स्मृति बहुउद्देश्यीय सहकारीका सञ्चालक देवेन्द्र श्रेष्ठ फरार, बचतकर्ताको करिब १२ करोड जोखिममा

दियो पोस्ट  

काठमाडौं । बचतकर्ताहरुको निक्षेप रकम फिर्ता नगरी स्मृति बहुउद्देश्यीय सहकारीका सञ्चालक एवं अध्यक्ष देवेन्द्र श्रेष्ठ फरार भएका छन् । बचतकर्ताहरुको करिब १२ करोड रुपैयाँ फिर्ता नगरी श्रेष्ठ फरार भएको पीडितहरुले बताएका छन् । उनी फरार भएसँगै करिब एक हजार दुई सय जना पीडित हुनपुगेका छन् ।

जसमा सहकारीका सदस्य एवं बचतकर्ता तथा कर्मचारी रहेका छन् । छ महिना अघिदेखि सहकारी बन्द राख्दै आएका ३९ वर्षीय अध्यक्ष श्रेष्ठ सम्पर्कविहीन भएको एक महिनाभन्दा बढी भएको छ । उनी आफ्नो जन्मघर तेह्रथुम, म्याङलुङ वडा नम्बर ६ जान भनेर हिँडेको उनका चिनाजानका व्यक्तिहरुले बताएको पीडितहरुको भनाइ छ ।

बचतकर्ताहरुले आफ्नो बचत फिर्ता लिनको लागि श्रेष्ठलाई खोज्ने क्रममा उनी फरार भएको थाहा भएको पीडितहरुको भनाइ छ । घर जान्छु भनेर हिँडेको मान्छे एक महिना बढी हुँदासम्म सहकारीमा नफर्किएको बचतकर्ता ४० वर्षीय मनोज हाडाले आर्थिक दैनिलकाई बताए । ‘घर गएका श्रेष्ठ साता, १५ दिनमा फर्केलान् भनेको मोबाइल बन्द गरेर बसेका छन्’, हाडाले भने, ‘न मोबाइल उठाउँछन् न आउने पत्तो नै छ, कहाँ गएका कसैलाई थाहा छैन। फरार छन् ।’

चितवन घर भई हाल काठमाडौं, पुतलीसडकमा व्यवसाय सञ्चालन गर्दै आएका हाडाको उक्त सहकारीमा सात लाख रुपैयाँभन्दा बढी बचत रकम छ । हाडाले कोभिड १९ का कारण बन्द भएसँगै सहकारीले बचत रकम फिर्ता दिन नसकेको बताए । ‘आफूले दुःख गरेर कमाएको थोरै–थोरै रकम सहकारीमा जम्मा गर्दै आएको थिएँ आवश्यक परेको भन्दै बचत रकम झिक्न खोजेको लामो समय भइसक्दा पनि पैसा पाउन सकिन’, उनले भने, ‘कहिले भोलि, पर्सि भन्ने कहिले त चेक दिने तर बैंकहरुले उसको चेक भुक्तानी नगर्ने निर्देशन दिएको रहेछ । जसले गर्दा हामी थप मारमा परेका छौँ ।’

सहकारीका साथै श्रेष्ठको देवयानी ट्रड कन्सर्न प्रा।लि रहेको छ उनले सो कम्पनीको नाममा बचतकर्ताहरुलाई चेक भुक्तानी रकम दिँदै आएको पाइन्छ । सहकारीको राजधानीमा चारवटा शाखा छ । काठमाडौं, डिल्लीबजारस्थित केन्द्रीय कार्यालय रहेको सहकारीका शाखा कार्यालयहरु भने चाबहिल (गणेशस्थान), कपन (मिलनचोक), जोरपाटी (नारायणटार) मा छन् ।

बचत फिर्ता नदिएसँगै प्रहरीकहाँ श्रेष्ठलाई बुझाए पनि प्रहरीले मिलेर जानुस् भन्दै नियन्त्रणमा नलिएको पीडितहरुले गुनासो गरे । ‘प्रहरीकहाँ बुझाएपछि रकम फिर्ता हुने झिनो आशा थियो तर प्रहरीले बेवास्ता गर्दा थप समस्यमा परेको पीडित ४० वर्षीय अर्जुन तिवारीले बताए । प्रहरीकहाँ जाँदा भने सञ्चालक श्रेष्ठले जग्गा किनेको बताउँदै जग्गा बिक्रीपछि रकम फिर्ता दिने बताउँछन् । तर कहाँ किनेको, कहिले फिर्ता गर्ने लगायतका विषयमा भने केही बोल्दैनन्’, उनले भने ।

डिल्लीबजारमा फलफूल पसल सञ्चालन गर्दै रकम जोहो गर्दै आएका उनले श्रेष्ठलाई चिन्नेहरुले गाउँबाट फर्केर रकम फिर्ता दिने बताएको आफूलाई सुन्नमा आएको बताए । ‘करिब ७०८० हजार रुपैयाँ बचत गरेको थियो त्यो पनि लिएर भाग्यो,’ उनले भने, ‘अप्ठ्यारो पर्दाका लागि भन्दै जोहो गरेर राखेको रकम कहिले फिर्ता पाउने हो ठेगाना भएन ।’