रौतहटमा एसपी शाहको दादागिरी : समाचार लेख्ने पत्रकारको मोटरसाइकलमा लागु औषध !

दियो पोस्ट  

रौतहट, ५ भदौ । जिल्ला प्रहरी कार्यालय रौतहटले एक पत्रकारलाई लागु औषध मुद्दामा फसाएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको सेटिङमा स्थानिय अनलाइनका पत्रकार मोहम्मद मोजिबल्लाहलाई लागुऔषध राखेर फसाइएको हो । उनीहरुले पत्रकार मोहम्मदको मोटर साइकलमा लागु औषध राख्दै गरेको भिडियो फूटेज नै सार्वजनिक भएपछि घटना बाहिर आएको हो ।

पत्रकार फसाउने घुमुवा रौतहटका एसपी सिद्धिविक्रम शाहका घुमुवा हुन् । ती घुमुवाको विषयमा पत्रकार मोहम्मदले स्थानिय अनलाइनमा समाचार लेखेका थिए ।


समाचार लेखेपछि पत्रकारलाई फसाउन ती घुमुवाले मोटरसाइकलमा लागु औषध राख्दै गरेको सिसिटिभि फूटेजमा देख्न सकिन्छ ।


शनिबार सार्वजनिक भएको फुटेजमा पक्राउ पर्नुभन्दा केही समयअघि पत्रकार र उनका साथी होटेलमा खाजा खान होटलमा प्रवेश गर्छन् । असइ यादव र जवान साहको प्रत्यक्ष उपस्थितिमा दुई युवाले मोटरसाइकलमा लागुऔषध लुकाउँदै गरेको देखिन्छ ।

लागुऔषध राख्नेमा धिरज यादव र जितेश यादवलाई नियन्त्रणमा लिएको छ ।

तर, प्रहरीलाई भने नियन्त्रमा लिइएको छैन । यस विषयमा रौतहटका एसपी शाहले कुनै प्रतिक्रिया दिएका छैनन् ।

पत्रकार महासंघ रौतहटले नियोजित रुपमा पत्रकारलाई लागु औषध मुद्दामा फसाउन खोजिएको भन्दै कारबाहीको माग गरेका छन् ।

रौतहट अध्यक्ष प्रेमचन्द झाले शनिबार विज्ञप्ति निकाल्दै ती प्रहरीलाई निलम्बन गरि कारबाहीको माग गरेका छन् ।