काठमाडौं । सिनामंगलस्थित विमानस्थल गेटको केही अगाडी गौशाला तर्फ केही ओरालो लागेपछि मिमोसा ओभरसिज प्रा.लीको अफिसमा पुगिन्छ । म्यानपावर व्यावसायको रुपमा दर्ता भएको यो कम्पनिमा बुधबार मध्यान्न एक हुल प्रहरी पुगे । प्रहरीले कम्पनिका मालिक खगेन्द्र गुरुङलाई पक्राउ गर्यो । वैदेशीक रोजगारीमा जाने युवालाई ठगी गरेको आरोपमा होइन मिटरब्याज नदिएको भन्दै पीडितलाई धम्की दिएको आरोपमा उनी पक्राउ परे ।
झापाको गौरादह नगरपालिका वडा नम्बर १ स्थायी घर भएका उनले शंखमुल बस्ने व्यावसायी सञ्जिव विकको परिवारलाई मानसिक यातना मात्रै दिएका थिएनन् । ६० लाख रुपैयाँ ऋण दिएर २ करोड ४० लाख भन्दा बढी असुली गरेपछि पनि दैनिक धम्की दिइरहन्थे । शंखमुलमा रहेको उनको सुन पसलमा आउने धम्काउने र चेक बाउन्समा मुद्दा हाल्छु भन्दै यातना दिएपछि विक परिवार प्रहरीको शरणमा पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले गुरुङलाई पक्राउ गरि म्याद थप गरेर अनुसन्धान गरिररहेको छ । विहिबार जिल्ला अदालत काठमाडौंले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जाहेरवाला सञ्जिवका अनुसार खगेन्द्रकी श्रीमती छुनु गुरुङ मार्फत उनीहरुको चिनजान भएको थियो । उनकी श्रीमती छुनु गुरुङ पसलमा गहना किन्न आउने गेर्थिन् । सोही क्रममा उनीहरुको चिनजानले मित्रताको रुप लियो ।
‘निज छुनु गुरुङले ‘मेरो श्रीमान् वैदेशिक रोजगार व्यवसायीको काम गर्नुहुन्छ, हामीसंग पनि व्यापार व्यवसायमा लगानी गर्ने रकम छ, तपाईको काम देखेपछि हामीलाई पनि यस्तो गहना बनाउने पसलमा लगानी गर्ने इच्छा जाग्यो । हामी तपाईको यो पसलमा लगानी गर्न चाहन्छौंं । यसको फाइदा हामीलाई दिनुहोला ।’ भनि प्रस्ताव गर्नुभयो,’ सञ्जिवले जाहेरीमा भनेका छन्,‘त्यसपछि निजहरुले पारिवारिक रुपमा सम्बन्ध बढाउन थाल्नुभयो र मेरो डेराकोठामा पनि पति पत्नी नै आउन थाल्नुभयो । क्षेत्रीय भेगको दृष्टिले म आफू पनि झापाको र निजहरु पनि झापाकै भएकोले हुन्छ भनी सहमती जनाएँ । लगानीको विषयमा हामीले तमसुक ग¥यौँ । निजले नाफा हुने ठानी रु. ६०,००,०००।—(अक्षेरुपी साठ्ठी लाख) लगानी गर्नुभयो । तर, निजले उक्त लगानीलाई लेनदेन कागजमा परिणत गरि तमसुक गर्न जिद्धि गर्नुभयो । त्यसपछि चेक मार्फत् मेरो बैंक खातामा मिति २०७६।११।१ गते रु. ६०,००,०००।—( अक्षेरुपी साठ्ठी लाख) रकम जम्मा गर्नुभयो । निजले पार्टनर हुनुभन्दा कपाली तमसुकको कागज गरौं भन्नुको निहित उद्देश्य भने अर्कै रहेछ, जो मैले तत्काल बुझ्न सकिनँ र हाल बुझ्दैछु —मिटर व्याजमा रकम लिन सजिलो हुन्छ भनेर ।’
