काठमाडौं,७ भदौ । बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ ।
बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो ।
थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको राससले बताएको छ ।
मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । ‘वन ऐनअनुरुप उनहरुले व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने ।
चितुवासँग घम्साघम्सी गर्ने हरिबहादुर नेपाली सेनाका पूर्व लप्टन हुन् ।