कपिलवस्तुमा नक्कली स्वास्थ्यकर्मीको बिगबिगी, एक बालकको मृत्यु

कक्षा १० सम्म अध्ययन गरेका बालाले एक दशकदेखि स्वास्थ्यकर्मी बनेर उपचार गर्दै आएका थिए ।

दियो पोस्ट  

कपिलवस्तु । कपिलवस्तुमा स्वास्थ्यकर्मी हुँ भन्दै मेडिकल सञ्चालन गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–११ थुन्हियामा बिकास बाला नाम गरेका एक व्यक्ति एक दशकदेखि मेडिकल सञ्चालन गर्दै आएका थिए ।

उनी पश्चिम बंगालबाट औषधी पसल खोल्न अएका हुन् । कक्षा १० सम्म अध्ययन गरेका उनले स्वास्थ्यकर्मी बनेर उपचार गर्दैआएका थिए ।
बंगाली डाक्टर (भारतको पश्चिम बंगालबाट औषधी पसल खोल्न आएका नक्कली स्वास्थ्यकर्मी) बालालाई जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका लागि राखेको छ ।

बालाजस्ता नक्कली स्वास्थ्यकर्मीको कपिलवस्तुको मधेसी समुदायको बाहुल्यता रहेका बस्तीमा बिगबिगी छ । बालाले सञ्चालन गरेको क्लिनिकको दुई घरको छेउमा सन्तोषकुमार श्रीवास्तबको मेडिकल छ । जिल्लाको महाराजगन्ज नगरपालिकासँग जोडिएको भारतीय कोटिया बस्तीका हुन् । जीव विज्ञान विषयमा प्रमाणपत्र तह (आई एस्सी) मात्र उनले उत्तीर्ण गरेका छन् ।

तर उनले लामो समयदेखि निर्धक्कसँग बिरामी जाच्दै आएका छन् । अनुगमन टोली आएको थाहा पाएपछि उनी मेडिकल बन्द गरी भागेका थिए । नक्कली स्वास्थ्यकर्मीले उपचार गर्दा एक बालकको मृत्यु भएपछि जिल्लाको टोली मेडिकल अनुमगनका क्रममा निस्किएको हो ।
गत शनिवार शुद्धोधन गाउँपालिका – ५ का १४ वर्षिय बालक दुर्गेश राजभरको उपचारको क्रममा निधन भएको थियो ।

राजभरको कान दुखेपछि उपचारका लागि शाहनी मेडिकलमा पुगेका थिए। उपचारका क्रममा अवस्था जटिल भएपछि थप उपचारका लागि कपिलवस्तु अस्पताल लागिएको थियो ।

उपचार गर्नेक्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीले सो घटनामा मेडिकल सञ्चालक अमरेस मल्लाहलाई प्रकाउ गरी अनुसन्धान गरिरहेको छ । राजभरको उपचार गर्ने स्वास्थ्यकर्मी नक्कली रहेको स्थानीयको दाबी छ । किशोरको मृत्यु पछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय कपिलवस्तुले मेडिकलको अनुगमन गरिरहेका छन् ।

सिफारिस