मिटरब्याजी विरुद्ध आइजी सिंह आक्रमक : धमाधम पक्राउ पर्न थाले अभियुक्त !

दियो पोस्ट  

काठमाडौं । मिटरब्याज लगाएर सर्वसाधरणलाई दुख दिने र आपराधिक लाभ लिने गिरोह विरुद्ध प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह आक्रमक बनेका छन् । उनले मातहतका अधिकारीलाई मिटरब्याज लिने र सर्वसाधरणलाई दुख हैरानी दिनेहरुलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

‘समाजमा विद्यमान विभिन्न अपराध मध्ये मिटरब्याज पनि एउटा डरलाग्दो रुपमा देखा पर्न थालेको छ । यसलाई नियन्त्रण गरि सर्वसाधरणको शान्तिपूर्ण रुपमा बाँच्न पाउने हक सुरक्षित गर्न प्रहरी महानिरिक्षकज्युको विशेष आदेश छ,’ एक प्रहरी अधिकारीले भने,‘जतिसुकै शक्तिशाली किन नहोस् पक्राउ गरेर भित्र हाल्नु र मुद्दा लगाउनु भन्ने उहाँको आदेश छ । आदेश अनुसार हामीले अपरेशन शुरु गरिसकेका छौँ ।’

देशभर मिटरब्याजबाट पीडित भएका २ हजार जना भन्दा बढीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । गृहमन्त्रालयद्गारा गठित कार्यदलले मिटरब्याजीलाई कारबाही गर्ने विषयमा अनुसन्धान गरिरहेको छ । ती सबै उजुरीलाई प्रहरीमा पठाउने गृहको तयारी छ ।

आइजी सिंहकै निर्देशनमा प्रहरीले महोत्तरीका साहुकार अनिरुद्ध शाहलाई शनिबार उनकै निवासबाट पक्राउ गरेको छ ।

केहीदिन अघि पनि प्रहरीले जगदिश बानियाँलाई पक्राउ गरेको थियो । त्यस्तै सोमबार राती अर्का साहुकार लाल बहादुर खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोलढुंगाका लाल बहादुरले नवलपरासी बर्दघाट घर भएका मानबहादुर थापा र कुलबहादुर थापालाई मिटर ब्याज लगाएर ठगी गरेका थिए ।

त्यस्तै सोमबार नै काठमाडौं प्रहरीले मिटरब्याज लगाएर चर्को अशुली गर्ने आफूलाई गुण्डा नाइके समेत बताउने धिरज वलीलाई पक्राउ गरेको छ । उनलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबर