ईन्धन चोरी घटनामा निगमका उच्च अधिकारीको संलग्नता : दास ‘फरार’ हुँदा गोइत र बराललाई तनाव !

दियो पोस्ट  

काठमाडौं । ईन्धन चोरीको घटनामा संलग्नता देखिएपछि कास्कीको गगनगौँडास्थित पोखरा डिपोका प्रमुख चित्तरञ्जन दास निलम्बनमा परेका छन् । नेपाल आयल निगमले उनलाई निलम्बन गरेको हो ।

निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराले १२ हजार लिटरको पैसा लिएर स्थानीय पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोल पम्पलाई १५ हजार एक सय नौ लिटर डिजेल पठाउँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार साँझ लु.२ ख ८३६ नम्बरको ट्यांकरलाई नियन्त्रणमा लिएको थियो । सोही घटनामा उनी विरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी समेत जारी गरेको छ । पक्राउ पुर्जी जारी भएपछि उनी फरार छ । अदालतको पक्राउ पुर्जीपछि निगम व्यवस्थापनले उनलाई निलम्बनको नाटक गरेको हो । स्रोतका अनुसार दासले तेल चोरीको कमिशन माथिल्लो तहसम्म पुर्याउने गरेका थिए । उनी त्यहाँ कार्यरत रहेपनि उनले केन्द्रीय कार्यालयकै निर्देशनमा यस्ता घटना घटाउने गरेको स्रोतले बताएको छ । निगमका बजार व्यवस्थापन विभाग प्रमुख विरेन्द्र गोइतको समेत यो घटनामा संलग्नता रहेको स्रोतको भनाई छ । त्यस्तै केन्द्रीय कार्यालय आपूर्ति व्यवस्थापन तथा वितरण विभागका प्रमुख दीपक बरालको भूमिका पनि शंकाष्पद रहेको स्रोतले जनाएको छ । उनीहरु दुवै जनाको जोडबलमा दासलाई गण्डकीको प्रमुख बनाइएको थियो । त्यसो त निगमकै कार्यकारी निर्देशक उमेश थानीको भूमिका समेत शंकाष्पद रहेको स्रोतले बताएको छ । पछिल्लो समय तेल चोरीको घटना बढिरहँदा थानीले रहस्यमयी मौनता देखाउँदै आएका छन् । पोखराको घटनामा आफ्नो नाम समेत पोलिन सक्ने डरका कारण उनले हतार हतारमा दासमाथि कारबाहीको निर्णय गरेको स्रोतको आरोप छ । दास पक्राउ परे उनले बयानका क्रममा निगमका कार्यकारी निर्देशक थानीकै नाम समेत लिन सक्ने आशंकाहरु बढेर गएको छ ।

निगमका उपनिर्देशक दास गत असोजदेखि कास्कीको गगनगौँडास्थित सो डिपो प्रमुखका रूपमा कार्यरत छन् । उनी डिपो प्रमुखका रूपमा सरुवा भएदेखि इन्धन अपचलनको घटना वृद्धि भएको थियो । यसअघि नै ईन्धन अपचलन तथा चोरीको घटना भएपनि निगमको उच्च तहले नाटकीय रुपमा संरक्षण गर्दै आएको थियो ।
बिहीबार साँझ ट्यांकर नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिलमा उल्लेख भएभन्दा बढी डिजेल भएको प्रशासनले पत्ता लगाएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले सो डिपोले तोकिएभन्दा बढी तेल पेट्रोलपम्पलाई पठाउने र निगमलाई हानि–नोक्सानी पु¥याउने गरेको भन्दै पटकपटक उजुरी परेपछि ट्यांकर नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए ।

दास निगमभित्र विवादित पात्र मानिन्छन् । उनी यसअघि सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको प्रमुख हुँदा पनि निगमका सवारीसाधनमा चाहिनेभन्दा बढी तेल प्रयोग गरेको बिल बनाई इन्धन अपचलन गरेको उजुरी परेको थियो । उनै दासलाई निगमका कार्यकारी निर्देशक थानी सहितको समुहको जोडबलमा गण्डकी प्रदेश प्रमुखको उपहार दिइएको थियो ।