गुरुङले ६० लाख रुपैयाँ दिए लगत्तै काम सुचारु हुन सकेन । त्यसपछि मुलुकमा कोरोना संक्रमण फैलिएको भन्दै लकडाउन शुरु भयो । सञ्जिवको पसल पनि सुचारु हुन सकेन । ‘देशव्यापी रुपमा लकडाउन शुरु भै पसल र कारखाना सबैतिर कारोबार गर्न नपाई व्यापार व्यवसाय ठप्प भयो । व्यवसायिक कारोबार केही पनि गर्न पाइएन । तर, उक्त पैसा लगानी गरेर हामीले सामान खरिद गरिसकेका थियौँ । बन्दाबन्दी कति रहने भन्ने कुराको कुनै ग्यारेन्टी थिएन । कोरोनाकै समयमा निज विपक्षले मलाई विभिन्न बहानामा पैसा चाहियो भन्दै पेल्न थाल्नु भयो,’ सञ्जिवले सुनाए, ‘मैले अन्त लगानी गरेको भए यतिखेर साठी लाखलाई बढाएर दोबर तेबर बनाईसक्थें । त्यसलाई फेरि पूँजीमा रुपान्तरण गरेर करोडौं हुन्थ्यो तर तिमीहरुलाई रकम दिएर म बरबाद भएँ, डुबेँ । अब तिमीहरुसंग म पार्टनर हुन्न । कागज पनि ऋण दिएकै बनाएको छु, अब व्यापार व्यवसायको बजारमा चल्ने (एक लाखको एक दिनको एक हजारको दर मिटरब्याजमा तिमीहरुले मलाई ब्याज दिनुपर्छ’ भनी निहुँ खोज्न थाल्नुभयो । ‘त्यति व्याज त दिन सकिदैंन, तपाईको जे जति रकम लिएको हो, बरु त्यसको बैंकले जे व्याज दिन्छ त्यो लिनु’ भन्दा जथाभावी गाली गर्न थाल्नुभयो । हातपात गर्नुभयो । म एक सामान्य व्यवसायी र प्रतिवाद गर्ने पहुँच, हैसियत नभएको तथा मैले तत्कालै एकमुष्ट रकम दिन नसक्नुको साथै वरपर छरछिमेकमा लफडाबाजी खालको मान्छे रहेछ भन्ने नपरोस् भन्ने सोँची इज्जतको डरले निजले गरेको गाली गलौंज, जबरजस्तीपन र हातपातलाई सहेँर प्रतिवाद नगरी बसेँ ।’
सञ्जिवले सहेर बसेकै कारण खगेन्द्रको गुण्डागर्दी रोकिएन । त्यसपछि त झनै पटक पटक गुण्डागर्दी शैलीमा धम्क्याउने, घरमै आएर जात जोडेर गालीगलौंज गर्ने र उनकी श्रीमतीलाई जातीय रुपमा गाली गलौच समेत गर्न थाले । खगेन्द्रले पसलमा आएर तोडफोड समेत गरेको उनीहरुको आराप छ ।
‘बालबच्चासहित हामी श्रीमान् श्रीमतीलाई नै हातपात गर्ने, घरमा चक्कु छुरी लिएर आएर तर्साउने, मिटर व्याजमा रकम लिएको कुरा कतै भनिस्, उजुरी गरिस् भने तेरो बालबच्चा र तँहरु दुबै जनाको ज्यान लिइदिन्छु भनी पूरै आतंकित पार्ने गर्न थाल्नुुभयो, उक्त घटनाको भिडियो तथा कतिपय संवादको अडियो रेकर्ड मसंग सुरक्षित छ,’ सञ्जिवले जाहेरीमा भनेका छन्,‘२०७६ सालको चैत्रदेखि कहिले नगदै, कहिले मेरो श्रीमती मनिका विश्वकर्माको नाउँको चेकबाट, कहिले पसलको नाउँको चेकबाट, कहिले मेरो आफ्नै नाउँको चेकबाट लगातार रकम दिन म बाध्य भएँ । २०७६ चैत्र महिनादेखि २०७९ सालको साउन महिनासम्मको निज विपक्षीको बैंक स्टेटमेन्ट झिकाई भिडाई हे¥यो भने) प्रष्ट हुन्छ । यसरी थर्काएर व्याज मात्रै लिन पाउनु निजको लागि म दुहुनो गाई जस्तो भएको रहेछु । रकम लिने क्रममा निजले रकम मागेर साह्रै हैरान गर्ने कुरा त छँदै थियो । बैंक खातामा मेरो रकम नभएको अवस्था त निजको लागि झनै ब्ल्याकमेल गर्ने साधन नै बन्यो । बैंकमा मेरो तथा मेरो श्रीमतीको खातामा रकम जम्मा नभएको अवस्थाको चेकहरु माग्न थाल्नुभयो । खातामा रकम जम्मा छैन भन्दा पनि निजले जम्मा नभए पनि चेक नै दे, जम्मा भएपछि निकालौंला भन्दै चेक दिन दबाब दिई चेक लान थाल्नु भयो र त्यो चेक लगेपछि तुरुन्तै चेक बाउन्स गराएर उजुरी, जाहेरी केही नगरी बरु म तथा मेरो श्रीमतीलाई त्यो चेक देखाएर तर्साउने, बार्गेनिङ गर्ने गर्न थाल्नुभयो जसको प्रमाणसमेत मसँग सुरक्षित छ ।’
