ललिता निवास प्रकरण : सर्वोच्च अदालतको आदेशको ‘पिरामिड’ मा न्यायाधीश कुमार रेग्मी !

दियो पोस्ट  

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतको आदेशका आधारमा पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई र माधव नेपालमाथि छानबीन हुँदैछ । उनीहरु केहीदिन भित्रै प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीमा बयानका लागि उपस्थित हुनेछन् । तर, सर्वोच्च अदालतको सो आदेशका कारण सर्वोच्चकै न्यायाधीशलाई तनाव बढी भएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीश रहेका कुमार रेग्मीलाई समेत यो आदेशपछि छानबीनमा ल्याउनुपर्ने दबाव बढेको छ ।

न्यायाधीश कुमार रेग्मी कुनै समय अधिवक्ता थिए । ललिता निवासको सरकारी जग्गा हिनामिनाको योजना बनाउने र कागजात तयार पार्ने मुख्य भूमिकामा रहेका उनले पनि त्यहाँको केही जग्गा हात पारेका थिए । उनै रेग्मीमाथि छानबीन हुने बाटो समेत सर्वोच्च अदालतको आदेशले खुलाएको छ ।

गत आइतबार सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका योगराज पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाईपछि आएको आदेशका आधारमा नेपाल र भट्टराईमाथि छानबीनको बाटो खुलेको छ । यो आदेशका आधारमा सर्वोच्चकै न्यायाधीश रेग्मीमाथि समेत छानबीनको बाटो खुलेको स्रोत बताउँछ । सर्वोच्चका न्यायाधीशहरु अनिल कुमार सिन्हा र कुमार चुँडालको ईजलाशले यो आदेश दिएको हो । यो आदेशको सार भनेको तल्लो तहका कर्मचारी मात्रै होइन माथिल्लो तहसम्म अनुसन्धानको बाटो हो ।

‘मिति २०६६/१२/२९ र मिति २०६७/१/३१, मिति २०६७/४/२८ तथा मिति २०६९/०६/१८ को नेपाल सरकारको मन्त्तिपरिषद्को निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुनेहरु, मन्त्रालयस्तरमा सो निर्णय गर्ने किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहको पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सबालबमोजिमको ‘पिरामिड’को तल्लो तह) बाट समेत गरि अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नु, गराउनु भनी प्रत्यर्थीहरुको नाममा नेपालको संविधानको धारा १३३ को उपधारा (३) बमोजिम आदेश जारी गरिदिएको छ ।’ आदेशमा भनिएको छ ।

यो आदेशपछि विगतमा जग्गा फिर्ता गर्नेहरु समेत तानिने संभावना बढेको छ । पिरामिड शैलीको अनुसन्धानलाई अघि बढाउँदा जग्गा फिर्ता गर्ने एमाले नेता विष्णु पौडेलका छोरा र न्यायाधीश रेग्मी समेत तानिनेछन् । न्यायधीश रेग्मीले ललिता निवासको ११ आना जग्गा हात पारेका थिए । उनी पहिले ललिता निवास जग्गा काण्डका नाइकेहरु शोभाकान्त ढकाल र कुमार रेग्मीको कानुनी सल्लाहकार थिए ।