बैंकिङ कसुर मुद्दामा फरार तीन जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार बैंकिङ कसुरसम्बन्धी तीनवटा फरक–फरक मुद्दामा फरक–फरक क्षेत्रबाट तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।

जसमध्ये मकवानपुरको साबिक आमभञ्याङ गाविस ५ हाल परिवर्तित मकवानपुरगढी गाउँपालिका–६ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २८ वर्षीय सन्तोष सापकोटालाई पक्राउ बुधबार गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

उनका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ जेठ २४ गते भएको फैसलामा प्रतिवादी सापकोटाउपर दुई लाख ५९ हजार रुपैयाँ जरिवाना, पाँच दिन कैद र १० हजार तीन सय ६० रुपैयाँ जरिवाना तोकिएको थियो । सो पश्चात् भने फरार रहेका सापकोटालाई बुधबार अपराह्न १२ बजेतिर नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए । पक्राउ परेका सापकोटालाई बुधबार नै फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको उनको भनाइ छ ।

यसैगरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रुकुम ५ सिस्ने घर भई हाल काठमाडौंको बाफल बस्ने ३१ वर्षीय अर्जुन बुढाथोकीलाई मंगलबार पक्राउ गरिएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिएका छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले एक करोड १९ लाख चार हजार रुपैयाँ जरिवाना तथा २४ दिन कैद तोकी फरार रहेका बुढाथोकीलाई मंगलबार काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरिएको उनको भनाइ छ ।

पक्राउ परेका बुढाथोकीलाई बुधबार फैसला कार्र्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको उनले जानकारी दिए । प्रहरी उपरीक्षक कोइरालाका अनुसार ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौंको चाबहिल बस्दै आएका ५२ वर्षीय शंकर प्रसाद लुइँटेललाई पनि बुधबार पक्राउ गरिएको हो ।

२०७८ चैत २० गते बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएका लुइँटेललाई कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार अन्दाजी ४ बजे काठमाडौंको बौद्ध महांकालबाट पक्राउ उनले बताए । पक्राउ परेका लुइँटेललाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर