उपप्राध्यापक ‘हत्या प्रयास गर्ने’ गिरोहका नाइकेसँग शिक्षामन्त्रीको ‘लज्जास्पद’ भेटघाट !

दियो पोस्ट  

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौड्यालले शिक्षा मन्त्रालयमा प्रध्यापक प्रेम चलाउनेको हत्या प्रयास गर्ने योगेन्द्र रावललाई भेटेका छन् ।

मुलुककै सबैभन्दा जेठो त्रिभुवन विश्व विद्यालयका प्रध्यापक प्रेम चलाउनेको ज्यानै लिने गरि भएको हत्या प्रयासको घटनाका मुख्य अभियुक्त योगेन्द्र रावललाई मन्त्री पौडेलले मन्त्रालयमै स्वागत गरेको र रावलले दिएको एक ज्ञापन पत्र बुझेको भेटिएको छ ।
रावलसहितको समुहले केहीदिन अघि बसेको विश्वविद्यालयको बैठक कक्षबाट निर्णय पुस्तिका लगायतको कागजात लुटेका थिए । त्यस विरुद्ध त्रिविले संस्थागत रुपमै प्रहरीमा उजुरी समेत दिएको थियो । रावल समुहले उक्त कागजात त्रिविमा फिर्ता गर्नुको सट्टा शिक्षामन्त्री पौडेललाई फिर्ता गरेका हुन् ।

‘उक्त कागजात जबर्जस्ती लग्ने समूह ती कागजात त्रिविमा फिर्ता गर्नु साटो शिक्षामन्त्रीलाई बुझाए मन्त्रीले कार्यकक्षमा निम्ताएर ती कागज बुझे।जहाँबाट ल्याएको हो त्यही बुझाउ भन्न पनि शिक्षा मन्त्रीले सकेनन्,’ एक विद्यार्थी नेताले भने,‘ज्यादै कुरुप, लज्जास्पद ,अशोभनिय र कानुनको खिल्ली उडाउने राज्यलाई निरीह बनाउने दृश्य ।’

चलाउनेमाथि २०७७ असोजमा आक्रमण भएको थियो । आक्रमणबाट उनको टाउकोमा चोट लाग्नुको साथै दायाँ खुट्टा भाँचिएको थियो ।

त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्य र रावलको समुहले उनीमाथि सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट अहिलेसम्म पनि पूर्ण रुपमा ठीक नभएका चलाउने मुद्दा लडिरहेका छन् । तर, सरकारले भने कांग्रेस निकट विद्यार्थी नेता भएकै कारण रावल र आचार्य विरुद्धको मुद्दा फिर्ता लिने तयारी गरेको छ ।