मोबाइल बीमाको नाममा २० हजार ग्राहक ठगिएको खुलाशा : प्रिमियर ईन्स्योरेन्सको समलग्नता !

diyopost.com
दियो पोस्ट  बुधबार, साउन २७, २०७८ | ०:५४:०९

काठमाडौं, २७ साउन । सबै प्रकारका मोबाइलको बीमा गर्ने भन्दै ग्राहकहरुबाट अतिरिक्त शुल्क असुल्दै आएको मेरो सुरक्षा प्रा.लीका सञ्चालकहरु कम्पनि नै बन्द गरेर ‘बेपत्ता’ भएका छन् । सञ्चालकहरुबीचको तिब्र विवादका कारण हजारौं ग्राहकको मोबाइल विमा नतिरेर उनीहरु फरार भएका हुन् ।


कुनै समय महानायक राजेश हमाललाई ब्राण्ड एम्बेस्डर बनाएर आक्रमक प्रचार गरेको आएको मेरो सुरक्षामा एक व्यक्ति अध्यक्ष बनेपछि ग्राहकको विमा रकम नै कुम्ल्याएर यो समुह फरार भएको हो । कम्पनिले ग्राहकलाई देखाएको कार्यालय नै यतिबेला बन्द छ ।

काठमाडौंको डिल्ली बजारमा केन्द्रीय कार्यालय खोलेर उनीहरुले नेपालमा मोबाइल बिमा दिँदै आएका थिए । मेरो सुरक्षा प्रा.लीमा पहिले प्रेम सुनुवार अध्यक्ष थिए । उनी अध्यक्ष बन्दा संस्था राम्रै चलिरहेको थियो तर, मोबाइल व्यावसायी गृहनाथ त्रिपाठी अध्यक्ष चयन भएपछि संकटग्रस्त बनेको थियो ।


प्रिमियर इन्स्योरेन्सको सहकार्यमा मोबाइलको बीमा गरेको मेरो सुरक्षा प्रा.लीको दोस्रो दोस्रो वार्षिक साधारण सभा होटल सांग्रीलामा सम्पन्न भएको थियो ।


गत वर्ष साउन १७ गते भएको साधारण सभाको बैठकले आगामी चार वर्षका लागि गृहनाथ त्रिपाठी उर्फ ‘रघु’लाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।


मोबाइल डिस्टिब्युसन गर्दै आएका त्रिपाठीले अध्यक्ष सम्हालेसँगै यसअघिका अध्यक्ष रहेका प्रेम सुनुवार प्रबन्ध निर्देशक नियुक्त भएका थिए । त्रिपाठीको अध्यक्षतमा गत २०७६ साल भदौ १० गते पहिलो बैठक समेत बसेको थियो । उक्त बैठकले हेटौंडामा मेरो सुरक्षा प्रा.ली विस्तार गर्नेदेखि २ जना कर्मचारी राख्ने सम्मको निर्णय गरेको थियो ।


‘उहाँ अध्यक्ष भएपछि यी दुई निर्णय बाहेक संस्थाको अग्रेसिभ मुभ हुनसकेन । बजारमा उठ्न बाँकी रहेको रकम उठाउन पहल भएन,’ एक अधिकारीले दियोपोस्टसँग भने,‘अझै ५० लाख रुपैयाँ उठ्न बाँकी छ ।’


मोबाइलको बीमा गरेको मोबाइल हराएर दाबी गर्न जाँदा मेरो सुरक्षाको कार्यालय बन्द रहेको एक अर्का ग्राहकले बताए । मेरो सुरक्षाको कार्यालय नै बन्द भएपछि दैनिक रुपमा पसलमा विभिन्न समस्या लिएर ग्राहक आउने गरेको नयाँ सडकका एक मोबाइल व्यापारीले बताए ।

मेरो सुरक्षाले करिव २० हजार मोबाइल सेटको बीमा गर्ने नाममा पैसा उठाएर बीमा नगरी ठगी गरेको आरोप छ । मेरो सुरक्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँबाट मोबाइलको बीमा गर्ने गरेको थियो । उसले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइल सेटको परेको मूल्यको पाँच प्रतिशतका दरले ग्राहकसँग बीमा शुल्क लिने गरेको मेरो सुरक्षाका एक कर्मचारीले बताए ।

करिब ५० देखि ६० हजार सेट मोबाइलको बीमा गरेको बताइएको मेरो सुरक्षाले २० हजार सेटको बीमा शुल्क लिएर बीमा नगरेको बुझिएको छ ।


स्रोतका अनुसार सञ्चालकहरुबीचको विवाद पटक पटक प्रहरीकोमा समेत पुगेको छ । तर, प्रहरीले उनीहरुलाई पक्राउ गर्नुको सट्टा उन्मुक्ति दिएको छ । मेरो सुरक्षाका अधिकारीहरुको प्रहरी उच्च अधिकारीसँग राम्रै उठबस भएका कारण उन्मुक्ति पाएका हुन् ।


ईन्स्योरेन्स ठगीमा प्रिमियर इन्स्योरेन्सको समलग्नता


स्रोतका अनुसार मोबाइल विमा ठगी प्रिमियर ईन्स्योरेन्सका भूमिका छ । यस विषयमा प्रतिक्रिया लिन प्रिमियर ईन्स्योरेन्सको कार्यालयका एक कर्मचारीलाई सम्पर्क गर्दा उनले सिइओको नम्बर दिन नमिल्ने बताए ।

सम्बन्धित खबर