इच्छाराज तामाङसहित परिवारको सम्पत्ति जफत गर्न माग गर्दै अदालतमा मुद्दा दायर

दियो पोस्ट  

काठमाडौं । सम्पति शुद्धिकरण विभागले सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलगायतका परिवारका सदस्यहरुको सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ  ।

तामाङ तथा उनको परिवारले आर्जन गरेको सम्पत्ति गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरण समेतका निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरण कसुर गरेको विभागको अनुसन्धानले ठहर छ ।

विभागले तामाङसँग तीन अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तामाङको एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता सेयर पनि जफत गर्न माग गरिएको छ । तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो मागदाबी विभागले गरेको छ ।

यस्तै, प्रतिवादीहरू प्रतीक्षा तामाङसँग ६ करोड २२ लाख ३३ हजार ९७ रुपैयाँ, प्रतिशासँग एक करोड ८९ लाख १८ हजार छ सय ४६ रुपैयाँ र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँ बिगो दाबी गरेको छ ।
प्रतिवादी मिनाकुमारी श्रेष्ठको काठमाडौंका विभिन्न स्थानमा रहेका सात कित्ता जग्गा पनि जफत गर्न अदालतसँग विभागको माग छ ।

इच्छाराजले ठगी गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो । अनुसन्धान गरी उनीलगायतले पाँच अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।