बालेनले भत्काएको अल्फा केयर फार्मेसीमा ‘नक्कली पिसिआर रिपोर्ट बन्ने गरेको’ खुलाशा !

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले केहीदिन अघि भत्काएको बानेश्वरस्थित अल्फा केयर फार्मेसीमा नक्कली पिसिआर रिपोर्ट बन्ने गरेको खुलाशा भएको छ ।

अल्फा बिटा भवनका मालिक समेत रहेका द्विराज शर्मा र युवराज शर्मा दाजु भाईले संचालन गरेको उक्त फार्मेसीमा विदेश जाने नागरिकका लागि नक्कली कोरोना संक्रमण परिक्षण रिपोर्ट बन्ने गरेको खुलेको हो । दियोपोस्टलाई प्राप्त कागजात अनुसार उक्त फार्मेसीमा जाने सेवाग्राहीले शुरुमा एउटा फर्म भर्नु पर्छ ।

फर्ममा नै वैदेशिक प्रयोजनका लागि वा स्वास्थ्य परिक्षणका लागि भन्ने अफ्सन आउँछ । विदेश जाने यात्रुले वैदेशिक प्रयोजन र देश समेत खुलाएर फर्म भरेपछि उक्त फार्मेसीले सबै परिक्षण नेगेटिभ आएको रिपोर्ट दिने गरेको छ ।

केहीदिन अघि दुई यात्रुले भारत जाने क्रममा अल्फा केयर अस्पतालमा गएर कोरोना परिक्षण गराए । बानेश्वरस्थित अल्फा केयरको कार्यालय पुग्ने वित्तिकै ती यात्रुलाई एउटा फर्म भर्न लगाइयो । त्यसलगत्तै ती यात्रुले काउन्टरमा गएर प्रति व्यक्ति १५ सय रुपैयाँका दरले रकम बुझाए । भोलीपल्टको उडान भएका कारण ती यात्रु भोलीपल्ट विहानै उक्त फार्मेसीमा पुगेर रिपोर्ट ल्याए ।

सार्स कोभिड २ लगायत तीन वटा  परिक्षण गरेको र ती सबै रिपोर्ट नेगेटिभ आएको रिपोर्टमा उल्लेख थियो । सोही रिपोर्ट लिएर उनी त्रिभुवन विमानस्थल हुँदै दिल्ली तर्फ प्रस्थान गरे । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएपछि उक्त विमानस्थलमा पनि भारत प्रवेश गर्ने यात्रुले कोरोना परिक्षण अनिवार्य राखिएको छ । विमानस्थल भित्रै जेनेस्ट्रिङ डाइग्नोस्टिक सेन्टर प्रा.लीले प्रति व्यक्ति ३ सय भारतीय रुपैयाँ लिएर पिसिआर परिक्षण गर्दै आएको छ । परिक्षण पश्चात ईमेलमै रिपोर्ट पठाइदिने भएपछि उनी चेक आउट भए ।

दिल्लीस्थित विमानस्थलमा गरिएकाे परिक्षणकाे रिपाेर्ट : जहाँ काेराेना परिक्षण नेगेटिभ लेखिएपनि सार्स काेभिड  २ पाेजिटिभ लेखिएकाे छ । 

 

गन्तव्यमा पुगेको केहीबेरमै उनको इमेलमा एउटा रिपोर्ट आयो । रिपोर्टमा सार्स कोभिड २ पोजिटिभ लेखिएको थियो । जबकी केही घण्टा अघि मात्रै प्राप्त भएको नेपालस्थित अल्फा केयर फार्मेसीमा सबै रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि ती यात्रुले अल्फाको ठगीधन्दा चाल पाए । विदेश जाने यात्रुलाई फर्ममै अप्सन राखेर रिपोर्ट दिनुको अन्तर्यमा त यात्रु ठग्नु मात्रै रहेछ ।

 

‘भारतमा ३ सय भारुमा कोरोना परिक्षण हुने नेपालमा १५ सयदेखि २ हजार रुपैयाँ सम्म असुली गरिन्छ,’ ती यात्रुले भने,‘यसरी महँगो शुल्क लिएर पनि नक्कली रिपोर्टपो दिइँदो रहेछ ।’

दुवै रिपोर्ट नेगेटिभ नै हो : शाक्य

यता अल्फा केयर फार्मेसीकी ल्याब टेक्निसियन कृति शाक्यले आफूहरुको रिपोर्ट र भारतीय कम्पनिको रिपोर्ट उस्तै भएको बताइन् । ‘तपाईंहरुले रिपोर्ट हेर्न जान्नु भएन । रिपोर्ट नेगेटिभ नै छ । व्याख्यात्मक रुपमा नेगेटिभ भएपछि त्यसलाई पोजिटिभ भन्न मिल्दैन,’ उनले म्यासेजमा भनेकी छिन्,‘जे पायो त्यही पोस्ट नगर्नुहोला । त्यसले तपाईंहरुको आफ्नै बेइज्जत हुन्छ ।’

 

सम्पादकीय नाेट : फाेटाे क्याप्सन थपिएकाे छ ।