुवै संगठनका प्रमुखहरुले सिमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि प्रभावकारी काम गर्न निर्देशन दिएका थिए । ‘उहाँहरुले आगामी निर्वाचन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्देशन दिनु भयो,’ डिआइजी खाँले भने,‘निर्वाचन नजिकिँदै गर्दा सिमा नाकामा हुने अपराध नियन्त्रण गर्न दुवै संगठनका जिल्लास्तरका कमाण्डरहरुलाई निर्देशन छ ।’