‘भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको कुर्सीबाट लड्नुस्, चोकको मोर्चाबाट हामी लड्छौं’

दियो पोस्ट  

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले सरकारले भ्रष्टाचार र मानव बेचबिखनविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहालले लड्नुपर्ने बताएका छन् ।

समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको सभामा बोल्दै उनले  प्रधानमन्त्रीको कुर्सीबाट भ्रष्टाचारविरुद्ध लडेमा सडकबाट आफूले साथ दिने  बताएका हुन् ।

‘नेपाललाई यहाँसम्म पुर्‍याउने माओवादी हो। नेपाली जनताको त्याग र नेताहरूको योग्दानले मुलुक परिवर्तन भएको छ,’ उनले भने, ‘मोर्चाभित्रका दलका आफ्नै उद्देश्य छन्, तर विश्व राजनीतिक ध्रुवीकरणले नेपालमा प्रभाव पार्दैछ। यसले देशमा जटिल परिस्थिति निम्त्याएको छ।’

प्रतिगामी र पश्चगामी तत्त्वहरूले नेपाली जनतामा भ्रम फिँजाइरहेको उनले बताए।

 ‘तपाईं प्रधानमन्त्रीको कुर्सीबाट लड्नुस् चोकको मोर्चाबाट हामी लड्छौं,’ उनले भने, ‘कुनै पनि भ्रष्टाचारीलाई छुट दिन आवश्यक छैन । राता हुन्, काला हुन् कि सेता हुन् भ्रष्टाचारीलाई छोड्नु हुँदैन ।’

यही परिस्थितिलाई ध्यानमा राख्दै सुसंगठित मोर्चा आवश्यक ठानेर समाजवादी मोर्चा बनाएको विप्लवको भनाइ छ।

‘क्रान्तिबाट हासिल भएको परिवर्तनको रक्षा गर्नु, देशलाई २१ औं शताब्दीमा उपनिवेशमा पार्न खोज्ने तत्त्वविरुद्ध लड्न स्वाधीनताको रक्षा गर्नु मोर्चाको प्रमुख उद्देश्य हो,’ उनले भने।