राजधानीमा मेगा कलेज बसको आतंक : थापाथलीमा मोटरसाइकल चालकको खुट्टा टुक्रियो !

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको थापाथली सुकुम्बासी बस्ति नजिकै विहिबार एउटा दुर्घटना भयो । साँझ ५ः३६ बजेको थियो । गलत तिब्र गतिमा आएको मेगा कलेज नेपाल लेखिएको बसको ठक्करबाट मोटरसाइक्ल चालकको खुट्टा टुक्रा टुक्रा भएको पत्रकार तथा प्रत्यक्षदर्शी भरत पाण्डेले बताए । ‘साथी रामु सापकोटाले रूमाल खोज्ने क्रममा कसैको टिसर्ट खोजेर ल्याउनुभयो । हामी ३/४ जनाले त्यहि टिसर्ट च्यातेर घाईतेको खुट्टा बाँधिदियौँ,’ पाण्डेले घटना विवरण लेखेका छन्,‘३÷४ जना उद्दारमा लाग्दा १०÷१२ जना मान्छेहरू भिडियो खेचेर बसेको देख्दा अस्ति धादिङमा समयमै उद्धार नपाएर निधन भएका युवाको घटना सम्झना आयो । हामी अपरिचितले राखेको प्रस्तावमा एकजना निजीकारवाला साथी एकैबचनमा घाईतेलाई अस्पताल पुरयाउन तयार हुनुभयो । तर भिडमा भएका धेरैले पुलिस आएपछि मात्र लैजानुपर्छ भन्दै रोक्नुभयो । हामीले पुलिस पछि आउँदै गर्छ भनेर ५ः४३ मा उद्दार गरेर अस्पताल पठायौँ ।’

उनका अनुुसार भाग्दै गरेको मेगा कलेजको बसलाई प्रत्यक्षदर्शीले तपाईं रङसाईडमा तिब्र गतिमा हुनुहुन्थ्यो, गल्ती तपाईँको छ भन्दा कलेजका विद्यार्थी र शिक्षकले ठूलो झगडा गरेका थिए । चालक भने चुपचाप थिए । केहिदिन अघि नवलपरासीमा पनि स्कुल बसले ३÷४ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।