ट्र्याक खोल्न ढिलाइ हुँदा योजना प्रभावित

दियो पोस्ट  

काठमाडौं, साउन २० । काठमाडौँ, साउन २० गते । उच्च आर्थिक एवं व्यापारिक महŒवको उत्तर–दक्षिण व्यापारिक मार्ग कोसी करिडोरको १४ किलोमिटर ट्र्याक खोल्न ढिलाइ हुँदा समग्र योजना नै प्रभावित बनेको छ । पछिल्लो आठ महिनायता ट्र्याक खोल्ने कार्यमा कुनै प्रगति देखिएको छैन ।
उत्तर–दक्षिण व्यापारिक राजमार्ग आयोजनाका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन र विस्फोटक पदार्थ (जिलेटिन)को आपूर्ति तथा बङ्कर निर्माणमा ढिलाइ हुँदा ट्र्याक खोल्ने कार्य अवरुद्ध बनेको हो । आयोजना प्रमुख शिव नेपालले कुल ३९० किलोमिटरको कोसी करिडोरअन्तर्गत विराटनगरको रानीदेखि खाँदबारीसम्मको २२८ किलोमिटर सडक विभिन्न चरणमा निर्माण भइसकेको बताउनुभयो ।
करिडोर निर्माण भएपछि ३९० किलोमिटर दूरीले दुई विशाल छिमेकी चीन र भारतलाई जोड्ने छ । उत्तर दक्षिण व्यापारिक मार्गअन्तर्गत कोसी करिडोर निर्माण आयोजना राष्ट्रिय गौरवको आयोजना हो । कोसी करिडोरलाई हिमाल, पहाड र तराई मधेस जोड्ने आर्थिक समृद्धिको एक महŒवपूर्ण मार्गका रूपमा हेरिन्छ । करिडोरले मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम हुँदै सङ्खुवासभा जिल्लालाई जोड्ने छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटा भन्नुहुन्छ, “दुई छिमेकी राष्ट्रलाई जोड्ने कोसी करिडोरले नेपालको आर्थिक समृद्धि र समाजिक रूपान्तरणमा महŒवपूर्ण टेवा पु¥याउने छन् । ” सङ्खुवासभाको खाँदबारी र चीन प्रशासित तिब्बतसित जोडिएको उत्तरी सीमा किमाथाङ्कासम्मको १६२ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ ।
सङ्खुवासभाको खाँदबारीबाट चेन्ताङसम्म १३४ किलोमिटर र उत्तरी सीमा किमाथाङ्काबाट घोँघपासम्मको १४ किलोमिटर ट्र्याक खुलिसकेको छ । खाँदबारी–किमाथाङ्का आयोजना प्रमुख इन्जिनियर गौतम श्रेष्ठले बीचमा चेन्ताङदेखि घोँघपासम्म १४ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको बताउनुभयो । उक्त क्षेत्रमा ट्र्याक खोल्ने कार्य झन्झटिलो छ । आयोजना प्रमुख शिव नेपाल भन्नुहुन्छ, “विस्फोटक पदार्थ प्रयोग गरेर ट्र्याक खोल्नुपर्ने हुँदा विस्फोटक भण्डारणका लागि करिब दुई करोड रुपियाँको लागतमा बङ्कर निर्माण भइरहेको छ । ”
बङ्कर निर्माण भएलगत्तै विस्फोटक भण्डार गरेर द्रुत गतिमा ट्र्याक खोल्ने कार्य सुरु हुने प्रमुख इन्जिनियर श्रेष्ठले जनाउनुभयो । ट्र्याक खोल्न बाँकी रहेको १४ किलोमिटर क्षेत्रमा ठाडो भीर एवं ५० मिटर माथिसम्मको चट्टाने भूभाग पर्छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सापकोटाले आठ महिनादेखि प्राविधिक र नीतिगत कठिनाइकै कारणले अवरुद्ध हुन पुगेको ट्र्याक खुलाउन मन्त्रालय गम्भीर भएर लागेको बताउनुभयो । उहाँले उक्त कार्यको जिम्मेवारी नेपाली सेनालाई दिनेबारेसमेत छलफल भइरहेको जानकारी दिनुभयो । मन्त्रालयले बङ्करको सुरक्षा, विस्फोटक पदार्थको आपूर्ति र ट्र्याक खोलाउन नेपाली सेनालाई जिम्मा दिनेबारे छलफल गरिरहेको छ ।
प्रमुख इन्जिनियर श्रेष्ठ भने बङ्कर निर्माण र विस्फोटक पदार्थ समयमै आपूर्ति भए तीन महिनाभित्र पूरै ट्र्याक खोल्न सम्भव रहेको दाबी गर्नुहुन्छ । ट्र्याक खुलेको अवस्थादेखि सडकमा कालोपत्रे गर्न कम्तीमा दुईदेखि तीन वर्षसम्म लाग्छ । ट्र्याक बनिसकेको १४८ किलोमिटर खण्डमा मर्मत, सुधार तथा स्तरोन्नतिका कार्यहरू हुँदै आएका छन् । उक्त मार्गको ६९ किलोमिटर खण्डमा ग्राभेलको कामसमेत सकिएको छ ।
करिडोर निर्माण २०७७÷७८ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २०६५÷६६ देखि कोसी करिडोरको निर्माण सुरु भई २०७०÷७१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर उक्त अवधिमा २५ प्रतिशत निर्माण पनि पूरा नहुँदा संशोधन गरी २०७७÷७८ सम्म सम्पन्न हुने लक्ष्य निर्धारण गरिएको छ । करिडोरको कुल लागत पाँच अर्ब ७९ करोड रुपियाँ अनुमान गरिएको छ ।
आयोजनाका अनुसार खाँदबारी–किमाथाङ्का सडकमा कुल २० वटा पुलको लगत देखिएको छ । पाँचवटा पुलको डिजाइन स्वीकृत गर्ने चरणमा छ । नौवटा पुलको निर्माणका लागि ठेकेदार कम्पनीसित सम्झौता भइसकेको छ तर सम्झौता भएको पुलको निर्माण पनि ठप्प छन् । तीनवटै पुल मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ ।
अवरोधको कारण खुलाउँदै प्रमुख इन्जिनियर श्रेष्ठ भन्नुहुन्छ, “सुरुमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्न नपर्ने भनियो तर निर्माण सुरु गर्दा रोकिएपछि मूल्याङ्कन गरेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पठाएका छौँ । ”
कोसी करिडोरकै अर्को खण्डले चीन प्रशासित तिब्बती सीमासित जोडिएको ताप्लेजुङको ओलाङचुङ्गोलालाई पाँचथर, तेह्रथुम, धनकुटा हुँदै सुनसरीको चतरासँग जोड्ने छ । पाँचथरको गणेशचोकदेखि चतरासम्मको लम्बाइ १४८ किलोमिटर छ । ताप्लेजुङको ओलाङचुङ्गोला र सङ्खुवासभाको किमाथाङ्काबीचको दूरी ४१ किलोमिटर छ ।
गोरखापत्र दैनिकबाट