परिवारभित्र राप्रपाको बहुमत भएका कुलमानलाई माओवादीबाट चुनाव लड्न सकस, श्रीमतीकै भोट कता ?

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रको तर्फबाट आगामी संघीय चुनावमा निर्वाचन लड्ने तयारीमा रहेका कुलमान घिसिङ्गले सार्वजनिक रुपमा केही बताएका छैनन् । उनले चुनाव उठ्ने वा नउठ्ने दुवै कुरा गुपचुप राखेका छन् । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई काठमाडौंबाट उम्मेदवार बनाउन चाहेका छन् । तर कुलमान भने रामेछाप जिल्लाबाट उम्मेदवार बन्न पाए उठ्ने भित्री तयारीमा छन् ।

आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा कुलमानले उम्मेदवारी दिए उनलाई आफ्नै घरबाट समेत भोट नआउने संभावना छ । कुलमानकै श्रीमती दिपा तामाङ्ग राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङ्गको उपाध्यक्ष छिन् । कुलमानका ससुरा बुद्धिमान तामाङ्ग राप्रपाको केन्द्रीय उपाध्यक्ष छन् । यस्तो अवस्थामा ससुरा र श्रीमतीकै राजनीतिक लाइन फरक हुनेछ ।

त्यसो त कुलमानको ससुरा बुद्धिमानको परिवारमा विग्रह छ । जेठी श्रीमती तर्फका सन्तान बुद्धिमानको विरुद्धमा छन् । स्थानिय तहको निर्वाचनमा बुद्धिमानको गृहजिल्ला धादिङ्गको रुवीभ्याली गाउँपालिकामा राप्रपाले नराम्रो पराजय भोग्नु परेको थियो । माओवादीका उम्मेदवार रामसिंह तामाङ्गले गाउँपालिका अध्यक्षमा बाजी मारेका छन् । उनी बुद्धिमानका आफ्नै भाञ्जा समेत हुन् । तर, राप्रपाबाट उम्मेदवार बनेका व्यक्ति बुद्धिमानले नै उठाएको उम्मेदवार भएपनि कुलमानकी पत्नि दिपा सहित जेठि श्रीमती तर्फका सबै जनाले असहयोग गरेको राप्रपा भित्रै एकाथरीको मत छ ।

‘बुद्धिमानको परिवार भित्रको विग्रहका कारण हरेक वडामा छुट्टा छुट्टै उम्मेदवार थियो । त्यही सबै जसो स्थानमा राप्रपाले हार व्यहोर्नु पर्यो । केही वडामा जितेपनि गाउँपालिका नै हार्न पुगियो । जेठी श्रीमती तर्फका सबै जना बुद्धिमानको विरोधमा गएका छन्,’ राप्रपाका एक नेताले भने,‘यसरी हेर्दा कुलमानले बुद्धिमानकै परिवारको साथ पाउने संभावना  कम छ । परिवार भित्रैको अन्तर्घातको सामना गर्नुपर्ने देखिन्छ ।’