दियोपोस्ट संवाददाता
रामेछाप, ६ भदौ । स्थानीय तहमा कर्मचारीहरुले कमिसन माग्ने गरेका घटना नौला हुन छोडिसकेका छन् । उपभोक्ता समिति मार्फत कमिसन नलिई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत भुक्तानी दिनै नमान्ने गुनासो पनि ब्यप्त सुनिने गरेकै छ । अपवादमा थोरै प्रतिशत कर्मचारी इमान्दर रहेपनि स्थानीय तहमा कर्मचारीहरुले राम्रै राइदाई मच्चकाइरहेका छन् ।
स्थानीय तहमा खाता सञ्चालन हुने कर्मचारीकै हो । चेकमा हस्ताक्षर पनि उनीहरुकै चल्छ । कार्यालयलाई आवश्यक पर्ने विभिन्न बस्तु खरिददेखि लिएर स्थानीय तहबाट प्रवाह हुन बोलपत्र आह्वानको सूचनामा समेत मोटो कमिसन असुल्ने गरेको पछिल्लो उदाहरण रामेछापको खाँडादेवी गाउँपालिकामा देखिएको छ । खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्– महाप्रसाद दंगाल ।
उनी खानेपानी विभागबाट पहिलो पटक स्थानीय सरकारको जिम्मेवारी सम्हाल्दै खाँडादेवी गाउँपालिका आएका हुन् । विभागमा रहदा स्टोर समेतको जिम्मेवारी सम्हाले काम गरेका दंगाललाई कहाँबाट कति कमिसन आउछ भन्ने राम्रो हिसाब किताब पनि थाहा नहुने कुरै भएन । खाँडादेवी गाउँपालिकामा उनले जिम्मेवारी सम्हालेको झण्डै एक बर्ष भएको छ । सुरुमै उनले गाउँपालिकाको सामाग्री खरिदमा र्याल काटेपछि गाउँपालिकाले कुनै पनि सामान खरिद गर्दा अनिवार्य अनुमति लिनुपर्ने प्रावधान राखेपछि उनको आम्दानीको स्रोत सुकेको गाउँपालिकाको स्रोत बताउछ ।
उपभोक्ता समितिबाट समेत उनले आफ्ना केही विश्वासिला कर्मचारी परिचालन गरेर कमिसन माग्ने गरेको समेत चर्चा गाउँपालिकाभित्र चल्ने गरेको छ । यतिसम्म कि केही वडाअध्यक्षहरुले छ महिना अघि नै कमिसन माग्ने प्रमुख प्रशासकीयलाई राख्न नहुने समेत माग राखेको बताउँदै स्रोतले भन्यो,‘कर्मचारीलाई तलब भत्ता दिएको छ, त्यही माथि कमिसन पनि खान खोज्ने यस्ता खुस्याह कर्मचारी किन राख्ने ?’
गाउँपालिकाले उनको क्रियाकलापमाथि निगरानी गर्दै सावधानी अपनाएकै कारण गाउँपालिकाबाट हुने सामाग्री खरिदमा हुने लाखौ रुपमा कमिसनको चक्कर रोखिएको छ । तर दंगाल यतिसम्म गर्न सक्ने व्यक्त हुन् उनले घरायसी काम पर्यो भन्दै काठमाडौं गएर गाउँपालिकासँग कुनै परामर्श नै नगरी लगातार तीन वटा बोलपत्र आह्वानको सूचना प्रकाशित गरेर ८० प्रतिशत कमिसन लिएको खुलासा भएको छ ।
गाउँपालिकाले सेवा करार बारेको सूचना गाउँपालिकाको वेभसाइटमा राख्न भनेपनि दंगालले राम्रो पैसा आउने भएपनि एक दैनिक पत्रिकामा सूचना प्रकाशित गराएका थिए । त्यसैगरी गिट्टी ढुंगा सम्बन्धि बोलपत्रको सूचना पनि गाउँपालिकालाई नै जानकारी नगराई काठमाडौंमै बसेर छपाउन लगाएका थिए । आफैले विज्ञापन छपाउन लगाएर उनी भने इन्जिीनयरको काम भन्दै पन्छिदै आएको स्रोतको दाबी छ । तर सूचना तयारी गर्ने प्रावधिकले भने दंगालकै निर्देशनमा सूचना प्रकाशित गरेको भन्दै गाउँपालिकालाई जानकारी गराइसकेका छन् ।
विना जानकारी दुई वटा सूचना पत्रिकामा प्रकाशित भएपछि गाउँपालिकाले अन्य सूचना रोक्न निर्देशन दिएको थियो । पूर्व जानकारी विना नै सडक सम्बन्धि गलत जानकारी सहितको सूचना प्रकाशित गराएपछि प्रमुख प्रशासकीय अधिकृत दंगाल विवादमा तानिएका छन् ।
गाउँपालिकाको जानकारी विना आफू खुसी मोटो कमिसनको खेलमा गलत जानकारी सहितको सूचना प्रकाशित गराएपनि त्यस बापत लाग्ने रकम पनि दंगालले नै बेहोर्न लगाउन तयारी गाउँपालिकाले गरेको छ ।
कमिसन खान पल्किएका दंगालले सूचना प्रकाशित गरे बापत ८० प्रतिशत कमिसन लिने गरेको जानकारी गाउँपालिकामा पुगिसकेको स्रोतको दाबी छ । गाउँपालिकाको यस आर्थिक बर्ष २०७७/७८ को लागि झण्डै ८६ करोड रुपैयाँको बजेट ल्याएको छ । तर बजेट कार्यान्वयन गर्ने प्रमुख प्रशासकीय अधिकृत भने कमिसनको चक्करमा लागेको थाहा पाएपछि दंगालको विकल्प समेत खोज्ने तयारी गाउँपालिकाभित्र भएको बताइएको छ । गाउँपालिकाले गरेको निर्णय कार्यान्वय गर्नुपर्ने प्रमुख प्रशासकीय अधिृकत नै कमिसनमा लिप्त भएपनि गाउँपालिकाले अर्को कार्यकारीको विकल्प समेत खोजी गरेको स्रोतको दावी छ ।
दंगाल भन्छन्,‘इन्जिनीयरले गरेको होला मैले गरेको छैन’
यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले प्रमुख प्रशासकीय अधिकृत महाप्रसाद दंगाललाई सम्पर्क गरेको थियो । उनले आफ्नो विषयमा कसले समाचार दियो भन्दै प्रति प्रश्न गरेका थिए । आइतबार प्रकाशित सुचनाको विष्यमा आmूलाई कुनै जानकारी नभएकोसमेत उनले बताए ।
‘म विरामी भएर १० देखिदेखि काठमाडौंमा छु । यो सबै इन्जिनियर इश्वर खड्काले गरेको हो,’ उनले भने,‘तपाईंलाई कसले भन्यो यी कुराहरु । म भर्खर अस्पतालबाट हात देखाएर आएको छु ।’
दंगालले आफूलाई केही थाहा नभएको बताएपनि आइतबार प्रकाशित टेण्डरको सुचनामा उनकै पद उल्लेख छ ।