वागमतीका मुख्यमन्त्री जमकट्टेलको आडमा ‘मानवतस्करी’ : कोरिया सपना देखाएर २ सय युवा ठगिए !

दियो पोस्ट  

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको संरक्षणमा एक व्यक्तिले सयौँ युवालाई ठगी गरेको पाइएको छ । मुख्यमन्त्री जमकट्टेलसँग अति निकट रहेको बताउने रुद्र अधिकारीलाई मौसमी कामदार भिषामा कोरिया पठाउने भन्दै २ सय जनाभन्दा बढी युवालाई ठगी गरिरहेको पाइएको हो ।

आफूलाई कोरियाको केसियु विश्व विद्यालयको प्रोफेसर दाबी गर्ने उनले मुख्यमन्त्री जमकट्टेलसँगको तस्विर देखाउँदै ठगी गर्दै आएका छन् । उनले टिकटकमा सार्वजनिक गरेको तस्विरमा मुख्यमन्त्रीसँग वार्ता भएको र भेटघाट भएको लगायत उल्लेख गर्ने गरेका छन् । मुख्यमन्त्री जमकट्टेलको उनीसँग के साँठगाँठ भन्ने भित्री रहस्य नखुलेपनि उनकै संरक्षणमा अधिकारीले ठगीधन्दा चलाएको बुझ्न सकिन्छ ।

काभ्रे घर भएका अधिकारी वास्तविक रुपमा उक्त विश्व विद्यालयको प्राध्यापक नभएपनि सोही तस्विर देखाएर ठगी गर्दै आएको बुझीएको छ । नेपालमा चरम रोजगारीको अभावलाई देखाएर युवाहरुमाथि भइरहेको ठगीधन्दामा मुख्यमन्त्रीकै संलग्नता देखिनुले राजनीतिलाई समेत उदांगो बनाइदिएको छ । त्यसो त नेपालबाट हुने अधिकांश मानवतस्करीमा राजनीतिक संलग्नता रहेको पुष्टि भइसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्व उर्जामन्त्री तथा नेकपा एमालेसचिव टोपबहादुर रायमाझी जेल चलान हुनुले मानव तस्करीमा राजनीतिक संलग्नता पुष्टि गर्छ । नेपाली नागरिकलाई भूटानी बनाएर सयौँ युवालाई ठगी गरेकै शैलीमा अधिकारीले यतिबेला युवाहरुलाई भिषा कोरिया सपना देखाएर ठगी गरिरहेका छन् ।

मुख्यमन्त्री जमकट्टेलसँग रुद्र अधिकारी

अधिकारीले जमकट्टेलकै तस्विर र भेटघाटलाई मोहरा बनाएर ठगी गरिरहने यता जमकट्टेल भने मौन रहनुले उनको संलग्नता पुष्टि गर्छ । आफ्नो सचिवालय सदस्यसँग भने अधिकारीले आफूलाई अधिकारीले फसाएको बताउने गरेका छन् । ‘त्यसले मलाई फसायो । मैले कारबाहीका लागि निर्देशन दिइसकेको छु,’ जमकट्टेलले आफ्नो सचिवालयमा भन्ने गरेका छन् ।

तर, सचिवालयमा यस्तो दाबी गरेपनि उनले ठगी आरोपी अधिकारीलाई कोरियाका लागि नेपाली राजदूत बनाउन विभिन्न व्यक्तिलाई खटाएको स्रोत बताउँछ । अधिकारीले पनि शालिकदाईकै सिफारिसमा आफू कोरियाका लागि नेपाली राजदूत बन्ने पक्का रहेको बताउँदै आएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका जमकट्टेलमाथि लागेको यो अभियोग निकै गम्भिर रहेको माओवादीकै अर्का नेता बताउँछन् । ‘उहाँले यो अधिकारीलाई बोकेर धेरै स्थान धाउनु भएको रहेछ । उहाँकै आडमा उसले ठगीधन्दा चलाइरहेको रहेछ । हामीले खासखुस सुनेका थियौँ । तर, अहिले त केही पीडित युवाहरुले न्यायका लागि गुहार माग्न थालिसके,’ ती केन्द्रीय सदस्य भन्छन्,‘जमकट्टेल जोडिएको यो मुद्दामा पार्टी भित्र कुरा उठेपनि कुनै कारबाही हुनेवाला छैन ।’

कोरिया जाने सपना देखेर २ लाख रुपैयाँ अधिकारीलाई दिएको बताउने एक युवाले मुख्यमन्त्रीकै तस्विर देखेपछि पैसा दिएको बताए । ‘हामीलाई विश्वासममा पारे । शालिकराम जस्तो राजनीतिक मान्छेसँगको तस्विर र वार्ता देखाएपछि विश्वास बढ्यो,’ ती युवाले भने,‘तर, महिनौँसम्म न पैसा फिर्ता भयो न कोरिया जाने सपना पुरा भयो । हाम्रो सपनामाथि ठूलो ठगी पो भयो ।’