अयोग्यलाई अध्यक्ष बनाएपछि सिन्धुपाल्चोकको कृष्ण रत्न माविमा भाँडभैलो, राजिनामा माग

- निरोज चौलागाइँ  

सिन्धुपाल्चोक । जिल्लाकै पुरानो भनेर चिनिने श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयले चर्को शुल्क असुली गरेको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । अभिभावकले विद्यालय व्यवस्थापन समिति विरुद्ध नै उजुरी गर्न पुगेका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा रहेको यस विद्यालयमा भ्रष्टाचार र बेथिति मौलाउदै गएपछि स्थानीय र अभिभावकले व्यवस्थापन समिती र विद्यालय प्रशासनको चर्को बिरोध गर्दै आएका छन् ।

विद्यालयको शैक्षिक स्तर खस्कदै गएको, सरकारले निशुल्क शिक्षा भनेपनि विद्यालयले सेवा शुल्क भन्दै रकम उठाएको, विद्यालय भ्रष्टाचार मौलाएको, विद्यालय हातामा फोहोर सफा नगरेको भन्दै अभिभावकले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको राजीनामा र शिक्षकहरुको गतिविधिको चर्को बिरोध गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्याम कृष्ण श्रेष्ठको व्यवस्थापन समितिमा बस्न शैक्षिक योग्यता नपुगेको भन्दै अभिभावकहरुले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र विद्यालय विरुद्ध नगर शिक्षा समितिमा उजुरी दिएका हुन् । गत बर्ष भन्दा यस बर्ष एसईइ नतिजा समेत खस्किएको भन्दै उनीहरुले नयाँ व्यवस्थापन समिति बन्नुपर्ने र विद्यालयको शैक्षिक स्तर सुधार्न पर्ने माग उठाएका छन् ।
विद्यालयमा हाल १४३८ विद्यार्थी अध्ययनरत छन् भने, ५९ जना शिक्षकले अध्यापन गराउँछन् । तर विद्यालय व्यवस्थापन समितिको अध्यक्षले शैक्षिक स्तर सुधार गर्नुको सट्टा आफ्नो योग्यता नहुँदा नहुदै पनि राजनीतिको आडमा विद्यालयलाई ध्वस्त बनाएको स्थानियको आरोप छ ।
‘हामीले विद्यालयको शैक्षिक अवस्था खस्कँदै गएपछि विद्यालय व्यवस्थापन समिती र विद्यालय प्रशासनलाई पटक पटक जानकारी गराएका थियौँ तर उनीहरुले बेवास्ता गरेपछि हामीले नगर शिक्षा समितिमा उजुरी दिएका छौँ, समितिको अध्यक्ष आठ कक्षा पास मात्रै हो । यस विद्यालयमा १२ सम्म अध्ययन गराइन्छ । त्यसैले अध्यक्ष हरेक हिसाबले योग्य नभएपछि हामीले बच्चा निकालेर अन्य विद्यालय लानुको विकल्प छैन,’ अभिभावक राजन श्रेष्ठले भने ।

स्थानिय अभिभावक ठाकुर श्रेष्ठका अनुसार सामुदायीक विद्यालयले विद्यार्थीबाट चर्को शुल्क असुल्दै आएको छ ।
‘सामुदायिक विद्यालयले शुल्क लिन पाउँदैन हामीले संविधानले दिएको अधिकार अनुसार नै यस विद्यालयमा निशुल्क पढाइ हुनुपर्छ भन्दै आएका छौ, समितिको अध्यक्ष र विद्यालयले बेवास्ता गर्दै आएका छन्,’ ठाकुरले भने ।

अर्का अभिभावक निमेश श्रेष्ठका अनुसार अध्यक्ष कृष्णको काम गर्ने क्षमता छैन । यता चौतरा नगरपालिकाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले सदरमुकामकै पुरानो विद्यालयमा विवाद हुनु दुखद रहेको बताए ।

‘यसलाई समाजको सबै अगुवा बसेर सल्झाउन पर्छ। हामीले गुणस्तर शिक्षा प्रदान गर्ने हो । त्यसैले यो विषयमा चौतारासागाचोक गढी नगरपालिकाले यस बिषयलाइ प्राथमिकता दिएर अगाडि बढ्छु,’ उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले आफ्नो योग्यता नभएको स्विकार गरे ।

‘म सँग योग्यता छैन, तर मैले विद्यालयलाइ असर पर्ने काम गरेको छैन । योग्यता हेर्ने हो भने मेरो पुग्दैन तर उहाँहरुले मलाई अध्यक्ष बनाउनु भएको हो,’ उनले भने,‘त्यसैले मैले व्यवस्थापन समितिको अध्यक्ष बाट राजीनामा दिनुपर्ने कुनै कारण छैन ।’

यता प्रअ डम्बर बहादुर श्रेष्ठ भने अध्यक्षको योग्यताबारे कानुनले नै बताउने दाबी गर्छन् ।

‘अहिले विद्यालय व्यवस्थापन समितिमा बिबाद छ । अध्यक्षको शैक्षिक योग्यताको बिषयमा कुरा उठेपछि समस्या आएको हो,’ उनले भने,‘यसलाई कानुनले नै छिनोफानो गर्ने भएकोले यसमा त्यही बाटो अपनाउदा सहज हुनेछ ।’