अध्यागमन विभागका महनिर्देशक अधिकारी र सुन तस्कर दावाबीच गहिरो कनेक्सन !

अधिकारीलाई महानिर्देशक बनाउन प्रधानमन्त्रीकै भूमिका

- दियोपोस्ट  

काठमाडौं । ६० किलो सुन तस्करीका मुख्य योजनाकार मध्येका एक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको कनेक्सन देखिएको छ । अधिकारी दावा र छिरिङबीच विच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरु भएको तथ्यहरु फेला परेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको सुनको अनुसन्धानमा तस्करीका नाइके दावा छिरिङ र गृह मन्त्रालयका सबैभन्दा मह्त्वपूर्ण र संवेदनशील मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारीबीच सुन तस्करीको पूर्व सूचना आदान–प्रदान र रकम लेनदेनमा व्यापक कुराकानी र संवाद भएको प्रमाण फेला परेको हो । अधिकारी र दावाबीचको संवाद हेर्दा सुन तस्करी योजनाबद्ध रुपमा नै भएको देखिएको छ । अधिकारीको संलग्नतासँगै यसको सिधा कनेक्सन गृह मन्त्रालयसम्मै रहेको हुन सक्ने स्रोतको दाबी छ ।
सीआईबीले फेला पारेको तथ्यअनुसार महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदानप्रदानको कुराकानी मात्रै भएको छैन, ठुलो बिजनेस सञ्चालन गर्ने त्यसो गर्दा ठुलो रकम आउने कुरासमेत भएको देखिन्छ । सुन तस्करी छानमिन गर्ने क्रममा ती मेसिनहरु बरामद भएको हो ।
दावाले विभिन्न सन्र्दभमा अधिकारीलाई बधाईसमेत दिएका छन् । अधिकारी र दावाको वच्याटमा दुवै जनाको लागि राम्रो बिजनेस भएको र ठुलो परिमाण नगद कारोबारको कुराकानी भएको प्रमाण सीआईबीले फेला पारेको स्रोतको दाबी छ ।
तस्कर समूहले आयात गर्ने तस्करीको सुन विवरण अध्यागमन विभागका महानिर्देशकमार्फत गृह मन्त्रालय र सुरक्षा निकायलाई पुग्ने गरेको सीआईबीका अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ । ‘हाल गृह मन्त्रालयको मातहतको अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका महा–सचिव झलकराम अधिकारी र दावाबीच लामो कुराकानी हुने गरेको र ती सबै विमानस्थलबाट सुन पास गराउने र रकम लेनदेनसँग सम्बन्धित देखिएको छ,’ सीआईबी स्रोतले भन्यो–‘ कुन वस्तु भित्र राखेर सुन ल्याइँदै छ भन्ने जानकारी दावा छिरिङले अधिकारीलाई पहिल्यै पठाउँथे । ’सीआईबी स्रोतले विभागमा महानिर्देशक र तस्कर दावाबीच गहिरो सम्बन्ध रहेको पाइएको जानाएको छ ।

नेपाल समाचार पत्रबाट