गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बस्नेत बजेट ल्याउन असफल : बस्नेतकै आदेशमा रोकिएको खुलाशा !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता,


धादिङ, ३२ साउन । देशभरका अधिकांश स्थानिय निकायहरुले आफ्नो बजेट प्रस्तुत गरेको झण्डै डेढ महिना भइसकेको छ । तर, धादिङको गजुरी गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेको छैन ।

आर्थिक वर्ष अन्त्य भएर नयाँ आर्थिक वर्ष शुरु हुँदा समेत गाउँपालिकाले बजेट ल्याउन नसकेपछि विकास निर्माण मात्रै होइन गाउँपालिकाको नै अनिर्णयको बन्दी बनेको छ ।

गाउँकार्यपालिकाले गत असार १५ गते गाउँ सभा गर्ने कार्यसुचि बनाएको थियो । कार्यपालिकाका अधिकांश सदस्य बजेट निर्माणमा लागेका थिए ।

तर, १४ गते नै अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको निर्देशनमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले गाउँसभा स्थगित भएको सुचना टाँसिदिएपछि हालसम्म बजेट आउन सकेको छैन ।


‘अध्यक्ष ज्युले गाउँकार्यपालिकालाई जानकारी नै नदिई एक दिन अगाडी अर्थात असार १४ गते नै सुचना टाँसेर गाउँसभा स्थगित गरिदिनु भयो ।

उहाँले किन रोक्नु भयो उहाँलाई नै थाहा होला,’ वडा नम्बर ६ का अध्यक्ष अर्जुन भुजेल भन्छन्,‘कसले के विपत्ति ल्यायो ? किन बजेट रोकियो भनेर हामीले जवाफ मागेका छौँ तर अहिलेसम्म जवाफ पाएका छैनौँ ।


गत असार २५ गते बसेको कार्यापािलकाको बैठकले बजेट रोकिएको विषयमा गाउँपालिका अध्यक्ष बस्नेतसँग स्पष्टिकरण समेत सोधेको थियो । तर, उनले स्पष्ट जवाफ नदिएको अर्का वडाध्यक्ष बताउँछन् ।


‘असार १० गते बजेट तर्जुमा समितिको बैठकले १५ गते नै गाउँसभा आयोजना गरेको हो,’ एक अर्का वडाध्यक्ष भन्छन्,‘तर, अध्यक्ष बस्नेतको निर्देशनमा सभा नै रोकियो । हामीले प्रश्न उठायौँ तर अहिलेसम्म चित्त बुझ्दो जवाफ आएको छैन ।’


वडा नम्बर ५ का अध्यक्ष रामचन्द्र मिजारले पनि गाउँपालिका अध्यक्षले सुचना जारी गराएर बजेट रोकेको बताए ।


वडा नम्बर ८ का वडाध्यक्ष राजकुमार ढुंगानाले गाउँपालिका अध्यक्षले कार्यपालिकालाई जानकारी नै नदिइ बजेट रोकेको बताए । ‘असार ९ गतेदेखि नै बैठक राखेर १० गते नीति तथा कार्यक्रम ल्याएका हौँ ।

असार १२ गते पनि तर्जुमा समितिको बैठकक बसी १५ गते बजेट ल्याउने र १७ गतेसम्म सम्पन्न गर्ने कार्यसुचि बनाएका थियौँ,’ ढुङ्गाना भन्छन्,‘अध्यक्ष ज्युले सुचना टाँसेर बजेट रोक्नु भएछ । हामी कार्यापालिका सदस्यले जानकारी पाएनौँ ।’


वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र प्रजा र वडा नम्बर २ का अध्यक्ष चुणामणी कँणेललाई बजेटको विषयमा जानकारी लिन पटक पटक फोन गर्दा पनि उठाएनन् ।


प्रमुख प्रशासकीय अधिकृत भन्छन्,‘अध्यक्षको निर्देशनमा बजेट रोकिएको हो’


तत्कालिन प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले नै बजेट रोकिएको विषयमा सुचना टाँस गरेका थिए । उनलाई उक्त सुचना किन टाँसिएको हो भनेर दियोपोष्टले प्रश्न गरेको थियो । जवाफमा अर्यालले गाउँपालिका अध्यक्षकै निर्देशनमा बजेट रोक्ने सुचना टाँसेको बताए ।


‘अरु धेरै कारण त हामीलाई थाहा हुन्न । अध्यक्षज्युले रोक भनेपछि उहाँको आदेशानुसार गर्ने हो । अहिले तत्काल भ्याइएन । तयारी पनि पुगेन । भन्ने कुरा भएपछि सुचना टासेर रोकिएको हो,’ उनले भने,‘सभाको अध्यक्ष त हाम्रो अध्यक्ष हो । उहाँको अर्को आदेश नआउँदासम्मका लागि स्थगित भएको हो ।’


