छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषध गाँजा करिब ६ केजी ५ सय ग्रामसहित २ जना पक्राउ छन् । पक्राउ पर्नेमा सिन्धुली हरियरपुर गाउँपालिका–३ बस्ने ३० वर्षीय बुद्ध बहादुर भोलनसहित २ जना रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख २१९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१४ बाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्लाको उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय रबि राना र सोही उपमहानगरपालिका–१७ बस्ने १८ र १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी कनरी र सशस्त्र प्रहरी बल फुलवारीबाट खटिएको संयुक्त टोलीले रानालाई ८ सय ९० मिलिग्रामसहित बिहीबार पक्राउ गरेको हो । ती २ किशोरलाई करिब ३ सय ४० मिलिग्राम अवैध लागूऔषध र उनीहरुले प्रयोग गरेको सु.प.प्र.०१००९ प ६०५९ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो।

यसैगरी बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभारबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष वली रहेका छन् । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित बिहीबार साँझ पक्राउ गरेको हो ।

साथै मोरङको बिराटनगर महानगरपालिका–१९ बिराटचोक जाने बाटोबाट अवैध लागूऔषध जस्तो देखिने सेतो वस्तु करिब ६० ग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ बस्ने २२ वर्षीय राज रायसहित ३ जना रहेका छन् । उनीहरूबीच लागूऔषध लेनदेन सम्बन्धी झै–झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरी टोलीले उक्त वस्तुसहित उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो ।

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्रामसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–९ बस्ने २३ वर्षीय भैरवनाथ योगी, बासगढी नगरपालिका–१ बस्ने २२ वर्षीय सागर कामीसहित ४ जना रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आएका उनीहरूलाई उक्त पदार्थसहित बिहीबार राति पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ८० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–४ बस्ने २१ वर्षीय रितिक थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा से.२ प ८४७८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएका थिए । सोही मोटरसाइकलमा सवार थापाको साथबाट उक्त पदार्थ फेला पारी बिहीबार राति पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सुनसरीको ईटहरी उपहानगरपालिका–६ स्थित आर्या होटलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही होटलका संचालक सोही उपमहानगरपालिका–२ घर भएका ४०
वर्षीय सुनिल चौधरी रहेका छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी चौधरीलाई बिहीबार राति पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।