प्रधानमन्त्रीका ‘मिटरब्याजी सल्लाहकार’को अडियो : ‘प्रधानमन्त्रीकै टिममा छु, फेसबुक मैचलाउँछु’ !

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रस्तावित केन्द्रीय सदस्य तथा विशेष प्रदेशका सचिवालय सदस्य श्रीबल्लव नेपालले प्रधानमन्त्री प्रचण्डको सचिवालयमा कार्यरत रहेको भन्दै मिटर ब्याज लगाउने गरेको पुष्टि भएको छ । श्रीबल्लबले पीडितलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारको टिममा रहेको र आफ्नो विरुद्ध उजुरी नदिन र उजुरी फिर्ता लिन धम्की दिएको अडियो समेत दियोपोस्टले फेला पारेको छ ।

श्रीबल्लव विरुद्ध गत साउन २२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको मिटर ब्याज तथा अनुचित लेनदेन सम्बन्धी उजुरी फिर्ता लिन उनले दबाव दिएका हुन् । उनले काठमाडौंको सिडिओ जितेन्द्र बस्नेतलाई समेत आफैले सरुवा गरेर ल्याएको तथा ललितपुर जिल्लाको सिडिओ रुद्र पण्डित पनि आफूले नै सरुवा गरेर ल्याएको उनको दाबी छ ।

‘सिडिओ जितेन्द्र बस्नेत हामीले ल्याएको हो । ललितपुरको रुन्द्र पण्डित भन्ने दाई हुनुहुन्छ । उहाँलाई पनि हामीले ल्याएको हो,’ उनले भनेका छन्,‘अब मैले प्रहरीमा एक करोड ४२ लाखको चेक हाल्नु पर्छ । अस्तीकोमा थपिन्छ । पुरक जाहेरी भनेर थपिन्छ । शुरुमै सबै चेक बाउन्स गरिसकेको हो । सबै ईन्फर्म भएको छ ।’

तत्कालिन एनआईसी एशिया बैंकका खुमलटार शाखा प्रमुख  कर्णसँग उनले मिटरब्याजको लोभमा ४५ लाख रुपैयाँ लगानी गरेका थिए । त्यसमध्ये १५ लाख रुपैयाँ उनले फिर्ता पनि पाएका थिए । बाँकी रहेको ३० लाख रुपैयाँको प्रति दिन २ प्रतिशत अर्थात दैनिक प्रति एकलाखको २ हजार रुपैयाँ ब्याज जोडेर २ करोड ३२ लाख रुपैयाँको चेक लिएर गएको पीडित कर्णको दाबी छ । नेपालको दबाव खप्न नसकेर उनले विष समेत सेवन गरेका थिए । उनको परिवारले कपनस्थित करुणा अस्पतालमा पुर्याएपछि कर्ण बाँचेका थिए ।

उनले कर्णको करोडौँको घर पास गरि मिटरब्याजको उजुरी फिर्ता लिन दबाव दिएको अडियोमा सुन्न सकिन्छ । ‘ म पर्सि सिडिओमा गएर ४६ लाखको मात्रै हो भनेर त क्लेम गर्दिन नी । त्यहाँ गएर त १ करोड ४२ लाख भन्छु नी । त्यसैको मुद्दा दर्ता गराइदिनु पर्यो नी । पक्राउ पुर्जीपनि विहान निस्कन्छ । त्यसपछि मिलाउनुस् तपाईं । त्यो पनि मैले गरेको होइन,’ उनले भनेका छन्,‘सिडिओमा तपाईंले निवेदन झिकेको भए केही फरक पर्ने थिएन । सिडिओ र प्रहरी भनेको एकै हो । तपाईंले थाहा पाइराख्नुपर्ने । उता दर्ता भएपछि तपाईं सर्लक्क मामाघर हिँड्नुपर्छ । तपाईंले बाहिरको प्रोपर्टी कोसँग डिल गरेर मिलाउन सक्छ ?’

कर्णका अनुसार ३ पटकसम्म २ करोड ३२ लाखको चेक बाउन्स गरेर उनले पक्राउ गर्छु भन्दै घर खाने नियत राखेका छन् । उनले अडियोमै उक्त लफडा आफू नेतृत्वको गन्तव्य ईन्भेष्टमेन्ट प्रा.ली र एनआईसी एशिया बैंकबीच भएको बताएका छन् । तर, उनले घर भने ब्रान्च म्यानेजरको बेचेर सल्टाउनुपर्ने बताएक छन् ।

‘बैंक र कम्पनिबीचको लफडा हो भन्न सकिन्थ्यो । तपाई भित्र पर्नुअघि सम्म सबै कुरा मिल्न सक्छ । त्यसमा छुट पनि हुनसक्छ । तर, भित्र परेपछि डबल विगो सहित जरिवाना परिन्छ । अहिले ठूलो केही जात्रा गर्न पर्दैन थियो,’ नेपालले अडियोमा भनेका छन्,‘यहाँको घर मात्रै पास गरिदिए हुन्थ्यो । २०÷२५ लाख रुपैयाँ बैंकलाई तिर्न बाँकी थियो । तपाईंको परिवार गएर आलतमा वारिसनामा दिएपछि बैंकको तिरिसकेर त्यो घर मेरो हुने थियो । त्यतिगर्दा सेटल हुन्थ्यो ।’

उनले तुरुन्त सिडिओ कार्यालयमा पुगि उजुरी फिर्ता लिन समेत दबाव दिएका छन् ।

‘त्यो भन्दा अगाडी तपाईं दौडिएर गएर सिडिओ कार्यालयमा दिएको निवेदन फिर्ता लिन पर्यो । त्यसपछि उसले मसँग थप डकुमेन्ट लिन परेन नी । तपाईं सिडिओ कार्यालयमा गएर के पाउँनु हुन्छ ? म त मान्छे छुटाउन गएको छु । मेरो सोर्स छ । त्यहीदिन तपाईं पक्राउ पर्नुहुन्छ,’ उनले अडियोमा भनेका छन्,‘त्यो पछाडीबाट खेल्ने मान्छे को हो हिन्स मात्रै थाहा होस् म एक दुईवटा मिडिया लगाएर सकाइदिन्छु । अस्ति विभागले एक दुई वटा केसमा बोलाएको थियो । म सिधै ऋषी धमलालाई फोन गरेर ल हिँड्नुस् त भनेर ठाउँमा लान्थेँ । पीडित पनि हिँड्नुस् भन्थेँ । अनि धोती खुस्काएर भाग्थे । माफी माग्थे खुट्टा ढोग्थे । मलाई ई गोमा नचलाउनुस् । म सक्काउने मान्छे हो ।’

माओवादी केन्द्रको प्रस्तावित केन्द्रीय सदस्य समेत रहेका नेपालले आफू प्रधानमन्त्रीको पत्रकार टिममा रहेको र आफू सम्पादक समेत रहेको बताएका छन् । ‘अहिले पनि म प्रधानमन्त्रीकै पत्रकार टिममा छु । म त्यस्तो गिजिनुपर्ने मान्छे होइन । प्रधानमन्त्रीको भाईहरुको फेसबुक मैले चलाउँछु । पत्रकार हुँ । अहिलेपनि सम्पादक हुँ,’ उनले भनेका छन् ।

अडियो सुन्नुहोस्

 

सिफारिस