सञ्जिवले प्राम बैंकमा रहेको आफ्नो खाता चेक नं. ५०००६२५९१४६ बाट सन् २०२१ अप्रिल २२ गते ६० लाख रुपैयाँ नै फिर्ता गरे । त्यस्तै सञ्जिवकै नाममा रहेको सुजुकी कम्पनिको ब्रेजा गाडी समेत खगेन्द्रले जबरजस्ती कब्जा गरेर लगे । ३३ लाख मुल्य पर्ने उक्त गाडी खगेन्द्रले एउटा कागज बनाएर लगेका थिए । जसको किस्ता अहिलेसम्म पनि सञ्जिवले नै तिर्दै आएका छन् । त्यस्तै उक्त गाडी सञ्जिवकै नाममा छ ।
चेक बाउन्स गराउँछु भन्दै धम्की
खगेन्द्रले ब्ल्याकमेल गर्ने माध्यम बनाएका छन् । सञ्जिवले दिएको चेकलाई जबकी दियोपोस्टलाई प्राप्त स्टेटमेन्ट र हिसाब अनुसार उनले २ वर्षको अन्तरालमा २ करोड ३६ लाख ५२ हजार ७ सय रुपैयाँ त ब्याज मात्रै असुली गरिसकेका छन् । सञ्जिवसँग पैसा असुल्न उनले चेकलाई ब्ल्याकमेलिङको साधन बनाएका छन् । ६० लाख रुपयाँ लगानी गरेर खगेन्द्रले सञ्जिवबाट २ करोड ३६ लाख असुलेपछि पनि फेरी ४२ लाखको चेक बाउन्स गराएर राखेका छन् । उक्त चेक देखाउँदै ब्ल्याकमेलिङ गर्ने र धम्काउने गरेको पीडितको आरोप छ । ‘निजले बिल्कूलै गुण्डागर्दी गरी अघि दिएको चेकहरुको रु.४२५०,०००।— बराबरको चेक लगी बाउन्स गराई ‘मलाई दिएको चेकको नगद ल्या, होइन भने यही बाउन्स भएको चेकलाई बैंकिङ कसूर अन्तर्गत तँ तथा तेरो स्वास्नीलाई मुद्दा हालेर तेरो लोग्ने स्वास्नीलाई नै जेलमा सडाईदिन्छु’ भनी धम्क्याएर दुख हैरानी दिईरहनु भएको छ,’ जाहेरीमा भनिएको छ,‘निज विपक्षीले मलाई कपाली तकसुक गराएको करीब एघार महिनापछि आफैंले हिसाब गरी निजको आफ्नै हस्ताक्षरबाट लेखिएको मिटर व्याजको हिसाबको कागज पनि प्रमाण खण्डमा पेश गरेको छु । यसैगरी चेक फिर्ता गरेर नगदै बुझिलिएको चेकको फोटोकपी पनि पेश गरेको छु । यसरी निजले म एक सामान्य र कहिँकतै पहुँच नभएको, निरिह तथा मेहनतका साथ व्यवसाय गर्ने व्यक्तिलाई साह्रै नै दुख दिएकोले साह्रै नै अन्याय र अत्याचारमा परी यो जाहेरी दिन आएको छु ।’
डिआइजीको आफन्त हुँ भन्दै धम्की
खगेन्द्रले पीडित परिवारलाई प्रहरीमा आफ्नो डिआइजी आफन्त रहेको भन्दै धम्काउँदै आएका थिए । उनकी श्रीमती छुनु गुरुङले आफ्नो परिवारिक सदस्य नै प्रहरीको डिआइजी भएका कारण आफूहरुलाई कसैले केह ीगर्न नसक्ने बताउँदै आएकी छिन् । उनले केहीदिन अघि पीडितको परिवारलाई फोन गरेर मिलापत्र गर्न दबाव दिएकी थिइन् । ‘गुरुङ पक्राउ परेपछि उनकी श्रीमति छुनुले तपाईंहरु पनि पुर्व जानुपर्छ । कसरी जानुहोला हेरौँला भन्दै धम्काउनु भएको छ,’ पीडित सञ्जिवले दियोपोस्टसँग भने,‘हामी नै पीडित छौँ । हामीलाई नै उल्टो धम्की आइरहेको छ ।’