काठमाडौं । स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले संघमा फर्किनका लागि नक्कली रोगी भएको प्रमाण पेश गरिरहेका छन् । ढाड खिइएकाले उकालो ओरालो हिंड्न नहुने, हात भाँचिएको, हाइपर टेन्सन जस्ता ८ वटा रोग लागेको देखाउँदै स्थानीय तहबाट संघमा फर्किनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा निवेदन पेश गरेका छन् ।
यसरी निवेदन पेश गर्नेहरुमा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेल र नेकपा निकट निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा पनि छन् । पानी बढुवा भएका अधिकृत पोखरेलको समायोजन खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भएको छ ।
देवकोटाको सरुवा दोलखाको मेलुङ गाउँपालिकाको लेखा अधिकृतमा भएको छ । उनीहरुले मानसिक समस्या(डिप्रेसन) भएको मेडिकल बोर्डको सिफारिस पेश गरेका छन् । संघमै दरबन्दी कायम गराउनका लागि उनीहरुले चिनेका चिकित्सकबाट रोग लागेको प्रेस्क्रिप्सन पेश गरी मेडिकल बोर्डबाट सिफारिस लिएर पेश गरेका छन् । चिकित्सकको सिफारिसमा बोर्डले चिकित्सकको निगरानीमा रहनुपर्ने भएकाले भनी सिफारिस दिने गर्दछ ।
वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी अध्यक्ष रहेको मेडिकल बोर्डमा डा. बिधाननिधि पौडेल र डा. किरण श्रेष्ठ छन् । तीन सदस्यीय यो बोर्डले सिफारिस गरेपछि रोजेकै कार्यालयमा दरबन्दी हुन्छ । तसर्थ बोर्डको सिफारिस लिनका लागि आर्थिक चलखेल हुने गरेको छ । स्थानीयमा समायोजन भएका कर्मचारीहरुले बोर्डबाट सिफारिस गराउन आर्थिक चलखेल गरेको स्रोतको दाबी छ । ३ सय ५० भन्दा बढी कर्मचारीले आर्थिक चलखेलका आधारमा कुनै रोग नै नलागेको भए पनि कडा रोग लागेकाले डाक्टरको प्रत्यक्ष निगरानीमा बस्नुपर्ने सिफारिस बोर्डबाट लिएका छन् ।
यसरी सिफारिस लिनेमा हट्टाकट्टा र तन्दुरुस्त कर्मचारी बढी छन् । बोर्डबाट सिफारिस लिनेहरुमा बढी स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीको मेडिकल बोर्डबाट सिफारिस गराउने र स्थानीयबाट संघमै कायम गराउनका लागि स्वास्थ्य सचिव डा पुष्पा चौधरी र सहसचिव महेन्द्र श्रेष्ठसँगै सेटिङ हुने गरेको छ । जुन सेटिङ मिलाउने काम बोर्डका अहेब खुवराज आचार्यले गर्दै आएका छन् । खुबराज कांग्रेस समर्थक कर्मचारी भएकाले उनले स्वास्थ्य मन्त्रालयका सेटिङमा काम गर्दैआएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख हुन्, केदार पनेरु । उनलाई सेटिङ गर्ने काम वीर अस्पतालकै अर्का अहेब टीकाराम पनेरुले गर्दैैआएका छन् । मेडिकल बोर्डको सिफारिसका लागि आर्थिक चलखेल गर्ने वीर अस्पतालका कर्मचारीहरुमा अहेब विष्णु फुयाल, सविता जोशी, टीकाराम पनेरु, युवराज सुवेदी, डिल्लीराम आचार्य, जीवनकुमार श्रेष्ठ, डिल्लीराम खनाल, अरुणकुमार महतो पनि हुन् । यिनीहरुमध्ये फुयाँल नेकपा निकट हुन् भने महतो स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवका निकट हुन् ।
अर्थमा बसी रसुवा भन्सारबाट मात्रै ३५ करोड घुस असुली गरी आएका केदार पनेरुले समायोजनमा पनि घुस असुलेर नपुगी नक्कली रोगी कर्मचारीहरुसँग पनि खान थालेका छन् । पनेरु, सामान्यकै अर्का सहसचिव बाबुराम अधिकारी र रुद्रसिंह तामाङले पनि हट्टाकट्टा कर्मचारीलाई रोगी भनेर स्थानीयबाट संघमा फर्काएका छन् । मेडिकल बोर्डबाट कडा रोग लागेको सिफारिस गराएबापत प्रतिब्यक्ति ३ लाखदेखि ३ लाख ५० हजारसम्मको आर्थिक लेनदेन बीचौलियाहरुले गरेका छन् ।
स्थानीय तहमा सरुवा भएका करिब ३ सय ५० कर्मचारीले कुनै रोग नलागे पनि कडा रोग लागेको सिफारिस मेडिकल बोर्डबाट ल्याउँदै पेश गरी संघमै दरबन्दी कायम गराएका छन् । पनेरुदेखि फुयाँल, आचार्य यी सबै अहेब स्थानीय तहमा समायोजन भएका थिए । उनीहरुले मेडिकल बोर्डबाट कडा र जटिल रोग लागेको सिफारिस गराएका छन् । तर, उनीहरुको स्वास्थ्य जाँच गर्ने हो भने उनीहरुले कीर्ते गरेको खुल्ने सामान्य प्रशासन मन्त्रालय स्रोतले बताएको छ । विहिबारको युनाइटेड पोस्टमा समाचार छ ।