जिएसए नियुक्ती घोटाला विरुद्ध अख्तियारमा उजुरी : पौड्याल र कालाखेतीको पद धरापमा !

दियो पोस्ट  

काठमाडौं, १९ साउन । आफूले पाउँदै आएको जीएसए नेपाल वायुसेवा निगमको व्यवस्थापनले हटाएपछि पीडित पक्ष अख्तियारको शरणमा पुगेको छ । आर्थिक दैनिकमा खबर छ ।

निगमको स्वघोषित अध्यक्ष बुद्धिसागर लामिछाने, महाप्रबन्धक डिम प्रसाद पौडेल, निगम कमर्सियल विभागका निर्देशक जनकराज कालाखेती र अप्रेसन डाइरेक्टर क्याप्टेन दिपु ज्वारचनको मिलेमतोमा जीएसएमा युएईको अलनी बोदाहा ट्राभल्सलाई नियुक्ति गर्ने निर्णय गरेपछि ग्लोबल स्टार ट्राभल मेनेजमेन्टको आन्टा ट्राभल्सले युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालमार्फत छानबिन र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको हो ।

आन्टा ट्राभल्सको तर्फबाट म्यानेजिङ पार्टन एचई सेख मोहम्मद बिन अलि अल नुइमीले दिएको उजुरीको बोधार्ध पर्यटन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई समेत दिइएको छ । कुनै पनि कम्पनीलाई जीएसए दिँदा त्यो कम्पनीले अरु एयरलाइन्सको जीएसए लिएर त्यो एयरलाइन्सको नेपालमा उडान गर्ने गरेको हुनुहुँदैन ।

यूएईमा दिइएको जीएसए अलनी बोदाहा ट्राभल्सले ट्रकिस एयर र क्याथे प्यासाफिक एयरवेजको समेत जिएस लिएको हुँदा उक्त ट्राभल्सलाई जीएसए दिन मिल्दैन ।

निगमका महाप्रबन्धक पौडेलले आफ्नो संयोजकत्वमा नियमविपरीत योग्यता नपुगेको ट्राभल्स एजेन्सीलाई चार वर्षको लागि जीएसए दिएर नेपाल वायुसेवा निगमको नीति नियमलाई समेत चुनौती दिएका छन् ।

नेपाली इतिहास, नेपालको गौरव राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नै कम्पनीका लागि आफ्नो स्वार्थअनुसारको व्यापारीहरूलाई बेच्न लागेको भन्दै कर्मचारी आन्दोलनमा परी निगमभित्रै छिर्न नपाएका महाप्रबन्धक पौडेललगायतको व्यवस्थापनको टोलीले चोरबाटोबाट प्रक्रिया र मापदण्ड मिचेर करोडौँको खेलमा युएईमा अर्को कम्पनीलाई जीएसए दिन लागेपछि आन्टा ट्राभल्स त्यसविरुद्ध दूतावासमार्फत अख्तियारमा पुगेको हो ।

निगमको सम्पूर्ण शर्तहरू पूरा गर्नुे मात्र होइन वार्षिक रुपमा दिइएको लक्ष्य पूरा गरिरहेको अवस्थामा पनि आन्टा ट्राभल्सलाई जीएसएबाट हटाउने खेलको पछाडि चलखेल गर्नेमा मलेसियाको भिसा काण्डमा पक्राउ परी कारबाहीमा परेका र अझै अनुसन्धानको दायरामा रहेको हारभेष्ट मुन तथा रवि सिंहको संलग्नता रहेको स्रोतले जानकारी दिएको छ ।

निगमले दिएको लक्ष्यमध्ये ७० प्रतिशत पूरा गर्नुमा नै वायुसेवाको बजार व्यवस्थापनको सिद्धान्तअनुसार राम्रै मानिनेमा आन्टा ट्राभलले ९३ प्रतिशतभन्दा बढी लक्ष्य पूरा गर्दा समेत हठात् टेण्डर प्रक्रियाको बहानामा हटाइएको हो । निगम व्यवस्थापनले निगमको व्यापार वृद्धिको चिन्ताभन्दा पनि आफ्नो व्यापारको लागि त्यस्तो निर्णय गरेको हो ।

पछिल्लो समय निगमभित्रै छिर्न नपाएका महाप्रबन्धक पौडेलले विविध षड्यन्त्र गरेर भारतको जीएसए बर्ड ट्राभललाई नै पुनः दिएका थिए । लक्ष्य पूरा नगरेको मात्र होइन बर्ड ट्राभलले पेश गरेको डकुमेन्ट र विवरणमा पनि गम्भीर त्रुटि भएकोले निगम व्यवस्थापनले पुनः टेन्डर गर्ने भनेर सञ्चालक समितिमा पेश गरेकै अवस्थामा रातारात मिलेमतोमा एकपटकलाई उक्त अपुग डकुमेन्ट÷विवरण र कमजोरी बर्ड ट्राभलको लागि माफी गर्ने निर्णय गर्दै पुनः बर्ड ट्राभललाई नै जीएसए नियुक्त गरिएको थियो ।

आफ्नो जीएसए खोसिएपछि आन्टा ट्राभल्सले दिएको उजुरीमा निगमले दिएको लक्ष्य पूरा गर्नुमात्र आफ्नो कर्तव्य नठानी नेपाल वायुसेवालाई युएईबाट हुने अन्य एयरलाइन्सहरूको तुलनामा बलियो प्रतिस्पर्धी बनाउन र नेपाल वायुसेवा युएई पुग्दा त्यहाँ चाहिने ग्राउण्ड ह्याण्डलिङ, सरसफाइलगायतका कामहरू समेत चुस्त दुरुस्त बनाई युएईबाट निर्बाध उडानमा युएईको नागरिक उड्डयन प्राधिकरणमा समेत घचघचाइरहेको अवस्थामा आफुलाई रहस्यमय ढंगले हटाएको उल्लेख गरेको छ ।

यही समयमा निगमका महाप्रबन्धक पौडेललगायतको टोलीले आफ्नो संयोजनमा भारतमा चाहिँ डकुमेन्ट अपुग, अर्को एयरलाइन्सको जीएसए लिएको तथा कारोबारमा उल्लेख्य सुधार गर्न नसकेको लगायतको कमजोरी भएको बर्ड ट्राभललाई सबै कुराको माफी दिएर जीएसए दिएका हुन् ।

निगमका सञ्चालक समितिका सबै निर्णयहरू अर्थ विभाग, वाणिज्य विभाग र आन्तरिक लेखापरीक्षणलाई सर्कुलर गरिने गरेकोमा सञ्चालक समितिको उक्त निर्णय महाप्रबन्धकले लुकाएर राखेको बताइएको छ ।