कांग्रेसी मेयरको वितण्डा : झूटो आरोपमा कर्मचारीको काज फिर्ता, कानुनको धज्जी !

दियो पोस्ट  

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाहीले संघीय मामिला मन्त्रालयमाथि धावा बोल्दै २४ महिना काम गरेका शिक्षा अधिकृत दिलीपकुमार सोनीलाई अपमानजनक आरोप लगाउँदै काज फिर्ताको पत्र थमाएका छन् । ‘सोनीको कुनै काम सन्तोषजनक नभएको र सरकार विपरीत कामकाज गरेको’ आरोप मेयरले लगाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट दुई वर्ष चार महिना अगाडि काज सरुवा भएर काम गरिरहेका अधिकृत सोनीलाई मेयर शाहीले कानुन विपरीत काज फिर्ता गराएका हुन् । शाहीले चौरजहारी नगरपालिका रुकुम पश्चिममै काज फिर्ता गरेको पत्र थमाएका हुन् । सोनी मन्त्रालयबाट २०७७ फागुन १४ गते चौरजहारीबाट चामुण्डा काजमा खटाइएका थिए ।

शाहीले गरेको काज फिर्ताको निर्णय सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘लोकसेवाबाट स्थानीय तहमा सिफारिस भइ स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ विपरीत देखिएको छ ।
साढे दुई वर्ष काम गरेपछि कुनै पनि काम सन्तोषजनक नभएको भन्दै शाहीले सोनीमाथि सरकार विपरीत कामकाज गरेको आरोप लगाएका छन् । तर उनले के आरोप भनेर खुलाएका छैनन् । काम गरिरहेका कर्मचारीको पेशा, व्यवसायिकता र प्रतिष्ठामा आँच आउने गरी शाहीले गलत नियतले काज फिर्ताको पत्र थमाएका हुन् ।

जुन काज फिर्तामा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका बहुमत कार्यपालिका सदस्यहरूले सोनीको काज फिर्तामा असहमति जनाएको दाबी गर्दै विज्ञप्ति नै निकालेका छन् ।

‘चामुण्डा बिन्द्रासैनी नगरपालिकामा निर्वाचित भए यता हामि कार्यपालिका सदस्यहरुको सहभागिता बिना नै नगर प्रमुखको एक लैटि निर्णयले यस चामुण्डा बिन्द्रासैनी नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरु आतंंकित हुनुका साथै कर्मचारीहरुको कार्य सम्पादन पक्ष र शिक्षा क्षेत्रमा गम्भीर असर परेको कुरा सबैमा सर्वविधितै छ’ उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘मिति २०८० श्रावण २८ गतेका दिन चामुण्डा विन्द्रासैनि नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाहीद्वारा प्रेसित पत्रमा चामुण्डा बिन्द्रासैनि नगरपालिका शिक्षा शाखा प्रमुख दिलीपकुमार सोनीको काज फिर्ता गरिएको पत्रको विषयमा हामी बहुमत कार्यपालिका सदस्यहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सोनीको कामकाज सन्तोषजनक नभएको र सरकार विपरीत कामकाज गर्दै आएको भनि उल्लेख भएको आरोपमा कुनै सत्यता नभएको उनीहरूको भनाइ छ ।
‘निज दिलिप कुमार सोनिले यस नगरपालिकामा कार्य सम्पादन गर्दा सुरुदेखि हाल सम्म त्यस्तो कुनै पनि व्यावहार गरेको नदेखिएको हुँदा नगर प्रमुखको यस्तो गैर जिम्मेवार निर्णयले इमान्दार राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित पार्ने र व्यक्तिगत चरित्रमाथि धावा बोल्ने कार्यलाई प्रोत्साहन गरेको देखिन्छ । नगरपालिका हामी सबैको हो सरकारी सेवामा रहनु सबै नेपालि नागरिक हरुको अधिकार हो’ उनीहरूले भनेका छन्, ‘तर विगत देखि नगर प्रमुखको आफ खुसि निर्णयले गम्भिर स्थिति निम्त्याएको छ । नगर प्रमुखज्यू यस्ता कमजोरी हरु भुलबस नभइ नियतबस भएको हाम्रो ठहर छ । भविष्यमा यस्ता कार्य नसच्याए नगर सरकार प्रमुख विपरी प्रस्तुत भइरहने जानकारी गराउँदछौ ।’
बरु मेयर शाहीले उल्टै करार शिक्षक कर्मचारीहरूलाई आतंकित बनाउने गरेको आरोप लगाएका छन् ।

‘स्मरणरहोस् ः शिक्षा क्षेत्र समायोजन होइन सुचारु गर्नुपर्छ । करार शिक्षक तथा कर्मचारीहरुलाई आतंंकित बनाउन अपराध हो’ उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘फजुल खर्च घटाइयोस् । बहुमत कार्यपालिकाको निर्णयलाई मजमर्जी फेरबदल गर्ने कार्य बन्द गरियोस् । तत्काल कार्यपालिकाको बैठक बोलाइयोस् ।’

मेयर शाही गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी भएका थिए ।

विज्ञप्ति जारी गर्दै शिक्षा अधिकृत सोनीले आफूमाथि गलत आरोप लगाइएको भन्दै आरोप पुष्टि गर्न चुनौती नै दिएका छन् । आफ्नो छविमा असर पर्ने गरी कुनै लिखित र मौखिक स्पष्टीकरणको मौकासमेत नदिइ नगर प्रमुखले काजफिर्ताको अधिकारविना कसैलाई पनि जानकारी नदिइ यस्तो निर्णय गरेको जनाएका छन् । आफ्नो व्यक्तिगत स्वार्थपूर्ति नहुँदा एकलौटी गरिएको निर्णयले आफूमाथि अन्याय भएको भन्दै सोनीले नगर प्रमुख र यसमा सघाउने कर्मचारीमाथि कानुनी कारवाहीको माग गरेका छन् ।