काठमाडौं, भदौ १२ । पटकपटक आकर्षक वैदेशिक रोजगारीमा लगाइदिने भन्दै ठगीका घटना सार्वजनिक भइरहेपनि घटना घट्ने क्रम भने रोकिएको छैन । विभिन्न बहानामा ठगी भैरहेकोे छ ।
पछिल्लो समयमा तुर्किस्तान पठाईदिन्छु भनी विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको घटना सार्वजनिक भएको छ । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा काठमाडौं जोरपाटी बस्ने रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
हर्कबहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका ६ बस्ने एक व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाई दिने र मासिक एक हजार २ सय डलर तलब र खान बस्नसमेत दिने प्रलोभन देखाई नक्कली टिकटसमेत बनाई रु तीन लाख ठगी गरेको प्रहरीले जनाएको छ ।
उनी अहिले सम्पर्क विहिन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जोरपाटी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य चार जना व्यक्तिबाटसमेत जनही रु तीन लाखका दरले रकम लिई ठगी गरेको खुल्न आएको उहाँले जानकारी दिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।