दियोपोस्ट संवाददाता,
धादिङ, १५ भदौ । महानगरीय प्रहरी अपराध महासाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी दीपक थापालाई प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेको छ ।
अनुसन्धानमा रहेको गोप्य कागजात मिडियामा चुहाएको अभियोगमा थापालाई स्पष्टिरण सोधेको एक उच्च अधिकारीले दियोपोस्टलाई जानकारी दिए ।
महिलाको फेक आइडी बनाएर सामाजिक सञ्जालमा ठगी गर्ने युवाको प्रेस रिलिज पठाउँदा सबै सञ्चार माध्यममा अति गोप्य भनिएको अपराध महासाखाको केही कागजात नै लिक भएको थियो ।
अनुसन्धानमा रहको यस्ता फाइल अपराध महासाखाकै कर्मचारीको लापरबाहीका कारण मिडियामा पुगेपछि प्रहरी महानिरिक्षक शैलेस थापाकै निर्देशनमा थापालाई प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेको हो ।
कागजात लिक भएको विषयमा दियोपोस्टले यसअघि नै खबर छापेको थियो । स्रोतका अनुसार अपराध महासाखालाई प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी मार्फत स्पष्टिकरण पत्र नै पठाएको छ । अनुसन्धानमा रहेका फाइल कसरी लिक भयो ? भन्ने प्रश्न सहित पत्र पठाएको स्रोतले जनाएको छ ।
‘अनुसन्धानको फाइल कसरी सञ्चार मध्यमको इमेलमा पुग्यो भनेर सोधिएको हो,’ ती अधिकारीले भने,‘ उहाँले केही दिन भित्र लिखित जवाफ पेश गर्नुपर्छ ।’
जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्दै आएको महासाखाको इतिहासमा पहिलो पटक यसरी गोप्य कागजात लिक भएको हो ।
अपडेट
एसएसपी थापा भन्छन्,‘मलाई त्यस्तो कुनै पत्र आएको छैन’
प्रकाशित समाचारको विषयमा प्रतिक्रिया दिँदै महानगरीय अपराध महासाखाका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) दीपक थापाले आफूलाई त्यस्तो कुनै पत्र नै नआएको बताए ।
‘कतैबाट आयो भने जवाफ दिउँला तर अहिलेसम्म केही आएको छैन । स्पष्टिकरण र पुरस्कार दुवै पाइन्छ । त्यो त आफ्नो ठाउँमा रहयो र अहिले मलाई आएको छैन,’ थापाले भने ।