धराने मेयरलाई शुभचिन्तकको पत्र : बालेनलाई उपदेश नदिनुहोस्

- योगेश्वर रोमखामी  

 

मेयर साब ।

तपाईलाई विवादित बनाउलान् की भनेर सुझाव स्वरूप यो पत्र लेख्ने विचार आयो । बल्ल बल्ल यौटा काम गर्ने नेता नेपालको धरान भनिने ठाउँले पायो र यो भविष्यमा नेपालीहरुकोलागि यौटा मार्गदर्शक उदाहरण बन्न सक्छ, अरु ठाउँकाहरुलेपनि अब काम गर्नका लागि बाध्य हुनु पर्ने दिन आउने छ जस्तो लागेको थियो । तर तपाईपनि अलि अलि मातिन लाग्नु भयो कि जसो लाग्यो, सामाजिक संजालमा तपाईलाई हेर्दा लागेको हो । सोझो काम गर्ने हर्केलाई फटाहाहरुले विवादित बनाई देला भन्ने पनि लाग्यो । त्यस कारण मेयर साबलाई बिनमागे मेरो सानो सुझाव दिन चाहन्छु ।

सत्तामा बस्दा वाहवाही र जयजयकार हुन्छ, तर मातिनु हुन्न । जति प्रसिद्ध हुँदै जानुहुन्छ, त्यतिनै विनम्र बन्नोस् । पक्कैपनि आफ्नो विवेक, रणनीति, र्इमान्दार छवि र संघर्षको बलबाट मेयर बन्नु भएको हो । विगतमा भ्रष्टाचार र वेथितिको खिलाप बोलेको र संघर्ष गरेको धराने जनताले देखेको बुझेको हुँदा तपाईंलाई विश्वास गरेर जिताएको हो । तपाईको जीतमा कुनै देशी वा विदेशी मालिकहरुको हात थिएन । कुनै व्यापारी वा जनताबाट लुटेको पैसाको लगानी पनि थिएन । तपाईलाई कुत्तोका खजानाको शिर्षकबाट लगानी थिएन नत युरो वा डलर आयो होला । तपाई एक्लै एउटा रिक्शामा हाथमा माईक लिएर आफ्नो विचार र योजना जनता माझ पुर्याउन सफल हुनुभयो । यी भ्रष्ट र कामनगर्ने, कुरा मात्र गर्ने तथाकथित नेताहरुको आचरणबाट वाक्कै भएर जनताले तपाईबाट केही हुन सक्छ कि भनेर मत दिएको हो ।

मेयरको पदभार ग्रहण गरिसकेपछि तपाईले अहिलेसम्म काम गरेर देखाएको पनि हो र धराने जनतालाई पनि सन्तोष भएको छ, यसपटक सही नेता छनौट गरेकोमा । देशैभरि तपाइंको तारिफ भएको छ । तर यो त मात्र शुरुवात हो । तपाईले आगामी पाच वर्षमा धेरै काम गरेर देखाउनु छ । काम चोर फटाहाहरुलाई लज्जाबोध गराउनु छ । आफुलाई साबित गर्नु छ, आफ्नो कामबाट । त्यो काम जसलाई अंग्रेजीमा ‘परफारमेन्स’ वा एक्सन भनिन्छ । त्यस कारण एक्सन मेन बन्ने हो कि कुरौटे नेता । कुरौटेहरुको कमी छैन, काम गर्नेहरुको कमी छ ।

काठमाण्डूको फोहोर देखेर व्यंग्य गर्नुभयो । सुतेकोलाई जगाउने प्रयास गर्नुभयो । साच्चीकै सुतेकोलाई पो जगाउन सकिन्छ । यिनीहरु त आँखा भएरपनि दृष्टिविहिन र कान भएरपनि नसुन्ने प्राणी हुन् । लाज शरम पचेकाहरुलाई के को उपदेश दिनु हुन्छ । मेरो घरमापनि प्लास्टिकको ठुल ठुला पोकोमा फोहोर जमा गरेको धेरै भईसक्यो । एक अनलाइन च्यानलसँगको अन्तर्वार्ताको क्रममा एकजना माताजीले नेपालमा हैजा आउँछ भनि भविष्य वाणी गर्नु भएको थियो । हालको अवस्था हेर्दा यो भविष्य वाणीचै सही साबित हुन्छ कि जसो लाग्यो ।

नेपालको सवै मन्त्री, प्रधानमन्त्री, बडामहारानी, नोकरशाहहरु बस्ने र हिड्ने काठमाण्डूको यो बेहाल भनि साध्य छैन । यो सफाईको जिम्मा मेयरको मात्रपनि होईन तर सवै भन्दा पैला काठमाण्डूको मेयरको जिम्मेवारी चै अवश्य हो । तपाईले जगाउनु खोज्नु भयो, मेयरलाई भन्दा अरुलाई पीर पर्यो । तपाई माथि खनिए यिनीहरु, तपाई पनि के कम, त्यसपछि दोहोरी अहिलेसम्म चली रहेको छ र संसद भवन भित्र पनि यसैको चर्चा चली रहेको छ भन्ने खबर बाहिर आयो । यस्तै गफ गर्ने ठाउँ बनेको छ नेपालको संसद ।

तपाई जती बोल्नु हुन्छ र स्पष्टीकरण दिनु हुन्छ, त्यतिनै तपाई विवादित बन्दै जानु हुन्छ । यहाँ नबुझेको वा नदेखेको कोहि होईन । जे जति बदमाशी वा लापरवाही, अपराध जेभनौ जानीजानी गरिदै छ । तपाईको जवाफ यिनीहरुलाई चाहिएको छैन । तपाईले आफ्नो कामबाट जवाफ दिने हो । तपाईसंग अहिले पद, शक्ति र जनताको साथ छ । धरानलाई नेपाल मात्र होईन, दक्षिण एशियाकै सवैभन्दा उत्कृष्ट, सफा र व्यवस्थित ठाउँमा रुपान्तरण गरेर देखाउनोस् । धरानलाई एउटा सुन्दर बगैचा बनाउनोस् । गफाडीहरुले काठमाण्डूलाई कहिले सिंगापुर त कहिले लण्डन बनाउने सपना बाँढे, तपाई धरानलाई मात्र अति सुन्दर धरान बनाउनोस्, यसरी जवाफ दिनोस् । आगामी पांच वर्ष भित्र धेरै काम गरेर देखाउन सक्नुहुन्छ । सामाजिक सन्जालमा कामको कुरा मात्र गर्नोस् ।

तपाईको कामबाट केही खुशी छन् भने धेरै आतिएका छन् । यिनीहरुलाई भयंकर डाहा – पीर परेको छ । आत्मग्लानी भई रहेको छ । यिनीहरुलाई जनताको अगाडी जान र अनुहार देखाउन पनि लाज लाग्ने दिन आउँछ । त्यो दिन ल्याएर देखाउनोस् । देशकोलागि केही गर्ने अवसर पाउनु भएको छ, यसको सदुपयोग गर्नुहोस्, इतिहास बनाउनुहोस्, आफुलाई खेर जाने काम नगर्न होस । तपाई बालेनलाई अर्ति उपदेश दिनेकाम नगर्नुहोस् । काम गरेनन् भने यी आफै खेर जाने छन । तपाई चै काम गर्नोस ।

Action speaks louder than voice

 

तपाईको शुभचिन्तक