माओवादीका २१ पदाधिकारीमा १ जना मात्रै महिला, दलितको सहभागीता शुन्य !

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पदाधिकारीको टुंगो लगाएको छ । अध्यक्षमा पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्ण बहादुर महरालाई चयन गरेको छ । त्यस्तै महासचिवमा देव गुरुङले बाजी मारेका छन् ।
उपमहासचिवहरु मात्रै ७ जनाको टिम तयार भएको छ । जसमा पहिलो वरियतामा वर्षमान पुन छन् । त्यस्तै जनार्दन शर्मा, पम्फा भुषाल, मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल उपहासचिव बनेका छन् । त्यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल लिलामणी पोखरेल, गणेश साह, हितमान शाक्य, हित राज पाण्डे, डिलाराम शर्मा र राम कार्की चयन भएका छन् । कोषाध्यक्षमा भने एक जना श्रीराम ढकाल मात्रै प्रस्ताव गरिएको छ ।
अध्यक्षसहित २१ जना पदाधिकारी चयन हुँदा एक जना मात्रै महिलाको नाम परेको छ । उपमहासचिवमा नाम लेखाउन सफल भएकी छिन् उर्जामन्त्री पम्फा भुषाल ।

समावेशीता र समानुपातिक सहभागीताको एजेण्डा उठाएर आएको माओवादीको पदाधिकारीमा एक जना मात्रै महिला छन् । त्यसो त दलितको सहभागीता शुन्य छ । पुरुषको मात्रै बर्चस्व रहेको पदाधिकारीबारे सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । पार्टीको हरेक कमिटीमा १५ प्रतिशत दलित सहभागीता सहभागिता गराउने निर्णय समेत गरेको माओवादीले २१ जनाको पदाधिकारीमा एक जना पनि दलितको नाम राख्न नसकेको आरोप छ ।

एक सञ्चारकर्मीले सामाजिक संजालको एउटा ग्रुप म्यासेजमा ‘माओवादीलाई भाले पार्टी बनाएकोमा बधाई छ’ भन्ने सन्देश पठाइदिएपछि चर्को बहस चलिरहेको छ । उक्त सन्देशलाई एक पूर्व सांसदले अर्थपूर्ण रहेको टिप्पणी गरेका छन् ।