साढे ३३ अर्ब जग्गाकाण्डका मतियार टेक नारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा !

diyopost.com
दियो पोस्ट  मंगलबार, साउन २६, २०७८ | १:००:२०

काठमाडौं, २६ साउन । सरकारले ८ सचिवहरुलाई विभिन्न स्थानमा सरुवा गरेको छ ।सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश र निकायको प्रशासनिक बागडोर सम्हालेका आठ सचिवको सरुवा गरेको हो ।

भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टेकनारायण पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । पाण्डे तिनै व्यक्ति हुन् जसले झापाको विर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेको ३ सय ४१ विघा सरकारी जग्गा कम्पनिलाई बेच्ने योजनामा मतियारको भूमिका निभाएका थिए ।
तत्कालिन भूमि सुधार तथा सहकारी मन्त्री पद्मा अर्यालसँगै मिलेर ३३ अर्बको सरकारी जग्गा भूमाफियाहरुलाई कौडीको भाउमा बेचविखन गर्ने गरि भूमि ऐनको १८ औँ संशोधन गर्न योजनाकारको भूमिकामा उनी थिए । तत्कालिन ओली सरकारले हदबन्दी भन्दा बढीको जग्गा बेचविखन गर्ने नीति पारित गरेको थियो । गत असार २४ गते ओली सरकारले गरेको झापाको गिरीबन्धु टि स्टेटको जग्गा सट्टा पट्टाको निर्णयमा भूमिकामा उनै पाण्डेको समलग्नता थियो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबीन गरिरहेको छ । तर, उनलाई काराबही गर्नुको सट्टा शेरबहादुर देउवा सरकारले गृहमन्त्रालयमा सरुवा गरेर पुरस्कृत गरेको आरोप छ ।
यता प्रहरी भित्रको सरुवा बढुवामा अनियमितता गर्दै आएका गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्माको रक्षा मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका सचिव डा. वैकुण्ठ अर्यालको सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएको छ। जल तथा उर्जा आयोगका सचिव सागरकुमार राईको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा भएको छ।

त्यस्तै, आठ महिनाअघि सचिवमा बढुवा भएपछि प्रदेश २ को प्रमुख सचिवमा पदस्थापन भएका प्रदेश २ का प्रमुख सचिव गोकर्णमणी दुवाडीको प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ। ६ महिनाअघि सचिवमा बढुवा भएर प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन भएका सचिव सुमनराज अर्यालको महालेखा नियन्त्रणको कार्यालयमा सरुवा भएको छ।

सहसचिवबाट सचिवमा बढुवा भएपछि अधिकांशको प्रदेश प्रमुख सचिवमा पदस्थापन भए पनि भर्खरै सचिवमा बढुवा भएका दुई सचिवको संघीय निकायमा पदस्थापन गरिएको छ। भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका सचिव किरणराज शर्मा र खगेन्द्रप्रसाद नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको हो। दुवै जना सचिव बढुवा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्ततर्फ हाजिर गर्दै आएका थिए।

तर प्रधानमन्धी तथा मन्त्रिपरिषद्को कार्यालयमा नै अतिरिक्तमा हाजिर गरिरहेका तीन जना सचिवको भने पदस्थापन हुन सकेन। सचिव कृष्णहरी पुष्कर, डा. रामप्रसाद घिमिरे र हरीप्रसाद मैनालीले बढुवा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्ततर्फ हाजिर गर्दै आएका छन्।

सम्बन्धित खबर