बसपार्कमा दीपक कुँवरको ‘लुट’ : सलामी भन्दै व्यापारीबाट १ करोडसम्म असुली !

दियो पोस्ट  

काठमाडौं, १७ साउन । राजधानीको गोगंबुस्थित करिब ८० रोपनी सार्वजनिक जग्गामा फैलिएको नयाँ बसपार्क क्षेत्रमा नयाँ भवन बनिरहेका छन् । काठमाडौं महानगरपालिकाले गैरकानुनी रुपमा व्यापारी दीपक कुँवरले सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय कम्पनिलाई जिम्मा लगाएको उक्त क्षेत्रमा यतिबेला लुटधन्दा मौलाएको छ ।


ग्राण्डी अस्पतालका मालिक समेत रहेका दीपक कुँवरले महानगरपालिकालाई शुल्क समेत नबुझाएर बसपार्क क्षेत्रमा भने अर्बौंको लुटधन्दा चलाउँदै आएको पाइएको छ । कुँवरले बसपार्क क्षेत्रमा रहेको सम्झौता विपरितका संरचना निर्माण गरेका छन् । काठमाडौं महानगरपालिका साविक वडा नम्बर २९ मा रहेको ल्होत्सेले सम्झौता विपरितका भवन मात्रै बनाएको छैन । ती भवन र बसपार्क क्षेत्रमा मनोमानी शुल्क उठाएर हैरान पारेको पाइएको छ ।


सरकारबाट यात्रुका सुविधाका लागि भनेर अनुमति लिएपनि यात्रुको सुविधा भन्दा पनि व्यापारिक प्रयोजनका लागि सार्वजनिक जग्गाको अतिक्रमण भइरहेको छ । कुँवरले ती व्यापारिक संरचनाबाट अर्बौं उठाएर राज्यलाई केही लाख भाडा समेत बझाएका छैनन् ।


जापान सरकारको सहयोगमा २०४९ सालमा निर्माण भएको बासपार्क जापानी संस्था जाइकाले भवन निर्माण गरिरदिएको थियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त भवनको उद्घाटन गरेका थिए । २०५६ साल चैत्र २९ गते ल्होत्से बहुउद्देश्यीय प्रा.लीलाई जिम्मा लगाइएको थियो । उनीहरुबीच बुट मोडलमा निर्माण सम्झौता भएको थियो ।


सम्झौतामा सार्वजनिक प्रयोजन भनिएपनि अन्तत कुँवरले व्यापारिक प्रयोजनका लागि सरकारी सम्पत्तिको दोहन गरेको आरोप छ ।


बसपार्क क्षेत्रमा ८ सय सवारी साधनको पार्किङ व्यवस्था मिलाउने जिम्मा पाएको ल्होत्सेले ती सवारी साधनबाट दैनिक रुपमा चर्को अशुली गरेको पाइएको छ । ल्होत्सेले एउटै बसबाट ८२५ रुपैयाँ असुली गर्दै आएको पाइएको छ । बसपार्कमा दैनिक ७ सयभन्दा बढी सवारी साधनले पार्किङ गर्छन् । स्रोतका अनुसार ल्होत्सेले बसबाट मात्रै वार्षिक ३६ करोड रुपैयाँ भन्दा बढी असुली गर्छ । तर, महानगरपालिकालाई भने ल्होत्सेले वार्षिक ९७ लाख रुपैयाँ मात्रै बुझाउँदै आएको छ । यता सपिङ कम्प्लेक्स, फास्टफूड, बाल उद्दान, बैंक तथा वित्तिय संस्थाबाट झनै कुँवरले करोडौँ असुली गर्दै आएका छन् । बसपार्कमा क्यान्टिन चलाउने देखि भरियाले समेत कुँवरको कम्पनिलाई सलामी बुझाउँदै आएका छन् ।


बसपार्कमा व्यापार गर्दै आएका ज्ञानु गुप्ताले कुँवरको कम्पनिलाई १ करोड रुपैयाँ सलामी बुझाएको सार्वजनिक भइसकेको छ । ‘उहाँले बोलाउनु भएको थियो । अझै समझदार भएको छैन । आजभोलीमा फेरी भन्नेवाला छु,’ उनले दियोपोस्टसँग भने,‘मेरो पैसा फिर्ता दिनुस् मैले होटल चलाउँदिन भनेको छु । मैले एक करोड दिएको हुँ ।’

उनका अनुसार कुँवरले अरुबाट भने एउटा सटरको १०÷१० लाख सलामी असुली गरेका छन् । ‘अरुलाई १० लाखको दरले सलामी उठाइएको रहेछ । मेरो पनि १० लाखको दरले कटाउनुस् भनेको छु,’ उनले भने,‘कतिपयले २० लाख सम्म तिरेका छन् । चेकबाट कारोबार हुँदैन । नगद नै दिनुपर्छ । मैले फाइनान्सबाट ऋण काढेर दिएको हुँ । पैसा उहाँले बोकेर गएको हो । उहाँहरुले पैसा लगेपछि हामीले सटर पायो । हामीले फाइनान्सको किस्ता तिरिरहेको छु ।’