स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष वा उपप्रमखिले आगामी आर्थिकवर्षएको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्विकृत गराई असार १० गते भित्र सभामा पेश गरिसक्नुपर्छ । उपाध्यक्षले सोही ऐन अनुसार असार १० अघि नै बजेट कार्यापालिकामा स्विकृत गराएर पेश गरेको पाइएको छ ।


‘पहिले कार्यापालिकाले निर्णय गरेर मिति समेत तोकेको हो । असार १५ मै ल्याएको भए सकिन्थ्यो । नल्याउने भएपछि अर्को मिति तोक्नुपर्छ,’ अर्याल भन्छन्,‘बजेट जहिले मनलाग्यो त्यहि बेला ल्याएर हुन्न । असार १० सम्म पेश गरिसक्नुपर्छ । असार मसान्तसम्म पास गरिसक्नुपर्छ । नयाँ आर्थिक वर्षका लागि नयाँ बजेट हो । नयाँ आर्थिक वर्षमा पुरानो बजेट चलाउन पाइँदैन भन्ने कुरा स्थानिय सरकार सञ्चालन ऐनले स्पष्ट व्यवस्था गरेको छ ।’

अर्यालले राजनीतिक रुपमा बजेट नआएपछि कर्मचारीले केही पनि गर्न नसक्ने बताए । बजेट रोकिँदा गाउँपालिका नै अनिर्णयको बन्दी भएको उनी बताउँछन् ।


‘गाउँपालिका नै अनिर्णयको बन्दी भयो । खर्च गर्ने अख्तियारी नै हुन्न । न चेक काट्न पाउँछ । न त खर्च नै गर्न पाउँछ । सभाले पास नगरी बजेट नै बन्दैन,’ अर्याल भन्छन्,‘सभाले बजेट दिएपछि मात्रै खर्च गर्ने अख्तियारी हुन्छ । अख्तियारी नै नभएपछि कसरी खर्च गर्न मिल्छ ?’

हालै गजुरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आएका राजन घिमिरेले हालसम्म कुनै चेक नै नकाटेको बताए ।

कोरोनाले बजेट ल्याउन सकिन : अध्यक्ष बस्नेत


झण्डै डेढ महिनासम्म बजेट ल्याउन नसकेर लाचारी देखाएका गाउँपालिका अध्यक्ष बस्नेतले कोरोनालाई कारण देखाएर बजेट नआएको लाजैमर्दो प्रतिक्रिया दिए । कोरोना विश्वभरमा फैलिएको महामारी हो । कोरोनाको संक्रमणबाट नेपाल अछुतो रहन सकेको छैन । यद्धपी असार पहिलो र दोस्रो हप्ता देशभरका अधिकांश स्थानिय निकायले बजेट ल्याएका थिए । कोरोना महामारी गजुरीमा मात्रै होइन देशैभरका स्थानिय निकायले सामना गरेका थिए । तर, गाउँपालिका अध्यक्ष बस्नेतले भने कोरोनालाई कारण देखाएर बजेट ल्याउन नसकेको बताए ।

‘नीति तथा बजेट चाहीँ उ गर्यो । त्यो कुरा पार्नेहरुमा बाढी पहिरो पनि लाग्यो,’ अस्पष्ट भाषामा अध्यक्ष बस्नेतले भने,‘कोरोना त्यही उ चाहीँले अलिकति अफ्ट्यारो बनायो । हाम्रो ८ गते छ । हामीले खर्च गरेका छैनौँ ।’


कार्यापालिकाको बैठकबाट असार १५ मा बजेट ल्याउने निर्णय किन रोक्नुभयो भन्ने प्रश्नमा बस्नेतको जवाफ छ,‘वडाबाट सिलिङ अनुसार बजेट आएन । वडाकै वडाध्यक्षहरु पनि विरामी पर्नुभयो र छलफल प्रयाप्त भएन । बैठक राख्न भ्याइएन ।’

यद्धपी उनले सुचनामा भने यस्तो कुनै कारण उल्लेख गरेका छैनन् ।


कोरोना फैलन थालेपछि बजेट ल्याउने तयारी !

कोरोना भाइरस कोभिड १९ को महामारी बढ्दो छ । आइतबार मात्रै ६ सय ४१ जना संक्रमित थपिएका छन् । स्थानिय प्रशासनले धमाधम कर्फयु लगाइरहेका छन् । तर, गजुरी गाउँपालिकाले भने कोरोना महामारी बढेपछि बजेट ल्याउने र गाउँसभा गर्ने तयारी गरेको देखिएको छ ।

अध्यक्ष बस्नेतका अनुसार कार्यापालिकाकै निर्णय अनुसार आगामी भदौ ८ गते गाउँसभा आयोजना गरिएको छ । स्मरण रहोस् धादिङ कोरोना संक्रमणमा रेड जोनमा परेको जिल्ला हो ।

सम्बन्धित खबर